आयो जमाना प्लस साइजको

- रोजिन शाक्य

असार २१, २०७४-

सुन्दरताको मानक समयअनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । कुनै समय विश्व बजारमा जिरो साइज फिगरलाई फेसन र मोडलिङको प्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमीसहितको शरीरसित तुलना गर्न थालिएको छ । अब फिट र हेल्दी शारीरिक सौन्दर्यले प्राथमिकता पाउँदै गएको छ । भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ । यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दा मान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्डी बडी भन्ने अवधारणा अघि बढ्न थालेको छ । 

शरीरको मोटोपनसँगै व्यक्तिको शारीरिक एवं बौद्धिक सौन्दर्यलाई कम आँकलन गरिनु तथा उसको प्रतिभा, क्षमता र आत्मविश्वासप्रति बेवास्ता गर्नु पूर्ण रूपमा गलत साबित भएको छ । यसको प्रत्यक्ष उदाहरण अन्तर्राष्ट्रिय प्लेटफर्ममा सञ्चालन हुँदै आएका मिस प्लस साइज इन्टरनेसल, मिस प्लस साइज युनिभर्सजस्ता सौन्दर्य प्रतियोगिताहरू पनि हुन् । प्लस साइज सौन्दर्यमा आधारित भएर कैयौं अन्तर्राष्ट्रिय फेसन ब्रान्डले विश्व फेसन बजारमा आफ्नो उपस्थिति जनाएका छन् । प्लस साइज मोडलहरूको सफलता, चर्चा तथा उनीहरूको आर्थिक उपार्जन पनि उत्तिकै लोभलाग्दो छ । यसको पछिल्लो उदाहरण हुन्— दरबारमार्गस्थित क्लब डेजाभुमा प्रस्तुत फाइबर टू फेसन शीर्षकको फेसन शो, जसमा शो स्टपर थिइन् थाइल्यान्डकी घे गिगजम लोकभिट, जो एसियाकै पहिलो र चर्चित प्लस साइज स्टाइलिस्ट तथा इमेज एड्भाइजर हुन् । 

यसरी प्रारम्भ भयो नेपाल्स चब्बी मोडल 

सिद्दी मिडियाको आयोजनामा गत जेठ ३१ गते राष्ट्रिय नाचघरमा नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमै पहिलो पटक प्लस साइज शारीरिक बनावट भएका महिलाहरूमा केन्द्रित नेपाल्स चब्बी मोडल शीर्षकको सौन्दर्य प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा प्लस साइज शारीरिक बनावट भएका विवाहित तथा अविवाहित गरी १६ जना युवतीको सहभागिता थियो । सौन्दर्य प्रतियोगिताको संख्यात्मक वृद्धिसँगै केही फरक र प्रभावकारी प्रस्तुति दिने सोचसँगै नेपाल्स चब्बी मोडलको अवधारणा विकसित भएको सिद्धि मिडियाका सञ्चालक अमित शाह बताउँछन् । प्रारम्भमा नेपाल्स चब्बी मोडलको अवधारणालाई धेरैले गम्भीर रूपमा नलिएको र हाँसो उडाएको अनुभव छ अमितसँग, तर व्यक्तिको सौन्दर्यलाई उसको शारीरिक सुडौलतासित जोडिनु गलत भएको कुरा बुझेका अमितले प्लस साइज सौन्दर्यको सम्मानमा नेपाल्स चब्बी मोडललाई प्रतियोगिताका रूपमा सम्पन्न गर्ने सफलता प्राप्त गरे । 

 

चब्बी इज ए न्यू–सेक्सी

समिरा श्रेष्ठ, विजेता नेपाल्स चब्बी मोडल–२०१७

५.फिट १ इन्च उचाइ तथा ६७ किलोग्राम शारीरिक तौलकी २४ वर्षीया समिरा श्रेष्ठ नेपाल्स चब्बी मोडल–२०१७ की उपाधि विजेता हुन् । स्वयम्भू, च:मति निवासी समिराले थेम्स इन्टरनेसल कलेजबाट बीबीएसम्मको अध्ययन पूरा गरेकी छिन् । उनले सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । फुटसल सञ्चालन गर्ने उनको सोच छ । फुर्सदको समयलाई उनी नृत्य, भ्रमण एवं कुकिङमा 

सदुपयोग गर्छिन् । समिरा एलएलसी सम्म पनि अहिलेजस्ती मोटी थिइनन् । त्यतिबेला उनको तौल ५० किलोग्राम थियो । त्यसपछि बिस्तारै उनको शारीरिक तौल बढ्दै गयो । विवाहपश्चात् आफ्नो मोटोपन थप बढेको समिराले बताइन् । शरीर मोटाउँदै जाँदा सुरु–सुरुमा आफ्नो आत्मविश्वास केही कम भएको महसुस गर्ने समिराले अहिले आफ्नो मोटोपनलाई हेल्दी बडीका रूपमा बुझ्न थालेकी छिन् । मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को मानक भएको उनको तर्क छ । मोटोपनसँगै पनि फिट एवं स्वस्थ रहन सकिन्छ । म त्यस्तै युवती हुँ, –समिराले भनिन् । नेपाल्स चब्बी मोडलको उपाधि विजेता भएसँगै उनी अब चब्बी इज न्यू सेक्सी भन्न रुचाउँछिन् । पिज्जा र म:मको स्वाद तथा चिल्लोको माया मार्न नसकेकाले आफू प्लस साइजकी भएको उनले बताइन् । आफ्नो शरीरअनुसार समिरालाई लुज टप्स मन पर्छन् । जिन्समा पनि उनी उत्तिकै आराम महसुस गर्छिन् ।

