गीत नसुनी निद्रा लाग्दैन

- कृष्ण भट्टराई, सुब्रत आचार्य

असार २१, २०७४- 

अहिले कालीप्रसाद बासकोटा नेपाली सांगीतिक क्षेत्रको सर्वाधिक लोकप्रिय नाम हो । यतिबेला आधुनिक तथा पपगीत मात्र होइन, चलचित्रको गीतमा समेत कालीप्रसादको शब्द, संगीत तथा स्वरको जादु चलिरहेको छ । हेमन्त रानाको ‘साइँली’ होस् अथवा मनिष ढकालको ‘तिलहरी...’ कालीप्रसादले सुगम संगीतको धारलाई नै परिवर्तन गरिदिएका छन् । रेशम फिलिलीको ‘पारि त्यो डाँडामा’ होस् अथवा ‘लुट–२’ को ‘ठमेल बजार...’ वा पुरानो डुंगाको ‘निर...’ सांगीतिक क्षेत्रमा कालीप्रसादकै चर्चा छ । बुवा, आमा, एक छोरा तथा श्रीमतीसहित कीर्तिपुरमा बसोबास गर्ने हिस्सी परेको रातो वर्णका यी संगीतकार गायकका रूपमा समेत सक्रिय छन् । तिलगंगा अस्पतालको स्थायी जागिर छाडेर सांगीतिक क्षेत्रमा होमिएका कालीप्रसाद गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को निर्णायकका रूपमा समेत चर्चित छन् । सांगीतिक कार्यक्रममा समेत सक्रिय बासकोटाले अघिल्लो साता मात्र ‘निर...’ गीतका लागि एनएफडीसी राष्ट्रिय चलचित्र एवार्डमा सर्वोत्कृष्ट गायकको एवार्ड पनि जिते । जमलस्थित डोरेमी स्टुडियोमा नयाँ गीत रेकर्ड गराइरहेका बेला कालीप्रसादले साप्ताहिकका कृष्ण भट्टराई तथा सुव्रत आचार्यसँग लामै कुराकानी गरे ।  

यतिबेला केमा व्यस्त हुनुहुन्छ ? 

तीन–चारवटा चलचित्रको काममा व्यस्त छु । भन्नैपर्दा रोलर कोस्टर सेड्युल छ । कुनै बेला अलि रस हुन्छ, कहिलेकाहीँ फुर्सदमा पनि हुन्छु । 

समग्रमा कालीप्रसाद बासकोटा को हो ? 

संसारमा सबैभन्दा गाह्रो काम भनेकै आफूलाई चिन्नु हो । व्यवसायिक रूपमा म संगीतकार नै हुँ । म आफ्नो पहिलो प्राथमिकता संगीत सिर्जनालाई नै दिन्छु । दर्शक–श्रोताले मलाई गायकका रूपमा पनि चिन्नुहुन्छ । वास्तवमा म संगीतकार मात्र हुँ । 

तर तपाईं गायकका रूपमा लोकप्रिय भैरहनुभएको छ नि ? 

यो संसारको नियम हो । गायक फ्रन्टमा आउँछ, सञ्चारमाध्यममा आउँछ, त्यसैले ऊ बढी लोकप्रिय हुन्छ । यद्यपि गायकलाई गायक बनाउने काम संगीतकारले गरेको हुन्छ । म संगीतकार भएका कारणले मात्र गायक भएको हुँ । अरू कुनै संगीतकारले मलाई बोलाएर गायक बनाउने सम्भावना अत्यन्त कम थियो र छ पनि । 

अर्थात् तपाईंको गायकीले संगीतकारलाई डोमिनेट हुन दिएको छैन ? 

पक्कै छैन । मभित्रको संगीतकारले नै गायकीलाई डोमिनेट गरिरहेको छ । म त्यस्तो राम्रो वा भर्सटायल गायक होइन । 

तपाईंको स्वर कसरी लोकप्रिय भयो त ? 

