साख बचाउने र भत्काउने प्रतिस्पर्धा

- दुर्गालाल केसी

असार ११, २०७४

 

स्थानीय तहको निर्वाचनमा दाङमा पुरानो साख जोगाउन र भत्काउन ठूलो प्रतिस्पर्धा भैरहेको छ । २०७० को संविधानसभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले स्थानीय तहमा पनि जित हासिल गर्ने तयारी गरेको छ भने पहिलो चरणको स्थानीय तहको चुनावमा पहिलो पार्टी बनेको एमालेले पुरानो स्थिति भत्काउने प्रयत्न गरिरहेको छ ।

२०६४ को संविधान सभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको माओवादीले पनि पुरानो ठाउँमा फर्कन ठूलै मेहनत गर्नुपर्नेछ । जिल्लामा तीन मुख्य दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । अन्य साना दलले पनि यो निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, माले, नयाँ शक्ति, माओवादी (क्रान्तिकारी) पनि उम्मेदवार तय गरेर चुनावमा होमिएका छन् । कांग्रेसका उम्मेदवार छनौटमा खुमबहादुर खड्काकै प्रभाव देखिएको छ । घोराही र तुलसीपुरका मेयरका उम्मेदवार उनकै पक्षका छन् ।

घोराही उपमहानगरपालिका

जनसंख्या १ लाख ५६ हजार १ सय ६४
क्षेत्रफल  ५ सय २२ दशमलव २१ वर्गकिलोमिटर
मतदाता ७८ हजार ४ सय २७
वडा १९
जनप्रतिनिधि १ सय
मतदानस्थल ३९
मतदान केन्द्र ९४

घोराही र तुलसीपुर उपमहानगरपालिकामा नै सबै दलको ध्यान केन्द्रित भएको छ । कांग्रेसबाट घोराहीमा भूपबहादुर डाँगी, एमालेबाट नरुलाल चौधरी र माओवादी केन्द्रबाट जीवन गौतम उम्मेदार हुँदैछन् । कांग्रेस नेता डाँगी खुमबहादुर खड्का निकट हुन् । उनी अहिले क्षेत्रीय सभापति छन् । एमालेका चौधरी एमाले पूर्वजिल्ला अध्यक्ष तथा २०५४ मा रामपुर गाविसको निर्वाचित अध्यक्ष हुन् । गौतम माओवादी केन्द्रको दाङ इञ्चार्ज हुन् । घोराहीमा थारु समुदाय र घोराही बजारको भोट तान्न सक्ने उम्मेदवारले विजय हासिल गर्ने आँकलन गरिएको छ । राजनीतिक रूपमा चौधरी र गौतम अघि भए पनि डाँगी आर्थिक हैसियत राम्रो भएका मानिन्छन् । कांग्रेसले यसअघि चर्चामा रहेका कमलकिशोर घिमिरे र बिरकेशरी गौतमको साटो डाँगीलाई उम्मेदवार बनाएकाले यसले चुनावमा प्रभाव पार्ने कार्यकर्ताको गुनासो छ ।

घोराही उपमहानगरपालिकामा राप्रपाबाट हिन्दु विद्यापीठ घोराहीका प्राचार्य भोलानाथ योगी, नयाँ शक्तिबाट जगत पुन, राजमोबाट रामबहादुर घर्ती, मालेबाट नेत्रप्रकाश पाण्डे तथा माओवादी क्रान्तिकारीबाट सुशीला आचार्य उम्मेदवार हुँदैछन् ।

तुलसीपुर उपमहानगरपालिका

जनसंख्या १ लाख ४१ हजार ५ सय २८
क्षेत्रफल ३ सय ८४ दशमलव ६३ वर्गकिलोमिटर
मतदाता ७६ हजार ८ सय ९३
वडा १९
जनप्रतिनिधि १ सय
मतदानस्थल ३३
मतदान केन्द्र ८८

तुलसीपुरमा कांग्रेसबाट गेहेन्द्र गिरी, एमालेबाट घनश्याम पाण्डे तथा माओवादीबाट सेशुराम भण्डारीले प्रतिस्पर्धा गर्दैछन् । गिरी पूर्व सांसद् हुन् । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष भएर राष्ट्रिय तहमा स्थान बनाएका पाण्डे बलिया उम्मेदवार मानिन्छन् । तुलसीपुरमा राजमोबाट शुक्रराज भण्डारी एवं मालेबाट तेजबहादुर शाहले उम्मेदवारी दिँदैछन् । तुलसीपुरमा एमालेका पाण्डेको राम्रो प्रभाव देखिन्छ । २०५४ का उपमेयर पाण्डेको अहिले प्रमुखमा जित्ने सम्भावना बलियो देखिन्छ । तुलसीपुर कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीको राम्रो प्रभाव भएको क्षेत्र भए पनि उम्मेदवार चयन भएका गिरी उनका विरोधी मानिन्छन् । जसको प्रभाव चुनावमा पर्ने आँकलन गरिएको छ ।

निर्वाचनमा कतिपय पूर्व जनप्रतिनिधिहरू नै फेरी उम्मेदवार भएका छन् भने कतिपय युवा पुस्ता पनि देखिएका छन् । राप्रपाबाट गायिका कोमल ओली तुलसीपुर उपमहानगरपालिकाको मेयरमा लड्ने चर्चा छ । ओली चुनाव लड्ने कुराले बजारमा राम्रै चर्चा पाएको छ । उपमहानगरपालिकामा कांग्रेस, एमाले तथा माओवादी केन्द्रले आफूले जित्ने दाबी गरिरहेका छन् । २०५४ मा जितेका नगरपालिका अहिले पनि जित्ने एमालेको दावी छ भने यसअघिका संविधानसभा निर्वाचन जितेका कांग्रेस तथा माओवादी पनि आफ्नो जितको दाबी गरिरहेका छन् ।

प्रकाशित :असार ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्