भनेको साइज फेला पार्न भने गाह्रो हुने उनको अनुभव छ । कालो रंग बढी रुचाउने समिरा आफूलाई डबल एक्सएल साइजको पहिरन चाहिने बताउँछिन् । नेपाल्स चब्बी मोडलको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने समिरा मोटोपन कमजोरी नभएर यो सौन्दर्यकै अर्को पाटो भएको दाबी गर्छिन् । शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन्— समिरा । तीन वर्षको फेसबुक सम्बन्धपछि प्रेम अनि त्यसपछि एक वर्षअघि विवाहित जीवनमा प्रवेश गरेकी समिरा नेपाल्स चब्बी मोडलको उपाधि विजेता भएपछि फेसबुकमा आफ्नो फ्यान संख्या बढेको तथा फ्रेन्ड रिक्वेस्टसमेत बढ्दै गएको अनुभव सुनाउँछिन् । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्ने आफ्नो इच्छा नलुकाउने समिरा भन्छिन्— म उचित अवसरको पर्खाईमा छु । 

आई एम फ्याट, सो ह्वाट 

मिनु तामाङ, फस्ट रनर्सअप, नेपाल्स चब्बी मोडल–२०१७

५. फिट शारीरिक उचाइ तथा ९२ किलोग्राम शारीरिक तौलकी २७ वर्षीया मिनु तामाङ नेपाल्स चब्बी मोडल–२०१७ की फस्ट रनर अप हुन् । रामेछाप घर भै हाल लोकन्थली बस्दै आएकी मिनु नृत्य एवं कुकिङमा रुचि राख्छिन् भने उनले डिल्लीबजारस्थित कन्या क्याम्पसबाट बीबीएसको अध्ययन पूरा गरेकी छिन् । मिनुले लोकसेवा आयोगको परीक्षा दिएर सरकारी जागिरमा प्रवेश गर्ने मनसाय बनाएकी छिन् । वैवाहिक जीवनको आठ वर्ष लामो यात्रा तय गरिसकेकी तामाङ साढे तीन वर्षीय छोराकी आमा हुन् । 

आफ्नो मोटोपनलाई वंशानुगत बताउने मिनुलाई सबैजसो खानेकुरा स्वादिला लाग्छन् । जे पनि मीठो मानेर खाने भएकाले आफ्नो ज्यान लागेको उनको कथन छ । मोटोपन रोग वा रोगको घर नभै यो शारीरिक सौन्दर्यको फरक पाटो भएको मिनुको तर्क छ । स्वस्थ रहन दुब्लो शरीरलाई जस्तै मोटो शरीरलाई पनि क्रियाशील र फिट राख्न आवश्यक भएको बताउने मिनु आफूलाई सधैं क्रियाशील राख्छिन् । उनी मोटोपनलाई नियन्त्रणभन्दा म्यानेज र मेन्टेन गर्नु उपयुक्त हुने बताउँछिन् । यसका लागि उनी समय मिलाएर फिटनेस सेन्टर पनि जान्छिन् तर तौल घटाउन नभै शरीरलाई फिट र सुगठित राख्न । आई एम फ्याट, सो ह्वाट भन्न रुचाउने मिनुलाई दुब्लो हुुनु भएको भए के गर्नुहुन्थ्यो भन्ने जिज्ञासा राख्दा, ‘म टन्न खान्थें’ भन्ने उत्तर प्राप्त भयो । नेपाल्स चब्बी मोडलको सहभागिता र फस्ट रनर्सअपको उपाधिसँगै आफ्नो शरीरप्रति थप आत्मविश्वास जागृत भएको उनको अनुभव छ । आफ्नो शरीरअनुसार मिनुलाई थ्री एक्स एल साइजको पहिरन चाहिन्छ । भनेको बेला आफ्नो साइजको पहिरन नपाइने भए पनि उनी टिसर्ट, कुर्ता तथा सलवारमा सजिन रुचाउँछिन् । मिनुलाई मन पर्ने रंग कालो हो । आफू प्लस साइज भएका कारण कुनै पनि दृष्टिबाट कम नभएकाले स्लिम छैन वा स्लिम हुन पाए हुन्थ्यो भन्ने चाहना कहिल्यै नभएको उनले बताइन् । यद्यपि थोरै तौल घटाएर फिट हुने चाहना भने उनमा छ । 