त्यो त मैले आफ्नो स्वर चिनेर सम्भव भएको हो । संगीत चल्नुमा गायकको मात्र हात हुँदैन । एउटा गायकले हजारवटा गीत गायो भने हजारैवटा गीत चल्दैनन् नि, तर हजारैवटा संगीत राम्रो छ भने सबै गीत चल्न सक्छन् । 

अर्थात् गीत नै उत्कृष्ट हुनुपर्‍यो ? 

हो, सबैभन्दा पहिले गीतको शब्द नै उत्कृष्ट हुनुपर्छ । गीतको डिजाइन राम्रो भयो भने मात्र त्यो गीत लोकप्रिय हुन्छ । 

कस्ता गीत गाउन रुचाउनुहुन्छ ? 

म त्यस्ता गीत मात्र गाउँछु, जसलाई म न्याय गर्न सक्छु । उदाहरणका लागि मैले ‘साइँली...’ गाइनँ । भर्खरै लोकप्रिय भएको ‘तिलहरी...’ पनि मैले गाइनँ । अहिले केही चलचित्रको काममा व्यस्त छु, तीमध्ये केही चलचित्रका गीतमा मेरो स्वर हुनेछैन । 

न्याय गर्न सक्छु भन्ने कुराको छनक कसरी पाउनुहुन्छ ? 

त्यो त कम्पोज गर्दा नै थाहा हुन्छ । मैले अहिलेसम्म सांगीतिक क्षेत्रमा खर्चिएको समयले मलाई त्यति कुरा त सिकाएको छ । 

तपाईंको संगीतमा त्यस्तो कुन जादु छ, जसले हरेकलाई लठ्याउँछ ? 

खै त्यस्तो जादू त छ जस्तो लाग्दैन । जसरी फ्याक्ट्रीबाट कुनै पनि उत्पादन बाहिर आउनुभन्दा अघि नै त्यसमा आवश्यक सबै इन्ग्रिडेन्सहरू गुणस्तरीय छन् कि छैनन् भन्ने कुराको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिएको हुन्छ । बजारमा आएपछि त्यो आमउपभोक्ताको हात–हातमा पुग्छ । संगीत सिर्जनामा पनि मैले त्यही विधि अपनाएको छु । बजारमा आउनुभन्दा अघि नै म सकेसम्म धेरै करेक्सन गर्छु, मैले विश्वास गर्ने मानिसहरूलाई सुनाउँछु । मेरा हरेक गीत बजारमा आउनुभन्दा अघि मेरो सर्कलका साथीभाइले सुनिसकेका हुन्छन् । म जुन काममा हात हाल्छु, त्यसमा असाध्यै गम्भीर भएर खटिन्छु । सम्भवत: यसैले श्रोताहरूले मेरा गीत मन पराउनुभएको हो । यसमा जादुभन्दा पनि मेहनतले काम गरेको हुन्छ । 

अहिले कालीप्रसादले फलाम छोए पनि सुन बन्छ भन्ने भनाइ छ नि ? 

त्यस्तो त होइन । सबै कुरा क्राफ्टिङमा भर पर्छ । मकहाँ आइपुग्दा गीत केवल शब्दका रूपमा हुन्छ, म त्यसलाई कलात्मक शैलीमा क्राफ्ट गर्छु । हरेक कुराको एउटा समय हुन्छ, भाग्य हुन्छ । म एकदम विचार गरेर काम गर्छु । अर्को कुरा म धेरै काम गर्न सक्दिनँ । म असाध्यै कम काम गर्छु । त्यसकारण पनि मैले गरेका काम उत्कृष्ट भएका होलान् । म एउटै गीतका लागि निकै समय खर्चन्छु त्यसैले फलाम छोए सुन बन्छ भनिएको होला, फलाम छुनेबित्तिकै सुन हुने होइन । त्यसमा मेहनत पनि लुकेको हुन्छ । मेरा कतिपय गीत नचलेका पनि छन् । 

तपाईंले आशा गरेका गीतहरू नचलेका पनि छन् र ? 

