बुझौं विद्यार्थीहरूको मनोविज्ञान

- नरेन्द्र रौले

असार १९, २०७४-

 
 
भर्खरै एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको मनोविज्ञान कस्तो होला ? मनोविज्ञ तथा मनोसामाजिक परामर्शदाता नानी थापाका अनुसार उनीहरू यतिबेला संक्रमणकालमा हुन्छन् । यो उमेरमा शारीरिक, मनोवैज्ञानिक एवं सामाजिक परिवर्तनहरू देखा पर्छन् । साथीभाइहरूको सञ्जाल ठूलो हुँदै  जान्छ । केटाले केटी साथी बनाउने, केटीले केटा साथी बनाउने, धनी–गरिब वर्ग छुट्टिने, गाउँकाले सहरका साथी बनाउने, सहरकाले गाउँका साथी बनाउने यही समयमा निर्धारण हुन्छ । 
 
थापाका अनुसार स्कुल जीवन सकेर कलेज भर्ना हुने बेला आफ्नो इच्छाभन्दा अरूको इच्छा बढी हावी हुने सम्भावना हुन्छ । आफ्नो इच्छा एकातिर हुन्छ, घर–परिवारको इच्छा अर्कैतिर हुन्छ । यसरी आफ्नो रुचि नभएको विषय पढ्नुपर्दा आफ्नो खुसीसँग सम्झौता गर्नुपर्ने अवस्था आइलाग्छ । अभिभावकले सन्तानको मनोभावना नबुझिदिँदा यस्तो हुन्छ । दोहोरो सञ्चार नहँुदा एक प्रकारको अन्तर्विरोध देखिन्छ । यस्तो बेला विद्यार्थी आफैं सचेत हुनु त छँदैछ, आफूले पढ्न चाहेको विषयमा परिवारलाई विश्वस्तसमेत तुल्याउन सक्नुपर्छ । अभिभावकले उनीहरूको चाहना बुझिदिनुपर्छ ।
 
त्यस्तो बेला दुवै पक्षले आफ्नो साझा खुुसी खोज्नुपर्छ । थापा भन्छिन्— आखिर दुवैको अन्तिम लक्ष्य त खुसी नै हो । शिक्षाको लक्ष्य दैनिक जीवन सहज बनाउनु हो, तर हामीले पढ्दै आएको शिक्षाले जीवन कठिन बनाइरहेको हुन्छ । सार्थक जीवनका लागि खुसी महत्वपूर्ण हुन्छ । थापाको क्लिनिकमा थुप्रै किसिमका मनोसामाजिक समस्याग्रस्त विद्यार्थीहरू आइपुग्छन् । आत्महत्या गर्न खोज्ने, रिलेसनसिपमा समस्या भएका, लभ अफेयर ब्रेकअप भएकाहरूलाई थापाले काउन्सिलिङ दिन्छिन् । 
 
मनोविज्ञ थापाको भनाइसँग सहमत छन्, अर्का मनोविज्ञ तथा करिअर काउन्सिलर वासु आचार्य । विद्यार्थीहरू खुसी छन् कि छैनन् ? आफूले पढेको विषयमा उनीहरूलाई मज्जा आइरहेको छ कि छैन ? भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने आचार्य बताउँछन् । विद्यार्थीहरूलाई आनन्द आउने तरिका सिकाउनुपर्छ । आचार्य भन्छन्— सकारात्मक हुन सिकाउनुपर्छ । शारीरिक परिवर्तनसँगै मानसिक परिवर्तन आउने यो बेलामा उनीहरूलाई करिअर काउन्सिलिङ आवश्यक हुन्छ । प्रत्येक विद्यार्थीले फाइभ फिंगर टेक्निकका सम्बन्धमा बुझ्न जरुरी रहेको आचार्य बताउँछन् । फाइभ फिंगर टेक्निकभित्र आफू, अभिभावक, गुरु, साथी तथा करिअर काउन्सिलर पर्छन् । कुनै विषय पढ्नुअघि यी पाँचवटै पक्षबीच छलफल भयो भने त्यो दिगो हुनेमा आचार्य विश्वस्त छन् ।
 
ऊ केमा ट्यालेन्टेड छ ? उसलाई केमा रुचि छ ? त्यही विषयमा भर्ना गर्नु उपयुक्त हुन्छ । आचार्य भन्छन्— आफूले रोजेको विषयमा आनन्द महसुस गर्नु यति महत्वपूर्ण छ कि अनुत्तीर्ण हँुदा पनि फेरि परीक्षा दिन पाइन्छ भनेर त्यसमा रमाउन सकिन्छ । अभिभावकहरूले आफ्ना सन्तान डाक्टर, इन्जिनियर बनून् भन्ने पुरानै रोग हो । यद्यपि यस्ता विषय रोज्दा स्वतन्त्र रूपमा छनौट गर्न दिनुपर्छ । 
 
