निलुको अन्तिम यात्रा

- साप्ताहिक संवाददाता

असार २०, २०७४-शनिवार बिहान हृदयघातका कारण मृत्यु भएकी चलचित्र निर्देशक निलु डोमा शेर्पाको आज मंगलबार स्वयम्भुस्थित घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ । उनको अन्तिम यात्रामा श्रद्धाञ्जली दिनका लागि चलचित्र तथा कला क्षेत्रमा विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । जसमा उनको निकट मानिएका निशा अधिकारी, माल्भिका सुब्बा, नम्रता श्रेष्ठ, चलचित्र लेखक शान बस्नेतलगायतका कलाकारहरु निकै भावुक भएका थिए ।

उनको अन्तिम यात्रामा श्रद्धाञ्जली दिनका लागि निर्माता माधव वाग्ले, बैकर्स अनिल केशरी शाह, रविना देशराज, निर्देशक दिपाश्री निरौला, क्रिकेटर शरद भेषवाकर, व्यवसायी दिकेश मल्होत्रा, अभिनेत्री रेखा थापा, अभिनेताहरु प्रमोद अग्रहरी, आयुष्मान देशराज, आशिरमान देशराज, निर्देशक दिनेश डिसी, सुचित्रा श्रेष्ठ लगायतको उपस्थिति थियो ।

उनको शवयात्रा महाराजगञ्ज शिक्षण अस्पतालदेखि स्वयम्भु घाटसम्म पुऱ्याउँदा दर्जनौ सेलिब्रेटीहरु साथमा थिए । उनको निधनपछि हाल बेलायतमा रहेकी अभिनेत्री केकी अधिकारीले उनलाई श्रद्धाञ्जली दिदैं आफ्नो फेसबुक पेजमा एउटा सानो लेख नै लेखेकी छिन् भने प्रियंका कार्कीले आफ्नो प्रोफाइल तस्विर राख्ने स्थानलाई कालो बनाएकी छिन् । केकी र प्रियंका निर्देशक निलुका निकट साथीहरु थिए ।

चलचित्र ‘सुनगाभा’मा सहायक निर्देशक रहेकी ३३ बर्षिय निलुले चलचित्र ‘पुन्टे परेड’मा सहकलाकारका रुपमा अभिनय पनि गरेकी थिइन् । स्व. निलुले माल्भिका सुब्बाद्वारा निर्मित चलचित्र ‘हाउ फन्नी’बाट गत बर्ष चलचित्र निर्देशनमा डेब्यु गरेकी थिइन भने हाल उनी अर्को एक चलचित्रको निर्देशनको तयारीमा पनि रहेकी थिइन् ।

चलचित्र ‘हाउ फन्नी’को प्रदर्शनताका मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक स्व.शेर्पा बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन् । शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएपछि उनी केही साथीहरुका साथ चलचित्र ‘कारखाना’ पनि हेर्न पुगेकी थिइन् । शनिवार बिहान अनायसै बेहोस भएर ढलेपछि छिमेकी सहयोगी र साथीहरुले महाराजगञ्ज शिक्षण अस्पताल पुऱ्याउँदा चिकित्सकले उनको निधन भैसकेको बताएका थिए ।

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्