तस्बिरका रुप

- अधिकारी रवीन्द्र

असार २१, २०७४

हिजोआजका समारोहको झलक यस्तो रहन्छ : दर्शकदीर्घामा आगन्तुकहरू ठाडो घाँटी लगाएर कसैको प्रतीक्षामा बसिरहेका हुन्छन् । तोकिएको समयभन्दा एक–दुई घण्टा ढिलो प्रमुख अतिथि आइबक्सिन्छ । तबसम्म सहभागीहरूलाई अलमल्याउन उद्घोषकलाई धौ–धौ नै पर्छ । प्रमुख अतिथि विशेष राजनैतिक दलका वरिष्ठ नेता वा मन्त्री नै हुनु परिहाल्यो, नत्र हाम्रो देशमा कहाँ अडियन्स बटुल्न सकिन्छ र ? प्रमुख अतिथिको फेमस अनुहार दर्शन गर्न मात्र भए पनि कतिपय मान्छे पानीसमेत नपिइ धर्ना कसेर बसेका हुन्छन् । अतिथि आउनासाथ बाटैबाट लाइन लागेर स्वागत गर्न थालिन्छ । हातहातमा फूलका गुच्छा र खादा लिएर हाम फालौँला झैँ गरेर अतिथिको स्वागत गरिन्छ ।

अतिथिले दुई–चार वटा मुहारबाहेक त्यो जनसागरलाई न चिनेको हुन्छ, न चिनेर टाउकै दुखाउन चाहन्छ । उसको नजरमा त्यो भीड कार्यक्रम सफल पार्न भेला भएका टाउकाहरूको जमात मात्र हो । उसले यस्ता थुप्रै जमात सामना गरिसकेको हुन्छ र त्यस दिन त्यस्तो जमात उसका लागि सातौँ आठौँ  पनि हुन सक्छ, तर ती सेलिब्रिटीलाई ढुकेर बसेका उसका अन्धभक्त प्रशंसकहरूको नजरमा ऊ भगवान् हो । उसको वरिपरि चम्चासरि हिंड्न पाए, हात मिलाउन वा बोल्न मात्र पाए पनि धन्न–धन्न हुन्छन् ती मनुवाहरू अथवा सँगसँगै हिंड्ने क्रममा झुक्किएर ती सेलिब्रिटीसँग एउटा फोटो क्याप्चर गर्न सकिए त बस पुगिहाल्यो अर्थात दिन सार्थक भयो र उसले आगामी एक वर्षका लागि यो पुरुषार्थ प्रदर्शन गर्न आफ्नो फेसबुक प्रोफाइल पिक्चर नै त्यही राख्छ । त्यो फोटो लाइक गर्नेहरूलाई लाग्छ– अरे वा † त्यत्रो छवि भएको मान्छेसँग त यसको ‘डाइरेक्ट कनेक्सन’ रहेछ । 

वास्तवमा कार्यक्रमको मुख्य आकर्षण हुनु कम चुनौतीपूर्ण हुँदैन । एकपटक त्यो नजरबाट पनि सोचाँै । जस्तै भए पनि जिन्दगीले कम्तीमा एक पटक प्राय: सबैलाई सेलेब्रिटी हुने चान्स दिन्छ– विवाहको अवसर जुटाएर । हो, चाहे बेहुलाबेहुली हुनुस् वा प्रमुख अतिथि, सुरुदेखि अन्त्यसम्म तपाईंलाई समातेर, अँगालो हालेर, सामीप्यमा टाँसिएर फोटो खिच्न लाम लाग्नेहरूको ताँती हेर्दा लाग्छ यो क्रम कहिल्यै सकिँदैन ।

चट्याङको झिल्का झैँ  क्यामेराको फ्ल्यास आँखामा एकपछि अर्को गरेर तारम्तार परिरहँदा चक्कर लागेर भुइँमा ढलुँलाझैँ   हुन्छ तर त्यसो भनेर कहाँ सुख पाइन्छ र ? कि त ढल्नैपर्‍यो, नत्र भने सहनुपर्‍यो । राम्रै क्यामेरा ल्याए त ल हो भन्नु, चाइनिज मोबाइल अगाडि तेस्र्याएर आफूलाई खुबै प्रोफेसनल फोटोग्राफर नै मान्ने महानुभावले घरि उठाउन, घरि बसाउन त घरि मुस्कुराउन लगाएर अनुहारसमेत राम्रो नचिनिने सेल्फी खिच्नुहुन्छ । सबैले हातहातमा झिल्किने ठेउको लिएर झिलिक–झिलिक–झिलिक अविरल झिल्क्याइरहन्छन्, बस् झिल्क्याइरहन्छन् ।