एक–दुईवटा गीत छन्, जसबाट मैले धेरै आशा गरेको थिएँ, तर चलेनन् । जस्तो बुद्धि सागरको पुस्तकलाई प्रमोट गर्न तयार पारिएको ‘फिर्फिरे...’ शीर्षकको गीत चल्नुपर्ने थियो तर चलेन । त्यो गीत मलाई असाध्यै मनपर्छ, तर पुस्तकको प्रोमोसनसँगै त्यो गीतको समय सकियो । गीत राम्रो हुनु र कमर्सियल हुनु फरक कुरा रहेछ भन्ने कुरा मैले त्यही गीतबाट बुझें । चलचित्र पुरानो ढुंगाको ‘ढुंगा चलाऊ माझी..’ बाट पनि आशा थियो, तर त्यो औसत मात्र रह्यो । 

एकपछि अर्को हिट गीत दिनुहुन्छ, वास्तवमा तपाईं के खानुहुन्छ ? 

मैले तपाईंको प्रश्नको आशय बुझें । खाना त म सामान्य नै खान्छु तर खुराकमा भने विविधता अपनाउँछु । म आलोचनालाई असाध्यै सकारात्मक रूपमा लिन्छु । मानिसहरूको सुझावलाई पनि आत्मसात् गर्छु । मेरो खुराक भनेको राम्रो संगीत हो । म राम्रा–राम्रा संगीत सुन्छु । जुन संगीतमा नयाँ कुरा हुन्छ, जुन संगीत सुनेर केही नयाँ सिक्न पाइन्छ, त्यही संगीत नै मेरो खुराक हो । 

तपाईंको सिर्जनाको फिलोसोफी के हो ? 

सिम्प्लिसिटी अर्थात् सरलता । जति नै कम्प्लेक्स भए पनि त्यसलाई सरल रूपमा प्रस्तुत गर्नु पर्छ भन्ने मेरो मुल मन्त्र हो । आफूलाई नढाँटी गरिने कामले सफलता दिलाउँछ भन्ने कुरा पनि मैले राम्रोसँग बुझेको छु । 

अरूबाट प्रभावित हुने अवस्था कत्तिको रहन्छ ? 

जसरी हामी जन्मदेखि नै केही न केही कुरा कोही न कोहीबाट सिकिरहेका हुन्छौं, संगीत पनि त्यस्तै हो । मैले पनि अरूलाई सुनेर, देखेर नै संगीत सिर्जनामा हात हालेको हुँ । सबै कुरा जन्मिँदै सिकेर आउने होइन । निरन्तरको साधनाले त्यसलाई परिष्कृत बनाउने अर्को कुरा हो ।

कस्ता गीत–संगीत तपाईंको प्राथमिकतामा पर्छन् ? 

म बालबालिकाले उच्चारण गर्न सक्ने शब्द, युवापुस्ताले मन पराउने प्याकेजिङ अनि हरेक उमेरका व्यक्तिले गुनगुनाउन सक्ने ट्युनलाई प्राथमिकता दिन्छु । 

जीवनमा यति ठूलो सरप्राइज पाइन्छ भन्ने सोच्नुभएको थियो ? 

सोचेकै थिइन । नढाँटी भन्नुपर्दा म लोकप्रियताका लागि संगीतमा आएको होइन । मैले गायक बन्छु भनेर पनि सोचेको थिइनँ । म त जागिर खाएर बसेको मान्छे थिएँ । संगीतमा सक्रिय भएर पछि तीन–चार वर्ष यो क्षेत्रबाट हराउने मान्छे पनि मै हुँ । पछि सांगीतिक क्षेत्रकै व्यक्तित्वहरूसँगको उठबसले यो क्षेत्रमा फर्कन बाध्य भएँ । अर्को रमाइलो कुरा के छ भने मैले अहिलेसम्म आफ्ना लागि जम्मा एउटा मात्र गीत गाएको छु, भ्यालेन्टाइन शैलीको । त्यसबाहेक मैले जति पनि संगीत गरें, अरूकै लागि गरें । 

जागिरे जीवन र अहिलेको व्यस्त जीवनबीच के फरक पाउनुभयो ? 

