करोडौंको मुस्कान

- सुविन भट्टराई

असार १८, २०७४-  

एक चिज, जो हामीसित छ । जसलाई हामी हर–कोहीलाई दिन सक्छौँ । दिएर केही पनि सकिँदैन, बरु अझ बढ्छ तर पनि हामी दिन कञ्जुस्याइँ गर्छौं— एउटा मीठो मुस्कान, जसको मोल करोडौँको छ, जो अनमोल छ । 

मुस्कान हरेकसँग हुन्छ । मुस्कुराउन हरेकले जानेका हुन्छन् तर मुस्कुराउँदैनन् । मानौँ हरेक पटक मुस्कुराएको ट्याक्स भर्नु परिरहेछ । मानौँ हरेक पटक मुस्कुराउँदा उसको गोजी रित्तिइरहेको हुन्छ । मानौँ मुस्कुराउनु व्यर्थ हो । मानौँ मुस्कुराउँदा केही अनिष्ट हुन्छ । मानौँ मुस्कुराउँदा अस्वस्थ भइन्छ । 
कहिलेकाहीं किनमेलका लागि बजारतिर निस्कन्छु । कुनै पसलमा भएको सामानमा आँखा जान्छ तर साहुजीको ओठमा मुस्कान नभेट्दा मेरो झोलीमा आउन लागेको त्यो सामान पनि मसित रिसाएर ‘तँसँग आउँदिन’ भनिरहेजस्तो लाग्छ । अझ केही व्यापारी यसरी व्यवहार गर्छन् मानौँ उसले सामान फ्रीमा दिनु परिरहेछ । डिस्काउन्टको कुरा त परै जाओस्, पूरै पैसा तिरेर किन्न खोजेको सामानको मूल्यभन्दा पनि उसको अनुहार यस्तो देखिन्छ, मानौँ कि ऊ सारा संसारसित झगडा गरेर आएको छ अथवा कब्जियतले उसलाई बाल्यकालदेखि नै सताइरहेको छ । 

सरकारी कार्यालय, बैंक, सार्वजनिक ठाउँ आदिमा कसैसित व्यवहार गर्नुपूर्व मुस्कुराउने चलन हामीकहाँ छैन । यही समाजमा हुर्किएको म, एकपटक युरोपको यात्रामा निस्कँदा बुझेँ, मुस्कुराउनु वा सभ्य हुनु भनेको के रहेछ ? त्यसको असर कस्तो हुँदो रहेछ ?

गोराहरूसित कथमकदाचित् आँखा जुधिहाले उनीहरू मुसुक्क हाँस्दै ‘हेलो’ भनिहाल्छन् । सुरु–सुरुमा अन्यौलले गर्दा कति जनालाई मैले मुस्कुराएर जवाफ दिन सकिनँ । एकपटक पेरिसमा आइफिल टावर घुम्ने ठाउँ नजिकै एउटा रेस्टुराँमा खानेकुरा अर्डर गर्ने क्रममा त्यहाँको ओनरसँग मैले ठाडो रूपमा खानेकुरा अर्डर गरेँ । त्यो मान्छे मसित रिसाएछ । भन्यो, ‘तिम्रो सोमत छैन ? मान्छेसित बोल्ने तमिज छैन ? कुन मुलकका हौ ? इन्डियन ?’

म छक्क परेर उसलाई हेरिरहेँ । अलिकति डर पनि लाग्यो । केही बिराएँ कि भन्ने पनि भयो । ‘के भयो ?’ यो प्रश्न मुखले नसोधे पनि ह्दयले बडो भय र व्याकुल मुद्रामा सोधिरहेको थियो । ती व्यक्तिले भने, ‘कसैसित बोल्नुअघि अलिक अदब राखेर बोल्ने गर । यो पेरिस हो । तिम्रो इन्डिया होइन । न हाई न हेलो । न ओठमा मुस्कान, यसरी पनि कोही कसैसित बोल्छ ?’ डरले गर्दा मैले आफ्नो मुलुक सच्याउने साहस पनि गर्न सकिनँ ।

त्यस दिन म साँच्चै लज्जित भएँ । उनीहरूको देशमा हुने अदब हामीकहाँ थिएन । हामीलाई कसैसित बोल्नुपूर्व हाई, हेलो भन्न वा मुस्कुराउन सिकाइएन । हामी पसलमा केही किन्न जाँदा ‘साहुजी, दस रुपियाँको बिस्कुट दिनुस् न’ भनेर ठाडै बोल्थ्यौँ । हामीमा त्यो संस्कार कहिल्यै आएन । अरूलाई इज्जत दिन त हामीले कहिल्यै जानेनौँ तर अरूबाट इज्जत नपाएकोमा झोक्किन भने कहिल्यै छाडेनौँ ।

युरोपमा त्यसअघि पनि हरेक मानिससित, चाहे कतै बाटो भुलेर बाटो सोध्ने क्रममा होस्, चाहे कुनै ग्रोसरीमा केही खरिदारी गर्ने क्रममा होस्, चाहे ट्रेनमा वा बसमा अरू मानिससित बोल्दा होस् अदबले कहिल्यै बोलिएन । मुस्कुराएर सुरुवात गर्न कहिल्यै जानिएन र बदलामा उनीहरूबाट पनि उस्तै रूखो व्यवहार पाइरहियो । पेरिसमा घटेको उक्त घटनापश्चात् बडो संवेदनशील भएर अरू मानिससित बोल्न थालियो । पहिले मुस्कुराउँदै ‘हाई’ वा ‘हेलो’ भनियो, त्यसपश्चात् उनीहरू पनि मुस्कुराउँथे र हाम्रो जिज्ञासा ध्यान दिएर सुन्थे ।

कतिपय ठाउँमा अलमलिँदा मुस्कुराएर संवाद सुरु गर्न थालियो । त्यही व्यवहारका कारण उनीहरू हामीलाई हामीले खोजेको ठाउँसम्म पुर्‍याइदिन्थे । केहीलाई हामीले सोधेको–खोजेको ठाउँ थाहा हुन्नथ्यो । उनीहरू आफ्नो मोबाइल निकाल्थे र डाटा अन गरेर म्यापमा हामीले खोजेको ठाउँ खोज्न मद्दत गरिदिन्थे । 

‘हाई’, ‘हेलो’ भन्ने संस्कार हाम्रो मुलुकमा छैन, तर कमसेकम कसैसित कुनै कुरा सोध्दा, कसैको पसलमा केही खरिद गर्न जाँदा, पसलमा ग्राहक आउँदा कम्तीमा हामी मुस्कुराइदिन त सक्छौँ । वास्तवमा कसैलाई देखेर मुस्कुराउनु भनेको एउटा सुमधुर सम्बन्धको ढोका खुल्नु जत्तिकै हो । मलाई उदेक लाग्छ, हजारौँ खर्च हुने सामान किन्न जाँदा गुत्थ फुलेर सोधेको जवाफ पनि ठीकठाकसित नदिने व्यापारीहरूकहाँ जतिसुकै उत्कृष्ट सामान होस्, आजकाल म झुक्किएर पनि जादिनँ । कसैका अघिल्तिर मुस्कुराउनु यति ठूलो लगानी हो जसले कुनै बैंक, कुनै वित्तीय संस्थानले दिन नसक्ने ब्याज दिन्छ । 

जो सयौँको सामान हजारौँमा बेच्न जान्दछ, त्यो असली व्यापारी होइन । असली व्यापारी त्यो हो जो करोडौँको मुस्कान आफ्नो ग्राहकको स्वागतमा नि:शुल्क खर्च गर्न सक्छ ।

 

प्रकाशित :असार १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्