केकेको रंग संसार

- किशोर नेपाल

असार २०, २०७४

रंगहरूको छुट्टै महत्त्व छ मानिसको जीवनमा । मानिस बाँच्ने प्रकृति रंगमा डुबेको हुन्छ । जीवनका लागि सात रंंग चाहिन्छ । रंगहीन बाँच्न सक्दैन मानिस । यौवनदेखि वृद्धावस्थासम्म मानिस आफूलाई सुहाउने रंगको खोजी गरिरहेको हुन्छ । खास गरेर नारी सौन्दर्यमा रंगको महत्त्व स्थापित छ । ठूला–ठूला फेसन डिजाइनरहरू, सौन्दर्य प्रसाधनका कम्पनीहरू, सिनेमा घर तथा रंगशालाहरू सबैको आकांक्षा र लक्ष्य हो— रंगको परफेक्सन । रंग नमिलेसम्म जीवनमा के–के नमिलेको जस्तो लाग्छ । नारी वा पुरुष, कामका लागि घरबाट निस्कँदा आफ्नो पोसाकको रंगप्रति सचेत हुन्छन् । रंग नमिलेसम्म के नमिलेको के नमिलेको जस्तो लाग्छ । जब रंग मिल्छ, त्यसपछि सबै कुरा मिल्छन् ।

‘किन यस्तो हुन्छ प्रकृतिमा ?’ मैले वरिष्ठ कलाकार केके कर्माचार्यसँग सोधें । केके मानिस त सार्‍है सामान्य हुन्, कलाकारचाहिं विशिष्ट हुन् । उनी रंगका जानिफकार मात्र होइनन्, रंगका अद्भुत प्रयोगकर्ता हुन । उनी र उनका समकालीन साथीहरूलाई रंगको रेसम कीरा भने पनि हुन्छ । कर्माचार्यले 

आफ्नो जीवनको लामो समय देशलाई समर्पित गरे । उनले हुलाक टिकटलाई नेपाली कलाका विविध आयामसँग जोडेर सांस्कृतिक प्रतीक एवं विम्बहरूमार्फत पहिचान दिए । विश्व बजारमा परिचित गराए । प्रतिष्ठा दिए । उनलाई नेपाली कलाका आधिकारिक व्यक्तित्व भन्न मिल्छ कि मिल्दैन, त्यो ज्ञान त ममा छैन, तर उनी नेपाली कलाकारिताका एक विशिष्ट व्यक्तित्व हुन् भन्न कसैले पनि अप्ठेरो मान्नु पर्दैन ।

केकेले रंगहरूको परिचय दिँदै बताए, ‘कुनै पनि रंग डाइरेक्ट भयो भने त्यो उत्ताउलो हुन्छ । त्यसले रंगको आकर्षणलाई नै छोपिदिन्छ । कालो र सेतो, यी दुई रंगलाई आधार मान्नुपर्छ । कालो र सेतोको आधारमा नै वास्तविक रंगहरूको जन्म हुन्छ ।’ 

रंगहरूको संसार छ गजबको । रातो रंगमा कालो मिसाइदिनुस्, त्यो खैरो बन्छ । रातोमा सेतो मिसाउनुहोस्, त्यो ‘डल’ बन्छ । रंगहरूमा प्राथमिक रंग भनेको रातो, नीलो र पहेंलो हो । आकाशमा बेला–बेलामा, खास गरी पानी परेको बेला, देखिने इन्द्रेणीमा हामी भन्छौं— सात रंग हुन्छ, तर होइन, त्यसमा पनि आधार रंगहरू हुन्छन् । एउटा रंगमा अर्को रंगको मिश्रणले तेस्रो रंगको जन्म हुन्छ । रातोमा नीलो रंग मिसाए त्यो भायलेट बन्छ । त्यसलाई वनस्पति रंग पनि बनाउन सकिन्छ । वैद्यले आफ्नो औषधिमा अनुपात मिलाएजस्तै हो कलाकारले रंगहरूको अनुपात मिलाउनु ।

‘के हो त नेपालीको रंग ?’ केके एक निमेष पनि आनाकानी नगरी जवाफ दिन्छन्, ‘नेपालीलाई रातो राम्रो, गुलियो मीठो लाग्छ ।’ हो, नेपालीको रंंग रातो हो । रातो रंग पनि एउटा मात्र छैन । विवाहमा दुलाहाले दुलहीको सिउँदोमा हाल्ने रंग पनि रातो हो, तर यो रातो फरक हुन्छ । रातो सिन्दूर । रातो सिम्रिक । रातो अबिर । अब यी तीनवटै रातो रंगलाई मिसाएर सोध्नुहोस् केकेलाई । उनको जवाफ हुन्छ, ‘यतिले कहाँ पुग्छ ? रंगहरूको यो संसार त अथाह छ । एउटा रंगमा अर्को रंग मिसाउनुहोस्, अर्कोमा अर्को, अर्कोमा अर्को । रातोलाई हल्का बनाउँदै लगे त्यो पिंक बन्छ । धेरै झिलिमिली नचाहनेहरूका लागि ‘पिंक’ कलर छ । प्रेमको रंग गुलाफको फूलको रातो रंग हो ।

सेतो र कालो दुवै रंग अरू विभिन्न रंगको आधार भए पनि बढी मन पराइँदैनन्, किनभने प्राय: समाजमा सेतो र कालोलाई मृत्युको रंग मानिन्छ । कालो र सेतोलाई मानिसले मन नपराए पनि सबै शुभहरूको सिर्जना यी दुई रंगबाटै हुन्छन् । जीवन र मृत्यु । मृत्यु र जीवन ।

केकेको रंग संसारमा विविधता छन् । कतिपय मानिस छन् जसलाई आफ्नो विचार बाहेक अरू विविधता मन पर्दैन । रंगहरू एउटै युनिफर्ममा देखिनै सक्दैनन् । रंग भनेकै स्वतन्त्रता हो । 

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्