आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना हुने

- साप्ताहिक संवाददाता

असार १३, २०७४

 

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा यही असार १७ देखि १९ गते सम्म भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ । 

आदिवासी जनजाति चलचित्र महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तीन दिने महोत्सवमा विभिन्न आदिवासी समुदायको १८ वटा फिचर, वृत्तचित्र र चलचित्र प्रदर्शन गरिने कुरा आयोजकले जनाएका छन् । महोत्सवमा गुरुङ समुदायबाट ५, राई, मगर र नेवारबाट २/२ वटा र माझी, मुगाल, राजवंशी, नागा, लिम्बु, थारु र तामाङ समुदायबाट १/१ वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो । महोत्सवमा प्रदर्शन गरीने चलचित्र मध्ये एउटालाई २५ हजार रुपैंया राशि सहित पब्लिक च्वाइस अवार्ड प्रदान गरीने र महोत्सवमा प्रदर्शन गरीएका अन्य सबै चलचित्रहरुलाई प्रोत्साहन पुरस्कार स्वरुप ५ हजार नगद प्रदान गरीने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले नीतिगत समस्याको मारमा परेर आदिवासी जनजाति चलचित्रको विकास हुन नसकिरहेको बताउनु भयो । सुनुवारले राज्यको चलचित्र सम्बन्धि नीति आदिवासी जनजाति अनुकुल नभएको अवस्थामा आफुहरुले छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्डको माग गर्दै आएको पनि जानकारी दिनुभयो । महोत्सवका संयोजक युवराज मास्कीले जनजाति चलचित्रको विकास, संरक्षण र सम्वद्र्धनका लागी महासंघ मार्फत आफुहरुले गर्दै आएको संघर्षकै निरन्तरता स्वरुप चलचित्र महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।

प्रकाशित :असार १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्