छोरो

- अधिकारी रवीन्द्र

असार १४, २०७४- 

चारैतिरबाट आवेदनहरू आउन थाले । सबै आवेदनको मूल अभिप्राय उही थियो– छोरो जन्माउनुपर्ने । ती आवेदनको अन्तिमतिर सुझावस्वरूप छोरो कस्तो हुनुपर्ने भनेर लेखिएको हुन्थ्यो । सबैका आ–आफ्नै फर्माइस थिए । सबै बुँदालाई ख्याल गरेर मैले वैचारिक छोराको पूर्ण खाका यसरी तयार गरें ।

छोरो निष्कृय हुनु हुँदैन । छोरो सकारात्मक हुनुपर्छ । छोरो उत्साह र जाँगरको पर्यायवाची हुनुपर्छ । छोरो भविष्य हुनुपर्छ, हो पनि । एक महिनामा ३० दिन हुन्छ भने छोराको दाँत त्यस्ता सग्ला ३० दिन हुनुपर्छ जुन बन्द, हड्ताल र चक्काजामको चपेटामा नपरोस् ।

छोराको झाङ्गिएको बाक्लो केश होस् जहाँ एउटा केशको रौंले छोराको एक हप्ताको आयुलाई प्रतिविम्बित गर्नेछ । छोराको दुई हात जसरी ठ्याक्कै बराबर हुन्छ त्यसैगरी छोराले पैसा र इमान्दारिता, स्वार्थ र परोपकारितालाई हेर्ने नजर बराबर होस् । छोराका पाँच औंलाले जसरी उसलाई कसैगरी छोड्दैनन्, त्यसैगरी पञ्च इन्द्रियले पनि नछोडून् । ती औंला शरीरको एक डेढ मिटरभन्दा पर पुग्दैनन् । हो, उसको पञ्च इन्द्रिय पनि त्यसैगरी ऊप्रति बफादार हुन् । आफ्नो धर्म र सीमा तीनले कहिल्यै नबिर्सून् ।

हामी पनि आफ्ना बाबाहरूका छोरा हौं, बाबाहरू पनि हजुरबाबाहरूका छोराहरू हुन् । जसरी आज हिजोको छोरा हो  भने हिजो अस्तिको । म भोलि अर्थात् आजको छोराका बारेमा चर्चा गर्दैछु । छोरो तेजस्वी होस्, भेद्य–अभेद्य परख गर्न सकोस् । वैदिक ज्ञान होस्, चाणक्य शैली होस् । अर्जुन दृष्टि होस् । छोरो मर्दा सपूत कहलियोस्, छोराले अनगिन्ती छोराका आत्मामा आश भरोस्, जीवनमा श्वास भरोस् । छोरो हठी होइन, क्रूर होस्, अवस्थामा दयावान पनि हुन सकोस् । निर्णयमा आवेगलाई फोहोर जसरी मिल्काओस् । तीनवटा चार उसको दृष्टि क्षेत्रको ब्लाइन्ड स्पटमै परोस– भ्रष्टाचार, व्यभिचार, अत्याचार । बाँकी तीन–चार उसको व्यक्तित्वको परिचायक बनोस्– सदाचार, शिष्टाचार, लोकाचार । उन्नति र प्रगतिका आयामहरूलाई पहिल्याउँदै जाँदा खुड्किलाहरूलाई कहिल्यै नबिर्सोस् । उसका शब्दकोशमा आश्वासन नहून्, बल्कि उत्तरदायित्व हुन् ।

छोराको मनमा भित्र–भित्रै सौहार्दताको टुसो अंकुराएको हुनुपर्छ, आफू हाँसेर जगलाई हँसाउने ल्याकत हुनुपर्छ । छोराले छोराप्रतिको आषालाई ओइल्याउन दिनु हुँदैन । छोरो प्राप्तिपछि अब फेरि आशाका घाम नातिका काँधभरि बिछ्याउन नपरोस् । त्यो छोरो, तमाम छोराहरूको आदिम र अन्त्य होस् अर्थात् छोरो सम्पूर्ण पर्खाइहरूको विश्राम होस् ।

अब एउटा पार्थीव छोराका लागि अधिष्ठान गर्नु छ । वैचारिक छोरालाई त्यसमा इन्स्टल गर्नु छ । देशले, इतिहासले, संविधानले जन्माउन नसकेको छोरालाई अब हामीले आफैंबाट जन्माउनु छ । राष्ट्रको सिंहासनमा बसेर रथ हाँक्न सक्ने कुशल सारथि छोरो जन्माउने क्रान्तिको बिगुल हामी आफैले फुक्नु छ । त्यो छोरो हामीभित्रकै, हामीहरूमध्ये कोही हो । 

प्रकाशित :असार १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्