विद्यालय (प्लस टु) मा छुट्टै प्राविधिक विषय

- युवराज गौतम

असार १६, २०७४-

एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू कस्तो विषय रोज्ने भन्ने दोधारमा हुन्छन् । व्यवस्थापन, मानविकी, साइन्स, शिक्षाजस्ता विषय विद्यार्थीको रोजाइमा परे पनि प्राविधिक विषयप्रति रुचि देखाउने विद्यार्थीको संख्या पनि निक्कै हुन्छ । यतिबेला साढे ४ लाख विद्यार्थी उच्च शिक्षाको खुड्किलो चढ्ने तयारीमा छन् । त्यसैले भविष्य कस्तो बनाउने भन्ने सन्दर्भमा विद्यार्थीहरू परामर्श लिन दौडधूप गरिरहेका पाइन्छन् । 

रुचि एवं क्षमताका आधारमा विषय रोज्नुपर्ने भएकाले विद्यार्थीहरूमा अन्यौलतासमेत देखिन्छ । कतिपय विद्यार्थीले एसईईमा जीपीए र ग्रेड नपुग्ने भएकाले प्राविधिक विषय पढ्न पाउँदैनन् । कक्षा १० मा प्राप्त गरेको ग्रेडका आधारमा कक्षा ११ मा प्राविधिक विषय रोज्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डका उप–नियन्त्रक उत्तमदेव विष्ट भन्छन्— निजी तथा सामुदायिक विद्यालयहरूमा केही वर्ष अघिदेखि सुरु भएका प्राविधिक विषयहरूमा ग्रेडकै आधारमा भर्ना लिने गरिएको छ । प्राविधिक विषयमा विद्यार्थीको चाप थामिनसक्नु छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभीटी)को अनुमति लिएर देशभर करिब ७६ सामुदायिक विद्यालय (प्लस टु) ले प्राविधिक विषय अध्यापन गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डकै 

पाठ्यक्रमका आधारमा पनि ८९ वटा विद्यालय (प्लस टु) मा प्राविधिक विषय अध्यापन भैरहेको छ । सिटिइभिटीको सुचना तथा अनुसन्धान महाशाखाका उप–निर्देशक मनोज शर्मा न्यौपाने भन्छन्— विद्यार्थीको क्षमता एवं ग्रेडका आधारमा गाउँ वा सहरमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूले रोजेको विषय पढ्न पाउँछन् । रोजेको प्राविधिक विषय पढ्न सबैतिर ढोका खुला छ । पोलिटेक्निक इन्स्टिच्युट, तालिम केन्द्र तथा अन्य शिक्षालयमा भर्ना हुने अवसर नपाए निजी तथा सामुदायिक विद्यालयहरू पनि प्राविधिक विषय अध्ययनका अब्बल गन्तव्य सावित हुन सक्छन् । 

परीक्षा बोर्डका प्राविधिक विषय 

प्लान्ट साइन्स : राम्रो स्कोप रहेको प्लान्ट साइन्स ११ र १२ कक्षामा पढाइन्छ । यसमा दुवै कक्षामा गरी १२ सय पूर्णाङ्कको पाठ्यक्रम अध्ययन गर्नुपर्छ । जसमध्ये ३ सय ८० पूर्णाङ्कको प्राक्टिकल छ । कक्षा ११ मा अंग्रेजी, फिजिक्स, केमेस्ट्री तथा बायोलोजी १/१ सय पूर्णाङ्कका हुन्छन् । कमर्सियल फ्रुट प्रोडक्सन एण्ड अर्किड म्यानेजम्यान्ट, फुड क्रप्स प्रोडक्सन एन्ड फुड सेक्युरिटी थप अंकका विषय हुन् । कक्षा १२ मा पनि नेपाली, फिजिक्स, केमेस्ट्री, बायोलोजी १/१ सय पूर्णाङ्कका हुन्छन् । प्लान्ट साइन्समा ११ र १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालयले भर्ना लिन्छन् । 

एनिमल साइन्स : यो विषयमा पनि ११ र १२ कक्षाका अधिकांश विषय उस्तै भए पनि केही विषय फरक छन् । अंग्रेजी, फिजिक्स, केमेस्ट्री, बायोलोजीबाहेक कमर्सियल गट फार्मिङ, एनिमल हाउजिङ, कमर्सियल पोल्ट्री फार्मिङका साथै १२ कक्षामा मिट साइन्स, एनिमल न्युरेसनजस्ता विषयहरू पाठ्क्रममा समावेश छन् । 

