ओलीको गृहनगरमा पुरानाविरुद्ध नयाँ पुस्ता

- पर्वत पोर्तेल

असार १०, २०७४- 

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको मेयरका लागि पुरानाविरुद्ध नयाँ उम्मेदवारबीचको भिडन्त रोचक बन्ने देखिन्छ । यहाँ मूलत: चारपक्षीय भिडन्त हुने बताइन्छ । एमाले र राप्रपाले पूर्वमेयरहरू क्रमश: रोमनाथ ओली र राम थापालाई चुनावी मैदानमा उतारेका छन् । कांग्रेस र माओवादीले भाइ पुस्ताका नेतालाई अवसर दिएका छन् । दमकमा कांग्रेसका ढुण्डीराज भण्डारी तथा माओवादी केन्द्रका रेवतराज (गगन) पुरी मैदानमा छन् । 

रोमनाथ २०५४ सालको निर्वाचनमा मेयर पदमा विजयी भएका थिए । दमक नगरपालिकाको चुनावमा भिड्न लागेका दुई अनुहार एमालेका रोमनाथ ओली र राप्रपाका महामन्त्री समेत रहेका राम थापा पुराना अनुहार हुन् भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएका गगन पुरी एवं नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका ढुन्डीराज भण्डारी नयाँ अनुहार हुन् । राप्रपाले उम्मेदवार बनाएका राम थापा शाही शासनकालका टीके मेयर पनि हुन् । राजावादीको छवि बनाएका थापालाई तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष शासनकालमा दमकको मेयर बनाएका थिए । राप्रपाको सह–महामन्त्रीसमेत रहेका थापा आफूलाई दमकवासी जनताले लामो समयदेखि विश्वास गरेको बताउँछन् । 

माओवादी केन्द्रका उम्मेदवार रेवतराज (गगन) पुरी गत चैततिरै उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटेका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरीले २२ वर्षदेखि अलपत्र रहेको दमकदेखि पाँचथरको रवि–चिसापानीसम्मको फाल्गुनन्द मार्गको निर्माणलाई सुचारु गर्ने र करिब २ वर्षभित्रै कालोपत्रे गर्ने बताएका छन् । कांग्रेसले मेयरको उम्मेदवार बनाएका ढुन्डीराज भण्डारी दमक नगरका पूर्व पार्टी सभापति पनि हुन् ।

दमक नगरपालिका

 

जनसंख्या

७९ हजार ६ सय ४८

क्षेत्रफल

७५ दशमलव ८५ वर्गकिलोमिटर

मतदाता

४६ हजार ५ सय २३

वडा

१०

जनप्रतिनिधि

५५

मतदानस्थल

१९

मतदान केन्द्र

५५

 

प्रकाशित :असार १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्