लोकप्रिय हुँदै एउटी गायिका

- कृष्ण भट्टराई

असार ७, २०७४-

‘खनी हो यामु ए कान्छा...’ गीत लोकप्रिय भएपछि गायिका तृष्णा गुरुङ नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छिन् । उक्त गीतको अघिल्ला चार–पाँच शब्द गुरुङ भाषामा छ भने श्रोताहरूले गायिका गुरुङलाई ‘म पनि जान्छु हे माया’ गीतकी गायिकाका रूपमा समेत चिन्छन् । यो गीतमा गायिका गुरुङको स्वर मात्र होइन, शब्द तथा संगीत पनि उनकै छ । लोक–पप शैलीको उक्त भिडियोले युट्युबमा राम्रो दर्शक पाएको छ ।

करिब छ महिनाअघि गायिका गुरुङले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको उक्त गीत हालसम्म झन्डै साढे ३ लाख पटक हेरिएको छ । त्यसअघि अघिल्लो वर्षको अक्टोबरमा उनले अपलोड गरेको ‘गाइने दाजै...’ भने युट्युबमा झन्डै साढे २० लाख पटक हेरिएको छ ।

आधा दशकअघि मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका गुरुङले यो अवधिमा थुप्रै गीत गाइसकेकी छिन् । तीमध्ये अधिकांश गीत श्रोताले मन पराएपछि उनी युवापुस्ताको ढुकढुकी बन्न सफल भएकी छिन् । संगीतको औपचारिक प्रशिक्षण बिना नै गायिका बनेकी गुरुङ पछिल्लो समय भने संगीतको प्रशिक्षणमा समेत सक्रिय छिन् । आफ्ना गीतमा गाउँले रहनसहनलाई फरक शैलीमा प्रस्तुत गर्ने यी गायिकाको कलालाई श्रोताहरूले मौलिकताका आधारमा पनि मन पराएका हुन् ।

अहिले लाइभ कन्सर्टमा समेत उनको माग छ । हालसम्म हङकङ, कोरिया, बेलायत, कतार, यूएई आदि देश पुगेर आफ्ना गीत प्रस्तुत गरिसकेककी यी गायिका यतिबेला सांगीतिक कार्यक्रमकै लागि अष्ट्रेलिया पुगेकी छिन् । उनले नेपालका प्राय: सबै सहरमा पुगेर कन्सर्ट दिइसकेकी छिन् । 

हरेक कन्सर्टमा उनी आफ्ना आधा दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्छिन् । ‘कन्सर्टमा भेराइटी दिने प्रयास गर्छु, गायिका गुरुङ भन्छिन्– ‘लाइभ कन्सर्टमा ब्याकअप ब्यान्डसहित सांगीतिक प्रस्तुती दिनुको मज्जा नै बेग्लै हुन्छ ।’ कन्सर्टमा उनी प्राय: खनी हो यामु ए कान्छा, गाइने दाजै, दैव जानोस्, तिमी र म आदि गीत प्रस्तुत गरिरहेकी छिन् । 

एक साताअघि अष्ट्रेलियाका चारवटा सहरमा सञ्चालन हुने कन्सर्टमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेकी गायिका गुरुङको अष्ट्रेलियामा भने यो पहिलो प्रस्तुति हो । करिब तीन साता लामो सांगीतिक भ्रमणमा उनले एडिलेड, मेलबर्न, ब्रिसबेन तथा सिड्नीका कन्सर्टमा प्रस्तुति दिनेछिन् । 

पहिलो पटक ‘खानी हो यामु ए कान्छा’ गीत सुन्नेहरूले गुरुङसमक्ष एउटा जिज्ञासा राख्छन्, यी शब्दको अर्थ के हो ? उनको जवाफ हुन्छ— ‘गुरुङ भाषामा ‘कता जना लागेको ए कान्छा’ भनेको हो ।’ 

युवापुस्ताले मन पराएकी यी गायिकाको एउटा छुट्टै विशेषता पनि छ । उनी प्राय: मौलिक ग्रामीण शैलीका गीत मात्र गाउँछिन् । आफूले गाउने गीतका शब्दहरूसमेत प्राय: उनी आफैं संकलन तथा रचना गर्ने प्रयास गर्छिन् । ‘गीतका शब्दहरूमा मेहनत गर्ने हो भने हरेक गीत लोकप्रिय हुन सक्छन्, गायिका गुरुङको तर्क छ– ‘आकर्षक शब्द भएपछि त्यसमा संगीत र स्वरको जादु छर्न सकियो भने स्रोताहरूको मनमा बस्न धेरै समय लाग्दैन ।’ त्यस्ता शब्दले गाउँदेखि सहरसम्मका युवाको मन जित्ने कुरा उनले बुझेकी छिन् । आफ्ना गीतका म्युजिक भिडियोहरूमा आफैं अभिनयसमेत गर्न रुचाउने यी गायिका संगीतको औपचारिक प्रशिक्षणपछि आफ्नो गायकीमा थप निखार आएको महसुस गर्दैछिन् । ‘मैले सुरु–सुरुमा संगीतको प्रशिक्षणबिना नै गीत गाएकी थिएँ, उनी भन्छिन्— ‘अनुभव र प्रशिक्षणबिना गाउँदा नै म श्रोताहरूको मन जित्न सफल भएँ । अब प्रशिक्षणपछि मैले गाउने गीतले प्रशंसकहरूको थप मन जित्ने कुरामा म ढुक्क छु ।’

प्रकाशित :असार ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्