कम्प्युटर इन्जिनियरिङ: रोजगारीको उच्च सम्भावना रहेको यो विषय पनि ११ र १२ मा पढाइ हुन्छ । अंग्रेजी, फिजिक्स, केमेस्ट्री, म्याथम्याटिक्स, नेपाली तथा कम्प्युटर हार्डवेयर, प्रोगामिङ, डाटा कम्युनिकेसन एन्ड नेटवर्क, वेभ डेभलप्मेन्ट एन्ड डाटाबेसजस्ता विषय यो पाठ्क्रममा समावेश छन् । यो विषयमा १२ कक्षा उत्तीर्ण गरिसकेपछि थप अध्ययनका लागि विश्वविद्यालयहरूमा भर्ना पाइन्छ । 

सिभिल इन्जिनियरिङ : कक्षा ११ र १२ मा गरी जम्मा १२ सय पूर्णाङ्कको यो विषयमा २ सय ५० पूर्णाङ्कको प्राक्टिकल गर्नुपर्छ । अंग्रेजी, फिजिक्स, केमेस्ट्री तथा म्याथम्याटिक्स अनिवार्य पढ्नैपर्छ । त्यसबाहेक जिओ टेक्निकल, रोड कन्स्ट्रक्सन म्याटेरियल एन्ड टेस्टिङका साथै कक्षा १२ मा स्ट्रक्चरल एनालाइस एन्ड आरसीसी डिजाइन, मेन्टिनेन्सजस्ता विषय अध्यापन हुन्छन् । 

इलेक्ट्रिकल इन्जिनियरिङ : कुल १२ सय पूर्णाङ्कको यो विषयमा ३ सय पूर्णाङ्कको प्राक्टिकल अनिवार्य छ । यसमा अंग्रेजी, फिजिक्स, केमेस्ट्री, म्याथम्याटिक्सका साथै इलेक्ट्रिकल इन्टलेसन अफ कमर्सियल, कन्ट्रोल एन्ड प्रोटेक्सन अफ इन्डस्ट्रियल पावर सप्लाइ सिस्टमको पढाइ हुन्छ । कक्षा १२ मा नेपालीका साथै अपरेसन एन्ड मेन्टिनेन्स अफ माइक्रो हाइड्रो प्लान्ट, रिपियर एन्ड मेन्टिनेन्स अफ इलेक्ट्रिकल इक्विमेन्ट जस्ता विषयहरू पाठ्क्रममा समावेश छन् ।

सिटिइभिटीका प्राविधिक विषय

कृषि: सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको रोजाइमा पर्ने कृषिक्षेत्रका विभिन्न कोर्स उपलब्ध छन् । कृषि प्रविधि, बाली विज्ञान, पशु विज्ञान, जेटिए आदि विषय यसमा समेटिएका छन् । दुर्गम जिल्लाका विद्यालयहरूले अनुमति लिएर पढाइरहेका यी विषयमा कक्षा ११ र १२ का लागि पाठ्यक्रम तयार छ । टिएसएलसी र डिप्लोमाअन्तर्गतका यी विषय ताप्लेजुङको सिनाम उच्च मावि तथा कन्चनपुरको कृष्ण उच्च माविमा अध्यापन भैरहेको छ । सिटिइभिटीअन्तर्गत कृषि मात्र पढाइ हुने ७० वटा भन्दा वढी विद्यालय छन् । 

सिभिल : देशभरका विभिन्न सामुदायिक विद्यालयमा पढाइ भैरहेको सिभिल भित्र पनि विभिन्न विषय समाविष्ट छन् । सिमित कोटामा भर्ना गरिने इन्जिनियरिङ विधाको यो विषय मात्र पढाइ हुने विद्यालय १२ वटाभन्दा बढी छन् । धनकुटाको जाल्पादेवी उच्च मावि, पाख्रिबास तथा रोल्पाको बालकल्याण उच्च माविमा यो विषय अध्यापन भैरहेको छ । 