जागिरे जीवनमा म जागिरेकै रूपमा सन्तुष्ट थिएँ । मलाई सञ्चार के हो, ग्ल्यामर के हो केही थाहा थिएन, म गीत–संगीतका लागि जन्मिएको हुँ भन्ने पनि थाहा थिएन । म अर्कै जीवनमा बाँचिरहेको थिएँ । संगीतमा आएको झन्डै ६ महिनासम्म के हुन्छ, कस्तो हुन्छ भन्ने कुरा सोचेरै डराइरहेको थिएँ । डरै डरमा मैले त्यतिबेला संगीतमा एक्स्ट्रा फोकस तथा एफोर्ट लगाएछु, आफुलाई असुरक्षित पनि महसुस गरेछु । दोस्रो गीत चलेन भने म बर्बाद हुन्छु, तेस्रो गीत चलेन भने म यो क्षेत्रमै टिक्न सक्दिनँ भन्ने कुराको डर थियो । म खुसी नै हुन सकिरहेको थिइनँ । त्यही क्रममा मैले निर, ठमेल बजार, पन्छीजस्ता गीत कम्पोज गरेँ । यी गीतको सफलताले मलाई ठूलो ऊर्जा प्रदान गरेका छन् । अर्को एउटा कुरा छ, जति बेला म जागिर खान्थें, त्यतिबेला दिनको सात–आठ घण्टा म संगीत साधना गर्थें, अहिले संगीतकार तथा गायकका रूपमा सक्रिय भएपछि भनेजसरी साधना गर्न पाएको छैन । 

साधनाको कमीले सांगीतिक यात्रामा प्रभाव पार्दैन त ? 

मैले अहिले आएर बुझेको कुरा नै यही हो । जति नै लोकप्रिय स्रष्टा पनि लामो समयसम्म त्यही लोकप्रियतामा कायम रहन सक्दैनन् । लोकप्रिय भएपछि कामको प्रेसर यसरी बढ्दो रहेछ कि मुख्य साधना नै छुट्दो रहेछ । यही कुरा बुझेर मैले गीतको संख्याभन्दा गुणस्तरमा ध्यान दिएको हुँ । अहिले पनि म फुर्सद भयो भने साधनामा बसिहाल्छु, तर विडम्बना फुर्सद नै हुँदैन । 

गाउन सजिलो कि धुन तयार पार्न ? 

गाउन भन्दा धुन तयार पार्न गाह्रो हुन्छ । यद्यपि मलाई त गाउन पनि गाह्रै लाग्छ । धुन तयार पार्नु भनेको नयाँ सन्तानलाई जन्म दिनुजस्तै हो । कुनै पनि नयाँ कुरा सिर्जना गर्नु सजिलो काम पक्कै होइन । मलाई त नयाँ कामको प्रस्ताव आयो कि डर लाग्छ । किनभने नयाँ काम पुरानो भन्दा उत्कृष्ट हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यो मान्यतामा टिकिरहन बढी नै मेहनत गर्नुपरिरहेको छ । 

कुन गीतलाई आफ्नो टर्निङ प्वाइन्ट मान्नुहुन्छ ? 

मेरो सांगीतिक जीवनमा दुईवटा टर्निङ प्वाइन्ट छन् । गायिका शशि रावलका लागि मैले कम्पोज गरेको ‘चाहना सकियो...’ गीत मेरो पहिलो टर्निङ प्वाइन्ट थियो । त्यही गीतबाट शशि र म सांगीतिक क्षेत्रमा उदाएका हौं । चलचित्र रेशम फिलीलीको ‘पारिको त्यो डाँडा’ मेरो दोस्रो टर्निङ प्वाइन्ट हो । 

पारि त्यो डाँडामा...गीतको सफलतालाई कसरी हेर्नुभयो ? 

क्लिक हुनु र नहुनुमा कति ठूलो अन्तर छ भन्ने कुरा त्यही गीतको लोकप्रियताले प्रमाणित गर्‍यो । उक्त गीत सार्वजनिक हुनुभन्दा अघि नै मैले थुप्रै गीत तयार पारिसकेको थिएँ, तर त्यसमा खासै ध्यान दिइएन । पारी त्यो डाँडाले मलाई क्लिक हुन सहयोग पुर्‍यायो । नीर, ठमेल बजारजस्ता गीत आएपछि नै म गायक तथा संगीतकारका रूपमा स्थापित हुन सफल भएँ । 

तपाईंको प्रतिस्पर्धि को हो ? 