चब्बी इज क्युट 

कृति बर्ताैला, सेकेन्ड रनर्सअप, नेपाल्स चब्बी मोडल–२०१७

५.फिट ५ इन्च शारीरिक उचाइ तथा ७० किलोग्राम तौलकी १९ वर्षीया कृति बर्तौला नेपाल्स चब्बी मोडल–२०१७ की सेकेन्ड रनर्सअप हुन् । हेटौंडा निवासी कृति हाल तीनकुनेमा बसोबास गर्छिन् । किष्ट मेडिकल कलेजमा डेन्टल साइन्समा स्नातक गरिरहेकी कृति नृत्य, कुकिङ एवं गायनमा रुचि राख्छिन् । उनी भविष्यमा डेन्टल सर्जन बन्ने धुनमा छिन् । विगत दुई–तीन वर्षयता बढी मोटाउन थालेकी भए पनि उनी आफू सानैदेखि गोलमटोल भएको बताउँछिन् । चब्बी इज क्युट भन्न मनपराउने कृति आफूलाई मोटी नभै हेल्दी मान्छिन् । खानाकी सौखिन कृतिलाई विशेषत: चिकेन मन पर्छ र त्यसमा पनि चिकेन रोस्ट । घरमा आफूलाई सबैले प्याम्पर्ड गर्ने भएकाले आफू चब्बी भएकी कृतिको अनुमान छ । विवाहका सम्बन्धमा यकिन रूपमा कुनै धारणा नबनाइहाले पनि आफ्नो जीवनमा आउने पुरुष आफूसँगै बढ्ने, हुर्कने र एक–अर्काको सहयोगी हुनुपर्ने कृतिको चाहना छ । सपिङमा खासै रुचि नराख्ने कृति आफूलाई एक्स एल साइजको पहिरन फिट हुने बताउँछिन् । नेपाल्स चब्बी मोडलको सहभागितासँगै आफ्ना साथी–संगी तथा चिनेजानेका बीच मात्र नभै आफ्नो पपुलारिटी अरु माझ समेत बढेकोमा उनी विशेष खुसी छिन् । मिस वल्र्डमा सहभागिताको सपना बुनिरहेकी कृति एक्लै बस्न रुचाउँदिनन् । एक्लै बस्नुपर्दा उनका साथी हुन्छन्— विभिन्न किसिमका परिकार । पूर्व मिस नेपाल इशानी श्रेष्ठबाट प्रभावित कृतिलाई स्वादमा अमिलो–पिरो असाध्यै मन पर्छ ।  

 

चब्बी इज युनिक

समान्ता गौतम, पब्लिक च्वाइस नेपाल्स चब्बी मोडल–२०१७

५.फिट ९ इन्च उचाइ तथा ८० किलोग्राम शारीरिक तौलकी १७ वर्षीया समान्ता गौतम नेपाल्स चब्बी मोडल–२०१७ की पब्लिक च्वाइस एवार्ड विजेता हुन् । साइपाल एकेडेमीबाट प्लस टु अध्ययन गरेकी समान्ता गायन, नृत्य, कुकिङ, अध्ययन आदिमा रुचि राख्छिन् भने उनको लक्ष्य सुपर मोडल बन्नु हो । उनलाई स्लिम रूपमा नभै चब्बी रूपमै सुपर मोडल बन्नु छ । अग्लो शरीरलाई प्रयोग गरेर चब्बी व्यक्ति पनि मोडलिङमा उदाहरणीय बन्न सक्छन् भन्ने प्रमाणित गर्नु छ उनलाई । समान्ताका साथी–संगी सर्कलमा प्राय: सबै स्लिम छन्, त्यसैले पनि जब उनले नेपाल्स चब्बी मोडलमा आफ्नो सहभागिताका सम्बन्धमा उनीहरूलाई बताइन्, विशेषत: पुरुष साथीहरूले यस विषयमा पोजिटिभ नभएको बताए भने केहीले त उनको कुरालाई हाँसोमा उडाए, तर जब उनले पब्लिक च्वाइस एवार्ड जितिन् तब ती साथीहरू नै अहिले आफ्नो प्रशंसा गर्न तथा आफूसित नजिकिन लालायित भएको उनको अनुभव छ । समान्ता भन्छिन्– आफूमा विश्वास छ र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन । 

समान्तालाई सबै किसिमका परिकार मन पर्छन् । म:म र पिज्जा उनका फेभरेट हुन् । समान्ता ग्रिल्ड चिकेनकी पनि सौखिन हुन् । आफू अग्लो र चब्बी भएकैले भनेजस्तो पहिरन फेला नपरे पनि उनी यसैले आफूलाई अरूभन्दा फरक र विशेष बनाएको महसुस गर्छिन् । सुपर मोडल बन्न स्लिम हुने उनको कुनै योजना छैन, आफू चब्बी नै रहने तर फिट रहन भने निरन्तर प्रयास गर्ने समान्ता बताउँछिन् । 

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्