सिटिइभिटीका केही कोर्स

- साप्ताहिक संवाददाता

असार १८, २०७४- 

विश्वमा भएको प्रविधिको विकासले नेपालमा पनि ठूलो फड्को मारेको छ । नेपालमा पनि नयाँ—नयाँ रोजगारमूलक  विषय भित्रिरहेका छन् । प्राविधिक शिक्षाले एसईईमा तल्लो ग्रेडमा रहने विद्यार्थीलाई पनि समान अवसर प्रदान गर्न थालेको छ । सिटिइभिटीका आंगिक प्राविधिक शिक्षालय, सामुदायिक विद्यालय, सम्बन्धन प्राप्त निजी शिक्षालय वा कलेजहरूमा त्यस्ता कोर्स सञ्चालनमा छन् । 

यस्ता छन् कोर्स

जेटीए : कृषि विधाअन्तर्गत जेटीएका विभिन्न कोर्स छन् । यसमा एनिमल हेल्थ र एग्रिकल्चर लाइभस्टक प्रोडक्सन पनि पर्छन् । यो दुईवर्षे कोर्स हो, जसमध्ये ५ महिना कुनै पनि सम्बन्धित कार्यालयमा बसेर तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । यो कोर्स पूरा गरेपछि कृषि विधाका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने अवसर प्राप्त हुनसक्छ ।

एग्रो मेकानिक्स : कृषि विधाकै एग्रो मेकानिक्सको कोर्स २ वर्षको हुन्छ । कृषि क्षेत्रमा आवश्यक पर्ने मेसिनको मर्मतसम्भार र जडानका कामहरू यसअन्तर्गत पर्छन् । यो व्यवहारिक कोर्स हो । कृषिमा प्रविधिको प्रयोग बढिरहेका बेला यो कोर्स उपयोगी हुनसक्छ । 

फुड टेक्निकल असिस्टेन्ट : खाद्य प्रविधिअन्तर्गतको यो कोर्स कृषि विधाअन्तर्गत कै हो । यो कोर्स दुई वर्षको हुन्छ । यो कोर्स पूरा गरेपछि खाद्य प्राविधिकका रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ । 

सडक र पुल ओभरसियर : प्राविधिक शिक्षाअन्तर्गतको यो कोर्स इन्जिनियरिङ विधाअन्तर्गत पर्छ । यो दुईवर्षे कोर्स हो । अध्ययन सकिएपछि थप पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । नेपालमा विकास–निर्माणका काम धमाधम भैरहेका छन् । सडक र पुलहरू निर्माण गर्नुपूर्व ओभरसियरले नक्साकंन र डिजाइन गर्नुपर्छ ।

जनरल कन्स्ट्रक्सन : यो पनि इन्जिनियरिङ विधाकै कोर्स हो । जुनसुकै निर्माण क्षेत्रसँग सम्बन्धित काममा यो कोर्स गर्ने जनशक्तिको आवश्यकता पर्छ । यसमा पनि दुई वर्षसम्म क्लास लिएर पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । 

बिल्डिङ इलेक्ट्रिसियन : यो दुई वर्षे कोर्स हो । निर्माणाधिन आधुनिक भवनभित्र विद्युत् जडानका लागि आवश्यक पर्ने ज्ञान यो कोर्सभित्र सिकाइन्छ । यो कोर्स स्वदेश तथा विदेशमा रोजगारीका लागि उपयोगी छ । 

अटो मेकानिक्स र अटो मोबाइल : यी दुइटै कोर्स दुई–दुई वर्षका हुन् । यसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । सवारी साधनका पार्टपुर्जा कनेक्सन, मर्मत–सम्भार आदिको अध्ययन यो कोर्सभित्र पर्छ । 

सीएमए : कम ग्रेड ल्याउनेहरूका लागि स्वास्थ्य विधाको सीएमए कोर्स पनि उपलब्ध छ । यसमा पनि दुई वर्षसम्म निरन्तर क्लास लिनुपर्छ भने ५ महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ गर्नुपर्छ । यो कोर्स पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा रोजगारीको सम्भावना हुन्छ । 

एनएम : यो कोर्स स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ । यसमा एसएलसीमा कम ग्रेड ल्याउने र राम्रो ग्रेड ल्याउने दुवै किसिमका विद्यार्थीलाई भर्ना लिइन्छ । यसमा दुईवर्षे कोर्स र तोकिएको ठाउँमा पाँचमहिने अन द जब ट्रेनिङ पूरा गर्नुपर्छ । 

एक्जुलरी नेचर कियर वर्कर : यो कोर्स प्राविधिक क्षेत्रका लागि नौलो कोर्स हो । यो आर्युवेदसँग सम्बन्धित छ । यसमा पनि दुई वर्षसम्म निरन्तर कक्षा लिनुका साथै ५ महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ गर्नुपर्छ । 

एक्जुलरी नर्सिङ मिडवाइफ : यो कोर्स नेपाल भित्रिएको लामो समय भैसकेको छ । यद्यपि यसबाट उत्पादित जनशक्तिको संख्या पर्याप्त छैन । यो कोर्स उपयोगी पनि छ । यो दुईवर्षे कोर्स हो जसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ अनिवार्य छ । 

शैक्षिक मान्यता 

प्राविधिक शिक्षामा फरक–फरक कोर्स निर्धारण गरिएको छ । अधिकांश कोर्समा ४८ जनाको कोटा छुट्टयाइएको छ । यी कोर्स पूरा गर्नेहरूले सरकारको लोकसेवा आयोगमा प्राविधिक खरदारका रूपमा प्रतिस्पर्धा गर्न पाउँछन् । तहको हकमा चौथो स्तरमा र श्रेणीका हकमा तृतिय श्रेणीमा लोकसेवा भिड्न पाउँछन् भने उनीहरूले प्राविधिक खरिदारका रूपमा मान्यता प्राप्त गर्छन् । उपरोक्त विषयहरूमा सिटिइभिटीले आफ्ना आंगिक एसईईमा तल्लो ग्रेडमा रहने विद्यार्थीहरूलाई भर्ना लिन्छ । यसबाट उत्पादित जनशक्ति राम्रो प्राविधिक बन्न सक्छन् । सीपमा दख्खल हुने भएकाले कतिपय विद्यार्थी यस्ता कोर्सतर्फ आकर्षित छन् ।  

प्रकाशित :असार १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्