सीमा समस्या

- मनोज गजुरेल

असार १७, २०७४-  

 

दिल्लीसँग त सीमा समस्या उहिल्यैदेखि थियो नै, अहिले फेरि मुम्बईकी सीमा नेपाल–भारत समस्या भएर थपिएकी छिन् । आउनुहोस्, आज यही विषयमा गजुरियल विश्लेषण गरौं ।

मुम्बईकी सीमाले हाम्रो स्वाभिमानको ‘जंगे पिलर’ भत्काएपछि नेपालीहरू सीमामाथि जाइलागे । धन्य, सामाजिक सञ्जाल थियो । त्यसैले हाम्रो आक्रोश त्यहीं सीमित भयो, अन्यथा कति सीमा सुरक्षा बलहरू ढलमा पुग्थे । कानुनका सीमाहरू मिचिन्थे । सम्बन्धका काँडेतारहरू काटिन्थे । सौभाग्य, यो सीमा विवाद त्यो सीमामा पुगेन । त्यसैले जनधनको क्षति हुन पाएन ।

फेसबुकमा हानाहान भयो । 
ट्विटरमा ठोकाठोक भयो । युट्युबमा पिटापिट भयो । यी सामाजिक सञ्जाल थिएनन् भने आक्रोशको यो आगोले कति गाडी जलाउँथ्यो, कति बार भत्काउँथ्यो, कति जनधनको क्षति हुन्थ्यो, हामी अनुमान गर्न सक्छौं । अनुमान किन लगाउन सक्छौं भने, ऋतिक रोशन काण्डमा हामीले हनुमानगिरी देखाइसकेका छौं । पराईले हेपेको हामी सहँदैनौं तर प्रतिकारमा आफ्नै घरमा आगो लगाउन तयार हुन्छौं, यसैलाई भनिन्छ हनुमानगिरी ।

आफ्नै राष्ट्रको सम्पत्ति डढाएर हामीले कुन राष्ट्रिय स्वाभिमानको रक्षा गर्न खोजेका हौं, त्यो कसैलाई थाहा हुँदैन । कागको पछि लाग्दा कट्टु खुस्किइसक्छ तर हामी कान नछामी कागको पछि–पछि दौडन्छौं । यसैलाई भन्छ, अनुमानको हनुमानगिरी ।

यो विश्लेषकले जब पहिलो पटक सीमाको भिडियो हेर्‍यो तब लागिसकेको थियो कि अब ऋतिक रोशन काण्डभन्दा ठूलो वितण्डा मच्चिँदैछ । रोशनले त नेपाल मन पर्दैन मात्र भनेका थिए, सीमाले त नेपालीहरूकै अपमान गरेकी थिइन् ।

धन्य, जुकरबर्गहरूले सामाजिक सञ्जाल ल्याइदिएका रहेछन् र वितण्डा त्यहीं मात्र सीमित भयो । अहिले नेपाल देश र नेपाली देशवासीकै स्वाभिमानमाथि ठेस पुग्ने गरी बोल्ने सीमाले क्षमा मागिसकेकी छिन्, तर विरोध मत्थर भएको छैन ।

युवाहरूको आक्रोस देख्दा यस्तो लाग्छ, सम्भव हुने भए तिनले सीमाको प्रोफाइल जलाउँथे, भिडियो भत्काउँथे । स्टाटसमा आगो लगाउँथे । पिक्चर बहिष्कार गर्थे । विध्वंसको दुर्भाग्य, जुकरबर्गहरूले त्यसो गर्ने मौका दिएनन् ।

उनले कुन सनकमा बोलिन्, त्यो उनैलाई थाहा होला । के आधारमा बकिन्, त्यो पनि तिनैले भन्लिन्, तर उनको भनाइलाई हामीले कुन रूपमा लियौं, मुख्य कुरा त्यो हो । भारतले नेपालको सीमा, सार्वभौमिकता र स्वतन्त्रतालाई विभिन्न कोणबाट कमजोर बनाउने गरेको छ । सीमाले बोलेका शब्दलाई नेपालीहरूले त्यसैको एउटा कडीका रूपमा लिए । गोरखाली वीरताको गौरवमय इतिहासलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा बुझे ।

नेपाली स्वाभिमानलाई हेपेको माने अनि त्यसैले प्रतिकारमा उत्रिए, सीमालाई माफी माग्न बाध्य गराए । बुझ्नेले बुझिहाले, नबुझ्नेलाई ऐन मौकामा बुझाउँदै गरौंला । यतिमा कुरो सकिएको थियो । हामी रोकिने छाँटकाटमा छैनौं । 

गजुरियल विश्लेषक भन्छ, अब ब्रेक लगाउनुपर्छ । सीमाको कुरामा अल्झिनु आवश्यक छैन, किनभने सीमाहरूले बुझिसकेका छन्, अरिंगालको गोलामा हात हाल्नु खतरनाक हुँदो रहेछ भन्ने कुरा । सीमा विवादको स्पिड अरू बढयो भने यसले नेपाली भाषी विश्ववासीहरूबीच थप खाडल खन्न सक्छ, जसका कारण विश्वभर फैलिएको नेपालमन, नेपालीपन र नेपाली भाषालाई हानि पुर्‍याउँछ । कतै खाल्डो छ भने त्यसलाई पुर्नुपर्छ । 

सिमाना राजनैतिक घेरा हो, भाषा भावनात्मक सम्बन्ध हो । भाषाका कारणले जोडिएका विश्ववासी नेपाली भाषीहरू सीमा र सिमानाका कारण टाढिनु राम्रो संकेत होइन । बलिया भाषाहरूले यस्तै बेलामा खेल्छन् र त्यसको अस्तित्व सिध्याउँछन् । पूर्वोत्तर भारतमा नेपाली कलाकारको ठूलो सम्मान हुन्छ । सिक्किम, दार्जीलिङदेखि आएका थुप्रै कलाकार, साहित्यकारहरूले नेपालको शिर उँचो बनाएका छन् ।

सीमाको विचारलाई नेपालबाहिर बस्ने नेपालीहरूको आधिकारिक विचार मान्नु मुर्खता हुनेछ । सीमाका वक्तव्य उनकै अल्पज्ञान ररोगी मनको नतिजा हो । त्यो सनकपूर्ण विचार हो अथवा यो शक्तिकेन्द्रको सुनियोजित प्रयास पनि हुन सक्छ । त्यतातिर पो ध्यान दिने त, कसो ?

प्रकाशित :असार १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्