के पढ्ने, के बन्ने ?

- अविरल थापा

असार १२, २०७४-
 

स्कुले शिक्षाको कोसेढुंगा मानिने एसईईको परीक्षाफल प्रकाशित भएको छ । क्याम्पस जीवनमा प्रवेश गर्न लागेका धेरै विद्यार्थीमा भविष्यमा के बन्ने र कुन विषय पढ्ने भन्ने अन्यौलता रहन्छ । कतिले चाहिं यही विषय पढ्छु भन्ने अठोट गरेका हुन्छन् भने कतिपय अभिभावकमा छोराछोरीले यो विषय पढिदिए हुन्थ्यो भन्ने चाहना पनि हुन्छ । 

यति बेला साथीभाइको लहैलहै र अभिभावकको दबाबमा गलत विषय रोज्ने जोखिम उच्च हुन्छ । यस्तो परिस्थितमा आफ्नो रुचि र क्षमताको विषयलाई लिएर खुलस्त कुराकानी गर्नुपर्छ । आफ्ना सन्तान कुन विषयमा अब्बल छन् त्यहीअनुरूपको विषय रोज्न दिए उनीहरू पढाइमा पनि रमाउँछन् । साथीले विज्ञान पढ्यो, म पनि पढेर देखाउँछु भनेर अरुचि भएको विषय पढ्नु हुँदैन । मेरा छोराछोरीलाई डाक्टर–इन्जिनियर नै बनाएर छाड्छु भनेर जबरजस्ती आफ्नो विचार लाद्नु पनि हुँदैन । जुनसुकै विषय पढे पनि पैसा र नाम कमाउन सकिन्छ । जुनसुकै विषयमा आफैलाई अब्बल सावित गर्न सकिन्छ । परीक्षामा राम्रो अंक ल्याउँदैमा व्यवसायिक र व्यवहारिक जिन्दगीमा सबै उत्तीर्ण नै हुन्छन् भन्ने हुँदैन । पढाइ एउटा पाटो हो भने वृत्तिविकासका लागि अन्य सीप सिकेर पनि जीवन हराभरा हुन सक्छ । पढाइमा केवल उत्तीर्ण मात्र हुने मानिसले पनि अन्य सीपमूलक काम गरेर उत्कृष्ट अंक ल्याउनेको भन्दा बढी कमाइ गर्न सक्छन् । छोराछोरीको रुचि एवं लगनशीलता संगीतमा हुन सक्छ, खेलकुदमा हुनसक्छ । आजको भँमण्डलीकरणको युगमा जेमा लागेर पनि संसारको जुनसुकै कुनामा गएर आफ्नो प्रतिभाको माध्यमद्वारा आफैलाई स्थापित गर्न सकिन्छ । आफैले भनेको बाटो नहिंड्दैमा छोराछोरी गन्तव्यमा पुग्दैनन् भन्ने होइन । 

अर्को कुरा, कति अभिभावकमा महँगो स्कुल–कलेजमा पढाए राम्रो हुन्छ भन्ने भ्रम हुन्छ । मेहनती र लगनशील विद्यार्थीले जहाँ पढे पनि प्रगति गर्छ । अरूको देखासिकी गरेर आफँलाई थप आर्थिक भार थप्ने धृष्टता अभिभावकले पनि गर्नु हुँदैन । अहिले कम अंक ल्याएको विद्यार्थीले अबको परीक्षामा मेहनत थप गरेर राम्रो अंक ल्याउन सक्छ भने अहिले उत्कृष्ट भनिएकाले पछि खराब प्रदर्शन गर्न सक्छन् । अभिभावकले आफ्ना छोराछोरी कुन मार्गमा लागिरहेका छन् भनेर चलाखीपूर्वक निगरानीचाहिं गरिरहनुपर्छ र आवश्यक परे लगाम पनि लगाउनुपर्छ तर हरेक कुरामा हस्तक्षेप अनि नियन्त्रण चाहिँ गर्नु हुँदैन । 

अभिभावक एवं छोराछोरीहरूले राम्रोसँग छलफल गरी आफ्नो गच्छेअनुसारको उपयुक्त कलेज र विषयको छनौट गर्नु बुद्धिमानी हुन्छ । अर्को कुरा स्कुले जीवनमा अलि बढी अनुशासन र नियमको घेरामा बाँधिखएर बसेका विद्यार्थीहरूलाई कलेजको जीवन अलि स्वतन्त्र र नौलो लाग्छ । गाउँबाट सहरमा पढ्न आउनेहरूलाई त अझ यहाँको रमझम र जीवनशैलीले अल्झाएर ध्यान नै अन्त नमोड्ला भन्न सकिँदैन । आफु कुन उद्देश्यका लागि सहर आएको र आफ्नो कर्तव्य के हो भन्ने प्रश्न विद्यार्थीहरूले प्रत्येक दिन आफैसँग सोधिरहनुपर्छ । शिक्षक एवं अभिभावकले पढ्न गए–नगएको र पढाइमा समय दिए–नदिएको हेक्का राखिरहनुपर्छ । असल संगतले प्रेरणा दिन्छ भने गलत संगतले भड्खालोमा हाल्छ । कलेज जीवनमा केटाकेटी एक–अर्काप्रति आकर्षित हुने, लहैलहैमा धूमपान तथा मद्यपानमा लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । प्रेम गर्नु आफैंमा नराम्रो होइन, तर त्यसले अध्ययनमा असर गर्न थाल्यो भने वितृष्णा उत्पन्न हुनसक्छ । आप्mनो मुख्य काम पढाइ तथा सीप विकासमा लगाएर सचेतपूर्वक कर्म गरे आफ्नो लक्ष्यमा अग्रसर हुन सकिन्छ । 

अहिले भविष्य निर्माणको जग हाल्ने बेलामा ध्यान दिइएन भने पछि जीवनको सुनौलो धुरी हाल्न सकिँदैन । के पढ्ने हो, के बन्ने हो, लहैलहैमा नलागी आफैंसँग धेरैपल्ट सोधेर निर्णय गरौं । परीक्षामा अंक धेरै–थोरै आउला, तर अहिलेको गल्तीले जीवनको मार्कसिट नै केरमेटचाहिं नहोस् । Facebook.com/abeeralthapa
Twitter@abeeralthapa

प्रकाशित :असार १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्