एसईईपछि विद्यार्थीहरू नयाँ परिवेशमा पुग्छन् । गाउँबाट सहर पुग्दा उनीहरूका अगाडि चुनौती पनि धेरै हुन्छन् । ऊ एक्लो हुन्छ । पूरै अज्ञानता पनि नभएको, पूर्णता पनि नभएको अधकल्चो उमेर हो यो । यो मौका पाए केही बन्ने अथवा नराम्रो बाटोमा लाग्ने वा बिग्रने बेला पनि हो । फेसबुक, च्याट, युट्युब, मुभी, मोबाइल, टेलिभिजनजस्ता धेरै कुरा विद्यार्थीले एकैचोटि थेग्न सक्दैनन् । मुम्बई युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातकोत्तर गरेका मनोविज्ञ तथा करिअर काउन्सिलर आचार्य भन्छन्— मनमा लागेका वा समस्या आइलागेका कुरा साथी, शिक्षक तथा अभिभावकहरूसँग सेयर गर्नुपर्छ । राम्रो कसरी सोच्ने ? यदि नराम्रो सोचिहालियो भने कसरी नियन्त्रण गर्ने ? सोच व्यवस्थापन गर्ने तरिका आदि सिक्नु पनि उत्तिकै आवश्यक छ । जुन विषय पढे पनि दुई वर्ष आनन्दले पढिदिनुपर्‍यो । नयाँ जीवन जिउँछु भनेर अगाडि बढ्नुपर्‍यो । जिन्दगी आफैं चल्छ । अभिभावकले आफ्ना सन्तानलाई मेसिन सोच्नुभएन । उनीहरूलाई कहिल्यै दबाबमा राख्नु हुँदैन । 
 
पढ्न चाहँदै नचाहनेहरूका लागि पनि अन्य धेरै अवसर तथा सम्भावनाहरू छन् । अभिभावकहरूले कलेज, विश्वविद्यालयको डिग्री नै सर्वेसर्वा हो भन्ने सोच त्याग्नुपर्छ । विद्यार्थीको रुचिअनुरुपको शिक्षा पाउनु पनि डिग्रीजस्तै हो । कलेज पढ्न नसकेका थुप्रै विद्यार्थी फोटोग्राफी, भिडियोग्राफी, भिडियो एडिटिङ, एनिमेसनजस्ता कोर्स गर्न सक्छन् । हिजोआज यिनै विषयमा दक्षता हासिल गरेर जीविकोपार्जन गर्न सकिन्छ । यस्ता रोजगारमूलक तालिम धेरै छन् । शिक्षा पूरा हुन पञ्चतत्व चाहिन्छ । त्यसभित्र ज्ञान, क्षमता, दक्षता, सीप एवं व्यवहारिकता पर्छन् । हाम्रो शिक्षामा सीपको कमी छ । ज्ञानका रूपमा सैद्धान्तिक विषयवस्तु मात्र घोकाइन्छ । प्रयोगात्मक शिक्षाको कमी छ ।
 
मानिसमा दुई खालको व्यक्तित्व हुन्छ— एक्सपोज हुने खालको र एक्सपोज नहुने खालको । एक्सपोज नहुने खालको व्यक्तिले प्राविधिक विषयहरू आइटी, म्यानेजमेन्ट, फेसन डिजाइनिङ, आमसञ्चार तथा पत्रकारिता, डान्स, म्युजिकजस्ता विषय पढ्नु उपयुक्त हुन्छ । यसमा परिवारले यही विषय पढ्नुपर्छ, यही पेसा अपनाउनुपर्छ भनेर लाद्नु अनुचित हो । पढ्नुको अर्थ जागिर पाउनु होइन । जागिरमुखी भएर पढ्दा अनेक खालका समस्या निम्तिन सक्छन् । मनोवैज्ञानिक समस्या उब्जिन सक्छन् । पलायनवादी सोच आउन सक्छ । बरु त्योभन्दा आफ्नै व्यवसाय गर्ने खालको सोच बनाउनु उपयुक्त हुन्छ ।
 
अभिभावकहरूले विद्यार्थीको खुबी र रुचि दुबै बुझिदिनुपर्छ भन्छन्— तनहुँका पूर्व जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ । अरूको लहलहैमा लागेर कलेज पढाउनुभन्दा आफ्नो सन्तानको रुचि बुझेर पढाउनुपर्ने श्रेष्ठको राय छ । हामीले विद्यार्थीहरूको प्रतिभा चिन्न सकेका छैनौं । श्रेष्ठ भन्छन्— यदि उसको क्षमता–दक्षता पहिचान गर्ने हो भने देशले पनि फाइदा लिन सक्छ । मुलुकले विद्यार्थीहरूमाथि गरेको लगानीको प्रतिफल लिन नसकेको श्रेष्ठ बताउँछन् । अहिले प्लस टु पढेर बिदेसिने क्रम तीव्र छ । यसलाई रोक्न बढीभन्दा बढी प्राविधिक शिक्षा दिन र अवसरहरू सिर्जना गरिनुपर्नेमा श्रेष्ठले जोड दिए । श्रेष्ठका अनुसार नयाँ पुस्ताको आकर्षणलाई राज्यले पनि पहिचान गर्न सक्नुपर्छ, अन्यथा अवसरका लागि विदेश पस्नुपर्ने बाध्यता अझै चलिरहन्छ । 
 
मनोविज्ञ तथा करिअर काउन्सिलर वासु आचार्यका अनुसार कलेज छान्नुअघि निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :
- कलेजको वातावरण सफा–सुग्घर छ कि छैन ?
- कलेजको रिजल्ट राम्रो छ कि छैन ?
- म्यानेजमेन्ट टिम कस्तो छ ?
- म्यानेजमेन्ट फेरिएको छ कि ?
 -क्यान्टिनको अवस्था कस्तो छ ?
- कलेजमा गाँजा खानेहरू पो छन् कि ?
 
यसबाहेक आफूले पहिले पढेको स्कुलको वातावरण र अहिलेको कलेजको वातावरण सुहाउँदो छ कि छैन ? भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । अभिभावकहरूले आफ्ना सन्तानलाई दबाब दिनु हँुदैन । कलेजमा कतिको कुरा काट्ने प्रवृत्ति हुन्छ । यसले पढाइमा धेरै असर गर्छ । यो गलत प्रवृत्ति हो । यस्तो प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । विद्यार्थीले डर, चिन्ता एवं कुण्ठाबिना अध्ययन गर्न पाउनुपर्छ ।  
 
 
 
 
 
 

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्