अब त्यति सास्ती खेपाएर खिचिने फोटोको नियति र महत्वमाथि पनि विमर्श गरौँ  । पहिले–पहिले अविस्मरणीय क्षणहरूलाई ताजा राख्न फोटो खिचिन्थ्यो, तर अहिले ठीक उल्टो फोटो खिच्नका लागि क्षणहरू सिर्जना गरिन्छ । फोटो पनि अहिलेजस्तो खिच्छु भन्नासाथ गोजीबाट स्मार्ट्फोन निकालेर फ्याच्याक्क पार्न कहाँ पाइन्थ्यो र ? फोटो खिच्नका लागि ठूलै प्रपञ्च रच्नुपथ्र्याे । क्यामेरा कसैसँग बिन्तीभाउ गरेर मागेर ल्याउनुपथ्र्याे, त्यसपछि ३३ देखि ४० वटा फोटा खिच्न मिल्ने रिल अनि ब्याट्री जोगाड गर्नुपथ्र्याे । फोटो खिच्न मिल्ने संख्या सीमित भएकाले निकै स्मरणीय, घतपूर्ण र महत्वपूर्ण क्षणहरू मात्र क्यामेरामा कैद गरिन्थ्यो । अहिले त ओर्कंदा दुई, फर्कदा चार, मुख चुच्चो पारी पाँच, चुच्चो नपारी पाँच, कति खिचिन्छ कति ? सरर्र स्क्रिनिङ गरी डिलिट पनि तुरुन्त गरिन्छ । डिलिट हुने भविष्य बोकेका ती फोटा खिचिनु नै ब्यर्थ थियो, समयको बर्बादी अनि ऊर्जाको अनावश्यक खपत ।

त्यसरी रिलमा खिचिएका तस्बिर स्टुडियोमा लगेर डेभलप गरिन्थ्यो, प्रिन्ट निकाली सजाएर आल्मारी भित्र एल्बममा राखिन्थ्यो । अहिले यस्तो ‘हिट’ प्रविधि अपनाउने नामुद कम्पनी कोडाकसमेत टाट पल्टिसकेको छ । 

यसप्रकार त्यतिबेला खिचिने प्रत्येक फोटोको नियति एकपछि अर्को चरण पार गर्दै अन्ततोगत्वा एल्बमसम्म पुगेर टुङ्गिन्थ्यो र धेरै वर्षसम्म थुप्रै आँखाले ती तस्बिरका सुन्दरता र ऐतिहासिक महत्व बुझ्ने मौका पाउँथे, तर आज डिजिटल दुनियाँले फोटो खिच्नु र खिचाइनुको गहनतालाई धेरै फिक्का बनाइसकेको छ । अहिले खिचिएका कुनै पनि फोटो आल्मारीको एल्बमसम्म पुग्दैनन्, अर्थात् अहिलेका तस्बिरले इतिहास रच्ने ल्याकत कमै राख्छन् । धेरै फोटो अवशेष नरहने गरी संसारबाटै मेटाइन्छन्, बाँकी केहीमा कुनै एप प्रयोग गरी भारी कृतिमता घुसाइन्छ ।

अनेक गरेर ‘ओरिजिनालिटी’ नष्ट गरिसकेपछि बल्ल इन्स्टाग्राम, पिकासा, फेसबुक वा गुगल ड्राइभका एल्बममा अपलोड गरिन्छ । बाँकी कयौँ  तस्बिर मोबाइलको मोबाइल वा कम्प्युटरको हार्ड डिस्कबाट समयसँगै उड्छन्, सकिन्छन् । एउटा फोटो डिलिट हुँदा त्यो फोटोले बोकेको सिङ्गो कथा पनि कहिल्यै नफर्कने गरी यो विश्वबाट विलय हुन्छ । हुन त हिजोआज ड्राइभ र क्लाउड जस्ता ब्याकअप आएका छन् तथापि स्पेस सीमित भएकैले डिजिटल तस्बिरले जुनसुकै बेला आफ्ना कथा बोकेर अतीतको कालो खाडलमा फर्कन सक्ने जोखिम बोकिरहेका हुन्छन् । निश्चय नै अहिले फोटोमा सहजता र पहुँच बढेको छ तर यो दिगो र अर्थपूर्ण छैन । 

ravinems@iom.edu.np  

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्