प्राविधिक शिक्षामा नेपालमै पीएचडी (विद्यावारिधि) गर्न पाइनेछ

- साप्ताहिक संवाददाता

असार १५, २०७४-

एसईईमा जीपीएस प्रणाली लागू भएपछि सिटिइभिटीमा के–कस्ता नयाँ कार्यक्रम आएका छन् ? 

बर्सेनि नयाँ कार्यक्रम थपिने क्रममा छन् । हामीसँग एउटा नयाँ प्रोजेक्ट छ । नेसनल भोकेसनल क्वालिफिकेसन सिस्टमको फ्रेमवर्क बन्दैछ । यसअन्तर्गत लेभल १ देखि लेभल ८ सम्मका कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ । प्राविधिक शिक्षा हासिल गर्न चाहनेहरूले जीपीएस प्रणालीसँग आत्तिनु पर्दैन । सिटिइभिटी अन्तर्गतका सबै खालका कोर्स गर्न सबै स्तरका विद्यार्थीका लागि ढोका खुला छ । यसका लागि निश्चित प्रक्रिया र मापदण्डचाहिँ पूरा गर्नैपर्छ । सबै ग्रेडका विद्यार्थीले फरक–फरक कोर्समा भर्ना लिन पाउँछन् । प्लस टुमा भर्ना हुन सकिएन भनेर निराश हुनु पर्दैन ।

प्राविधिक शिक्षामै पीएचडी (विद्यावारिधि) को कार्यक्रम कहाँ पुग्यो ? 

पीएचडीसम्मको कार्यक्रम सन् २०२५ भित्र सुरु भैसक्छ, यसमा कुनै दुविधा छैन । यतिबेला सरकारले राष्ट्रिय स्तरमा ऐन बनाउने काम गरिरहेको छ । चार वर्षभित्रमा ऐनको काम सकिन्छ । सन् २०१९ सम्ममा ऐन बनिसक्ने र त्यसपछिका चार वर्षभित्र त्यसलाई सञ्चालनमा ल्याइनेछ । सुरुमा दुईवटा विषयमा मात्र पीएचडीको कार्यक्रम ल्याइनेछ भने त्यसपछि क्रमश: थप गर्दै लगिनेछ । 

सामुदायिक स्कुलमा पढाइ भैरहेका प्राविधिक शिक्षा एवं सिटिइभिटीको कोर्समा के भिन्नता छ ? 

सैद्धान्तिक विषयमा त्यति धेरै भिन्नता छैन । पाठ्यक्रम, परीक्षा प्रणाली, भर्नाको प्रावधान लगभग उस्तै हो । स्कुल अर्थात् प्लस टुमा पढाइ भैरहेको प्राविधिक विषयको प्रयोगात्मक ज्ञान हासिल गर्न पर्याप्त समय छैन तर हामीसँग प्रशस्त समय छ । हामी सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिन्छौं । 

 

देश संघीय प्रणालीमा गैसकेको छ, संघीयतामा सिटिइभिटीको योजना कस्तो छ ? 

सिटिइभिटीलाई पनि हामी संघीय प्रणालीअनुरूप नै सञ्चालन गर्छौं । सातवटा प्रान्तमा सातैवटा सिटिइभिटीका केन्द्र स्थापना गर्ने तयारी भैरहेको छ । केन्द्रमा रहेका कर्मचारी तथा केही नयाँ दरबन्दी कायम गरेर सातवटै प्रदेशका कार्यालयलाई व्यवस्थित बनाएर प्राविधिक शिक्षा गाउँस्तरसम्म पुर्‍याउने काम हुनेछ ।

सिटिइभिटीबाट प्राविधिक कोर्स गरेका विद्यार्थीहरूले रोजगारी प्राप्त गरिरहेका छन् ?

हाम्रा करिब ८० प्रतिशत विद्यार्थीले रोजगारी प्राप्त गरेको अवस्था छ । विदेशमा गएर पनि राम्रो रोजगारी प्राप्त गरेको नमुना हामीसँग छन् । लगनशील एवं जागरूक हुने हो भने प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले बेरोजगार बस्नु पर्दैन ।

 

प्रकाशित :असार १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्