संगीतमा प्रतिस्पर्धा भन्ने कुरा हुँदैन । सिर्जनालाई प्रतिस्पर्धाका रूपमा हेर्नु पर्छ जस्तो पनि लाग्दैन । 

साईंली... गीतले तपाईंको करियरलाई कत्तिको फाइदा दियो ? 

पहिलो कुरा त मानिसहरूमा कालीप्रसादका गीत डिस्को, मेला, महोत्सवमा नाचगान गर्नका लागि मात्र उपयुक्त छन् भन्ने भ्रम थियो । त्यो भ्रमलाई ‘साइँली’ ले चिरैकै हो । त्यसो त त्यसअघि नै मैले ‘लैजा रे...’, ‘दैव हे...’ जस्ता गीतमा काम गरिसकेको थिएँ भन्ने कुरा पनि धेरैलाई थाहा थिएन । 

साइँली...को लोकप्रियतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

यो गीतले तीन करोड नेपालीलाई कुनै न कुनै रूपमा छोएको छ । मानिसको संवेदनालाई छोएकै कारण यो गीत लोकप्रिय भएको हो । साइँलीलगत्तै मैले तयार पारेको तिलहरी गीतलाई पनि श्रोताहरूले मन पराउनुभयो । यो गीतलाई पनि मैले वास्तविकतामा आधारित भएर तयार पारेको थिएँ, त्यसैले यसलाई पनि सबैले मन पराउनुभयो । 

आफूले पुराना संगीतकारहरूलाई विस्थापित गरेको छु जस्तो लाग्छ कि लाग्दैन ? 

मैले त्यति धेरै काम नै कहाँ गरेको छु र पुराना संगीतकारलाई विस्थापित गर्नु ? संगीतमा स्थापित र विस्थापित हुन्छ भन्ने कुरामा पनि म विश्वास गर्दिनँ । व्यवसायिक रूपमा हेर्दा को कति व्यस्त छ भन्ने कुराको मूल्यांकन होला, तर यसले कसैलाई स्थापित अथवा विस्थापित गर्ने भन्ने कुरा हुँदैन । 

नेपाली श्रोतालाई कस्तो गीत मन पर्ने रहेछ ? 

यो कुराको अन्दाज त कसैलाई पनि हुँदैन, किनभने श्रोताले कुन समयमा के सुन्न चाहनुहुन्छ भन्ने कुरा भन्नै सकिँदैन । यद्यपि श्रोताहरूलाई नयाँ कुरा मनपर्छ । त्यसबाहेक चलिरहेको ट्ेरण्ड सबैलाई मनपर्छ । 

गीत तयार पार्दा श्रोताको मनस्थितिलाई ध्यान दिनुहुन्छ कि आफ्नै मुड अनुसार काम गर्नुहुन्छ ? 

मैले श्रोतालाई के दिने भन्ने कुरामा मात्र ध्यान दिन्छु । 

तपाईंका गीतमा मादल, सारंगी, बांसुरी बजेको सुनिन्छ नि ? 

म प्रजेन्टेसनमा फ्युजन गर्छु, इन्स्ट्रूमेन्टमा गर्दिनँ । त्यही फ्यूजन गर्ने क्रममा म नेपाली लोकबाजाहरू प्रयोग गर्छु । 

आफ्ना संगीतमा कुन गायक–गायिका फिट छन् भन्ने कुरा कसरी अनुसन्धान अथवा अनुमान गर्नुहुन्छ ? 

