सानो खुसी ठूलो खुसी

- सुविन भट्टराई

असार २५, २०७४-  

मानिसको जीवनमा दुई थरी खुसी आउँछन्, ठूलो खुसी अनि सानो खुसी । कुन खुसी कसरी र कति आउँछ भन्ने फरक मात्र हो । 

कतिपय ठूल्ठूला खुसी जीवनभर खोजे पनि फेला पार्न, भेट्टाउनै गाह्रो छ । फेला परे पनि कति खुसी त पचाउनै साह्रो पर्छ । एउटा पूरै जिन्दगीमा तीन, चार वा पाँच कति नै ठूल्ठूला सफलता हात पर्छन् र ? मिनेट–मिनेटमा ठूल्ठूला उपलब्धि त कसैले पनि प्राप्त गर्न सक्दैन । हरेक क्षण हरेक दिन खुसी हुनलाई सानो–सानो खुसीकै सहारा चाहिन्छ । 

हामी स–साना खुसीलाई खुसी मान्दैनौँ । मानौँ, तिनीहरूले हाम्रो जीवनमा केही फरक पार्दैनन् । ती खुसी हुनु वा नहुनुसित हाम्रो ओठको मुस्कान वा ह्दयको धड्कनको कुनै सरोकार छैन ।

हामी ती खुसीलाई जीवनमा यत्तिकै भेटिएका, हिँड्दा–हिँड्दै बाटोमा कतै कुनै झ्याङ वा ऐलानी जग्गामा फुलेका फूल झैँ बेवास्ता गर्छौं । जरुरी यो छैन कि सुन्दर फूल सधैँ गमलामा वा बगैँचामै फुलोस् । जरुरी यो पनि छैन कि सुन्दर फूल महँगा रेस्टुराँ वा धनीहरूको आँगनमा मात्र फेला परोस् । केही फूल खहरेका डिलमा यसै फुलेका हुन सक्छन् । केही फूल सोझै गरिबकै दिलमा पनि फूलेका हुन सक्छन् । झुक्किएर घरी–घरी मात्र आउने ठूलो खुसीको कम्पनभन्दा स–साना खुसीका कारण छिन–छिनमा आइरहने ओठको मुस्कानले नै मानिसलाई जिउने प्रेरणा दिन्छ ।

स–साना खुसीहरू जस्तो कि टिभीमा आउने कुनै कमेडी शोको जोक्स सुनेर रमाउनु । दिनभरमा पिइने तीन–चार कप चियामध्ये कुनै एक कप अप्रत्याशित रूपमा बेजोड मीठो भैदिनु । पुरानो साथीको फोन आउनु । हिँड्दा–हिँड्दै कुनै नयाँ साथी फेला पर्नु । घाममा धेरै बेर हिँडेपछि कतै शीतल छहारी भेटिनु । कुनै पुस्तक पढ्दा केही राम्रो कुरा भेटिनु । आफ्नो कारणले कसैको ओठमा मुस्कान देखिनु । पानीमा निकै बेर भिजेपछि एक कप तातो कफी पिउन पाउनु । यी यस्तै स–साना खुसीहरूले नै हो मानिसलाई जीवित बनाउने । यी र यस्तै स–साना खुसीहरूले नै हो मानिसलाई बाँच्न सिकाउने । स–सानो खुसीमा जिउन सक्नेको नै मन ठूलो हुन्छ । ठूल्ठूला खुसी कुर्दा केही गरी त्यस्तो खुसी भेटिएन भने सिँगो जीवन अमिलो हुन्छ ।

मानिसको जीवन समुद्रजस्तै विशाल छ । समुद्रजस्तो विशाल जीवनमा साना माछाजस्ता साना खुसीहरू पनि फेला पर्छन् । ठूला माछाजस्ता ठूला खुसीहरू पनि फेला पर्छन् । हामी सबैलाई थाहा छ, समुद्रमा ठूला भन्दा सानै माछाको बाहुल्य हुन्छ । जीवनमा पनि ठूलाभन्दा साना खुसीहरूकै बाहुल्य हुन्छ । साना खुसीहरू पनि बालबालिकाजस्तै साना तर निष्कपट हुन्छन् । तिनीहरू पनि बालबालिकाझैँ प्यारा हुन्छन्, क्युट हुन्छन् । छिनछिनमा हाम्रो ओठको मुस्कानको कारण बनिरहन्छन् । ह्दयमा खुसीको किरण छरिरहन्छन् ।

यद्यपि मानिसले स–साना खुसीलाई चिन्न सक्दैन । बसिरहेको ठाउँमा एक धर्सो बतास आयो अनि छोएर गयो । यस्तै हुन्छन् स–साना खुसीहरू । हिँडिरहेको बसबाट एउटा सुन्दर दृश्यको एक झलक देखियो अनि गयो— यस्तो पनि हुन सक्छ स–साना खुसीको स्वरूप । बाटो हिँडने क्रममा नचिनेको मान्छेसित आँखा जुधेर ओठबाट अनायासै छुटेको मुस्कानजस्तो पनि हुन सक्छ सानो खुसी । भान्साबाट आफूलाई मनपर्ने तरकारीको बास्ना चल्यो, यस्तै हुन्छ स–साना खुसीको गन्ध । माइक्रोबसको भीडमा अनेक घम्साघम्सी सहँदै यात्रा गरिरहेका बेला आफूलाई मन पर्ने गीत बज्दा हुने खुसीझैँ झिनो खुसी पनि खुसी हो । एकछिन पानीजस्तै बर्सियो अनि रह्यो, यो कोटीको हुन सक्छ सानो खुसी । बादलजस्तै हुन्छन् स–साना खुसीहरू, जसको आकार छिनछिनमा बदलिरहन सक्छ । घाम देखेरै खुसी भइन्छ कहिले, जुन देखेरै खुसी मिल्छ कहिले । राति ओछ्यानमा गएपछि आउने मीठो निद्रा पनि सानो खुसी हो । यी र यस्तै स–साना खुसी छन् जो हजारौँ छन्, लाखौँ छन् जसलाई हामी चिन्दैनौँ । यस्ता खुसीहरू मन्द रूपमा आउँछन् तै पनि ती बुलन्द हुन्छन् ।

सोचौँ, कतै हामी ठूल्ठूला खुसीको लोभ र प्रतीक्षामा जीवनका यी साना तर मीठा क्षणहरूमा रमाउन बिर्सिरहेका त छैनौँ ?

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्