असार १४ का लागि मतदाता शिक्षा

- मनोज गजुरेल

असार ११, २०७४-

मध्य असारमा दोस्रो चरणको निर्वाचन हुँदैछ । यस्तो बेला चुनाव हुँदैछ जतिबेला किसानहरू रासनको बन्दोबस्तमा लागेका हुन्छन् । ब्याड, बीउ, हलो, गोरु, कुटो, कोदालोलाई अध्यधिक बहुमतले जिताउनुपर्ने बेलामा राम्रा उम्मेदवार चयन गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ ।

गजुरियल विश्लेषक भन्छ, यति बेला मतदातालाई भोट हाल्ने तरिका होइन, भोट हाल्ने ठाउँसम्म पुग्ने तरिका सिकाउनु जरुरी छ । किनभने असार १४ गते भनेको भोकलाई अत्यधिक बहुमतले जिताउन खेतसँग लड्ने समय हो, भोट हाल्ने बेला होइन ।

आउनुहोस्, यसै विषयमा गजुरियल विश्लेषण गरौं ।

हामीले होइन भनेर के गर्नु, सरकारले खेतपाती गर्नुपर्दो रहेनछ । भोट नहालौं भने बल्ल–बल्ल आएको निर्वाचन, हालौं भने निर्वाचनजस्तै ठूलो खेतीपातीको बेला छ । त्योभन्दा पनि खतरा मौसमको च्यालेन्ज हुन्छ । त्यसैले असार १४ को निर्वाचन जनताका लागि खाउँ भने दिनभरिको सिकार, नखाऔं भने कान्छा बाबुको अनुहार हुने गजुरियल ठम्याइ छ ।

यद्यपि भोट त दिनु नै छ, दिनैपर्छ । यसो भनेर जबर्जस्ती गर्ने क्रममा जनताको तत्कालीन समस्यालाई पनि बिर्सन सकिँदैन । किनभने असार १४ भनेको मध्यवर्षाको समय हो ।

त्यो दिन जनताले डबल रोल खेल्नुपर्ने गजुरियल ठम्याइ छ । एकातिर प्रकृतिसँग जुझ्नुपर्ने, अर्कातिर चुनावमा सहभागी पनि हुनुपर्ने । गजुरियल विश्वास छ, त्यो दिन जनताले आफ्नो डबल रोल सुन्दर ढंगले निर्वाह गर्नेछन् । 

बाढी–पहिरोसँग लड्नुपर्ने बेलामा चुनाव पनि लड्नुपरेको छ । खोलानाला, हलो, गोरु, बीउ, ब्याडसँगै अध्यक्ष, उपाध्यक्ष, वडासदस्य पनि खोज्नुपरेको छ । गाउँलाई असल नेता पनि चाहिने र घरलाई राम्रो बाली पनि आवश्यक पर्ने अवस्था छ । 

तैपनि मतदान त गर्नु नै छ ।

धेरैको अनुमान छ, यो भोट गर्ने बेला होइन, बीउ छर्ने बेला हो । म पनि यही भन्छु, मानो छरेर मुरी भित्र्याउने बेलामा चुनाव गरेर सरकारले किसानमाथि अन्याय गरेको छ, तर अन्याय त भै नै सक्यो, जनताले चाहिं यसलाई अवसरका रूपमा लिनुपर्ने गजुरियल ठम्याइ छ ।

चुनाव पनि त एकखालको खेती–किसानी नै हो । राम्रो नेता खोज्नु भनेको ब्याड बनाउनु हो । भोट खसाल्नु भनेको बीउ छर्नु हो । भोट गन्नु भनेको गोडमेल गर्नुे हो । परिणाम आउनु भनेको बाली भित्र्याउनु हो ।

खेतीका लागि राम्रो बीउ खोजिएन भने बाली बिग्रन्छ, असल नेतृत्व पहिचान गरिएन भने गाउँ बिग्रन्छ । मलजल भएन भने बालीमा कीरा लाग्छ, सचेत भइएन भने टोलको नेतृत्व खराब हुन्छ । घाम–पानीबाट बचाइएन भने घरमा खडेरी पर्न सक्छ, भ्रष्टाचारबाट जोगाइएन भने गाउँको नेतृत्व खराब व्यक्तिको कब्जामा पर्न सक्छ ।

त्यसैले जति व्यस्त भए पनि असार १४ लाई नै खेती सम्झनुपर्ने गजुरियल बुझाइ छ ।

असार १४ गते भनेको झन्डै १५ गतेजस्तै हो । प्रकृतिले आफ्नो रूप परिवर्तन गरेन भने भन्न सकिँदैन, त्यो दिन झरीले कति मतपत्र भिज्छन् । हुरीले कति मतदान केन्द्र उडाउँछन् । बाढी–पहिरोले कुन–कुन केन्द्र कब्जा गर्छ ।

यति हुँदाहुँदै पनि त्यो दिन भोट त हाल्नैपर्छ । किनभने वर्षाको डरले हामी भोट हाल्न गएनौं भने त्योभन्दा डरलाग्दो 

उम्मेद्वारले जित्न सक्छ । झरीको डरले घरमै बस्यौं भने हाम्रो गाउँमा झरीभन्दा मनपरी बढ्न सक्छ ।

प्रकाशित :असार ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्