म यसमा रिचर्स नै गर्छु । गीतले कस्तो स्वर माग्छ, त्यही स्वरको खोजीमा जुट्छु । गायक–गायिकाको टेस्ट थाहा हुने भएकाले कुन गीत कसले कस्तो गाउँछ भन्ने जानकारी भैसकेको हुन्छ । ठमेल बजारका लागि मैले मीना निरौलालाई छनोट गर्ने कारण पनि यही हो । पारी त्यो डाँडाका लागि सोमिया रसाइलीको स्वर प्रयोग गर्ने कारण पनि यही हो । गीतको धुन तयार हुनेबित्तिकै यो गीत कसलाई सुहाउंछ भन्ने कुराको ज्ञान भैसकेको हुन्छ । 

आफूलाई नेपाली संगीतको ट्रेण्ड सेटर मान्नुहुन्छ ? 

त्यो त मान्दिनँ, तर मेरा केही गीतले नेपाली चलचित्रमा लोकलयमा आधारित गीत पनि चल्दा रहेछन्, आइटम गीत तयार पार्न हिन्दी गीतकै नक्कल गर्नुपर्दो रहेनछ भन्ने कुराचाहिं प्रमाणित गरिदिएको छु । 

पार्टीदेखि पिकनिकसम्म आफ्ना गीत बजेको सुन्दा कस्तो महसुस हुन्छ ? 

सुरु–सुरुमा त खुबै रमाइलो लाग्थ्यो, अहिले सामान्य लाग्छ । यद्यपि भविष्यमा मेरा गीत त्यसरी बज्न छाड्ने त होइनन् भन्ने कुरामा सदैव सचेत रहन्छु । 

तपाईंलाई महँगो संगीतकार पनि भनिन्छ नि ? 

एउटा गीत तयार पार्न कति समय लगाउँछु, त्यो पनि हेर्नुपर्‍यो नि । म एउटा गीतका लागि झन्डै एक महिना घोटिएको हुन्छु । मेहनतको कदर त हुनु पर्छ नि, हैन र ? यद्यपि म महँगोचाहिं होइन, मैले संगीतबाट कमाउनै सकेको छैन । अब चाहिँ गुणस्तरसंगै संख्या पनि बढाउने सोचमा छु । त्यसपछि चाहिँ कमाउन थालिन्छ कि ? 

नेपाल आइडलको निर्णायक बन्न कसरी तयार हुनुभयो ? 

नेपाल आइडलका लागि मलाई एउटा बाइटका लागि बोलाइएको थियो । म त्यसका लागि गएँ । त्यस क्रममा निर्माण संस्थाले मेरो पनि प्रोफाइल भारत पठाएको रहेछ । झन्डै एक सातापछि उहाँहरूले मलाई नै निर्णायकको प्रस्ताव राख्नु भयो । मैले केही सोच्दै नसोची हुन्छ भनिदिएँ । 

निर्णायकका रूपमा तपाईंलाई अलि कडा पाइयो नि ? 

कार्यक्रमको रूपरेखाकै कारण म कडा हुनुपरेको हो । 

निर्णायकका रूपमा आलोचना पनि सुन्नुपरेको छ ? 

विराटनगरको अडिसनपछि आलोचना सुनेको थिएँ । अहिले टप १८ सम्म आइपुग्दा हाम्रो प्रशंसा हुन थालेको कुराले खुसी दिएको छ । 

निर्णायक बन्न कत्तिको सहज रहेछ ? 

असाध्यै असहज काम हो यो । निर्णायक बन्नुअघि नै यो गाल पार्ने काम हो भन्ने त थाहा थियो । 

 

निर्णायकका रूपमा देश दौडाहा गर्दा नेपाली सांगीतिक क्षेत्र र प्रतिभाको अवस्था के पाउनुभयो ? 

नेपालमा असाध्यै प्रतिभाशाली कलाकारहरू छन् भन्ने कुरा नेपाल आइडलको अडिसनका क्रममै अनुभव गर्ने मौका पाएँ । 

नेपाल आइडलले तपाईंको सांगीतिक करियरमा के फाइदा–बेफाइदा भयो ? 

मलाई शतप्रतिशत फाइदा भयो । संगीतकारका रूपमा मलाई नचिन्ने दर्शकहरूले पनि यही कार्यक्रममार्फत मलाई चिन्नु भएको छ । एउटा स्रष्टाका लागि योभन्दा खुसीको कुरा के हुन सक्छ ? 

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्