विराटनगरमा तीन दलबीच भिडन्त

- अनिल श्रेष्ठ

असार ९, २०७४- ऐतिहासिक तथा औद्योगिक नगरी विराटनगर अहिले शिक्षा एवं स्वास्थ्यको नयाँ हबका रूपमा विकसित हुँदैछ । हालै विराटनगरलाई महानगर पनि घोषणा गरिएको छ । महानगर घोषित भएसँगै विराटनगर सबै दलको विशेष चासोको क्षेत्र बनेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको चर्चा अहिले विराटनगरमा ह्वात्तै बढेको छ । मुलुककै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङको यो नगरमा भएका पछिल्ला दुईवटा गठबन्धनले चुनावी वातावरणलाई एकाएक तताएका छन् ।

नेकपा माओवादी र संघीय समाजवादी फोरम तथा नेकपा एमाले र फोरम लोकतान्त्रिकबीचको गठबन्धनले एकलौटी प्रतिस्पर्धा गर्ने र जित निकाल्ने दाबी गर्दै आएको कांग्रेसमाथि दबाब परेको छ ।

मेयरमा एमालेका विनोद ढकाल तथा उपमेयरमा लोकतान्त्रिककी सूची चौधरीको उम्मेदवारी छ भने कांग्रेसका तर्फबाट मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) चुनावी मैदानमा छन् ।

निर्वाचनका लागि मनोनयन दर्ता हुनुभन्दा एक दिनअघि रातको २ बजेसम्म चलेको छलफलले माओवादी र संघीय समाजवादी फोरमबीच अर्को तालमेल तयार गरेको थियो । तालमेलअनुसार फोरम नेपालबाट मेयरमा उमेश यादव तथा उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपाने (पोखरेल) चुनावी मैदानमा छन् । राप्रपाले भने मेयरमा प्रल्हाद साह तथा उपमेयरमा शोभा श्रेष्ठलाई एकल रूपमा अगाडि सारेको छ । 

कांग्रेसबाट मेयरका उम्मेदवार पराजुली विराटनगरमा विद्यार्थी राजनीतिबाटै पहिचान बनाएका व्यक्तित्व एवं पार्टी नगर सभापति हुँदै विभिन्न संघसंस्थामा आबद्ध भएकाले बलिया उम्मेदवार मानिन्छन् । फोरमसँग तालमेल गर्दै एमालेका तर्फबाट मेयरका उम्मेदवार ढकाल मोरङ एमालेका अध्यक्ष हुन् भने माओवादीसँको एलाइन्सबाट मेयरका उम्मेदवार यादव संघीय समाजवादी फोरम, मोरङका पूर्वअध्यक्ष हुन् ।

नेपाली कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिने विराटनगरमा २०५४ सालको स्थानीय निर्वाचन एमालेले जितेको थियो । एमाले विराटनगरमा फोरम लोकतान्त्रिकसँग तालमेल गरेर आफ्नो इतिहास दोहोर्‍याउने दाउमा छ । नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएर इतिहास रच्ने सोचका साथ अघि बढिरहेको छ । पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिइरहेको नेकपा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग एलाइन्स गरेर बिजयी हासिल गर्ने दाबी गरेको छ ।

विराटनगरसँग जोडिएका मोरङका तीनवटा चुनाव क्षेत्र ५, ६ र ७ मा २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले तथा २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेका थिए । विगतको स्थितिमा गुणात्मक फेरबदल आएन भने विराटनगरमा मधेसी मतदाताको भूमिका निर्णायक हुने अनुमान स्थानीय बासिन्दाहरूले गरेका छन् ।

मेयरमा १४, उपमेयरमा १०
विराटनगर महानगरपालिकाको मेयर पदका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रसभागृहमा आइतबार भएको मनोनयनका क्रममा ७ जना स्वतन्त्रसहित १४ जनाले मेयरमा तथा ५ जना स्वतन्त्रसहित १० जनाले उपमेयरमा नाम दर्ता गराएका हुन् । 

समृद्धि महानगर : चुनावी एजेन्डा
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यी सबै दलले समृद्ध नगर निर्माणलाई आफ्नो मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । विराटनगरलाई समृद्ध महानगर बनाउनेदेखि सडक सञ्जाल विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, पर्यटन, आर्थिक विकास, प्रदर्शनी स्थलको निर्माण तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई सबै दलका उम्मेदवारले आ–आफ्नो चुनावी एजेन्डामा समेटेका छन् ।

विराटनगर महानगरपालिका

प्रकाशित :असार ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्