कम्प्युटर : गाउँका सामुदायिक विद्यालयहरूमा कम्प्युटरप्रति विद्यार्थीहरूको आकर्षण उस्तै छ । सिटिइभिटीअन्तर्गतका १८ भन्दा बढी विद्यालयमा यो विषय पढाइ भैरहेको छ । यसमा कम्प्युटर हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, प्रोगामिङ आदि विषय समेटिएका छन् । 

इलेक्ट्रिकल : इन्जिनियरिङ विधाअन्तर्गतको यो विषय पढाइ हुने विद्यालय सीमित छन् । सिटिइभिटीअन्तर्गतका ५ वटा सामुदायिक विद्यालयमा यो विषय पढाइ भैरहेको छ ।सप्तरीको पब्लिक विन्देश्वरी उच्च माविदेखि कैलालीको पञ्चोदय उच्च माविमा ४०/४० जनाको कोटामा यो विषयमा भर्ना लिने गरिएको छ । 

भर्नाको प्रावधान

एक वर्षअघिदेखि कक्षा ११ मा प्राविधिक विषय पढाइ हुन थालेको हो, तर सबै विद्यार्थीले यी विषय अध्ययन गर्ने अवसर प्राप्त गर्दैनन् । कक्षा ९ देखि प्राविधिक विषय पढेका विद्यार्थीले मात्र प्लस टुमा प्राविधिक विषय रोज्न पाउँछन् । प्राविधिक विषय पढेर एसईई दिएका विद्यार्थीले ११ र १२ मा सबैखाले विषय रोज्न पाउँछन् । विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, कम्प्युटर विज्ञान र गणित विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना लिन जीपीए २ ल्याउनुपर्छ । विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी र सामाजिक तथा नेपालीमा डी प्लस ल्याउनुपर्छ । त्यस्तै भोकेसनल समूहअन्तर्गत तथा एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियररिङ एवं कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जीपीए १.६ हुनैपर्छ । विज्ञान, गणित र अंग्रेजीमा न्यूनतम सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्छ । 

 

प्राविधिक विषयले गरिखान सक्ने बनाउँछ

​- उत्तम देव विष्ट, उप–नियन्त्रक , राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी

राष्ट्रिय परीक्षा बोर्ड तथा सिटिइभिटीको प्राविधिक विषयमा के फरक छ ? 

त्यस्तो धेरै भिन्नता छैन् । केही समयअघिसम्म कृषि प्राविधिकमा केही समस्या थियो, अहिले मिलिसकेको छ । प्राविधिक विषयले गरिखान सक्ने बनाउने भए पनि यसमा रुचि पनि उत्तिकै हुनुपर्छ भने मेहनत पनि प्रशस्त गर्नुपर्छ । 

प्राविधिक विषय पढाउन बोर्डबाट मान्यता पाएका विद्यालयहरू सक्षम छन् ? 

भौतिक संरचनाका हिसाबले सुविधा सम्पन्न नभएकाले केही कमी–कमजोरी त अवश्य छ, तर हामीसँग सक्षम एवं योग्य शिक्षकहरू हुनुहुन्छ । पाठ्यक्रम भरपर्दो र विश्वभर विक्ने किसिमको छ । यही 

पाठ्क्रमका आधारमा विद्यार्थीले आफूलाई विश्वधखबजारमा एडजस्ट गराउन सक्छन् । 

प्रयोगात्मक पक्ष कमजोर छ भनिन्छ नि ?

हामीसँग सिटिइभिटीको तुलनामा समय केही कम हुन्छ, तर प्रयोगात्मक परीक्षामा हाम्रा विद्यार्थीको नतिजा कमजोर छैन । यो विषय सम्बन्धित विद्यालयहरूको शैक्षिक प्रणालीमा पनि भर पर्न सक्छ । सैद्धान्तिक एवं प्रयोगात्मक दुवै रूपमा हामी कमजोर छैनौं । 

 

बोर्डले छात्रवृत्तिसम्बन्धी कार्यक्रम पनि ल्याएको छ ? 

कतिपय विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई आफ्नै तरिकाले छात्रवृत्ति दिन सक्छन् । हामीसँग छुट्टै छात्रवृत्ति बैंक शीर्षकको कार्यक्रम पनि छ । गत वर्ष विद्यार्थी भर्नाका आधारमा ३ प्रतिशत तथा निजीलाई आवेदनका आधारमा २ प्रतिशत छात्रवृत्ति दिने कार्यक्रम लागू छ ।

 

प्रकाशित :असार १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्