हल्का टाइपको अवस्था

- मनोज गजुरेल

असार ७, २०७४-  

मलाई यो फलानो मान्छे पटक्कै मन पर्दैन । उसले भन्यो । ‘पटक्कैचाहिं किन ?’ मैले सोधें । ‘किनभने ऊ अलि, कस्तो भने, के रे, हुन्छ नि....‘टाइप’को छ ।’ म कन्फ्युज भएँ, ‘टाइपको भन्नाले ?’ ‘हैन क्या, जस्तो, खै के भन्छ नि, उ त्यो, उसको बिह्याभ, कस्तो भने....एकदमै ‘टाइप’को छ क्या ।’ 

मैले फेरि सोधें, ‘नेपाली टाइपको, अंग्रेजी टाइपको, रोमन टाइपको, युनिकोड टाइपको— कुन टाइपको त ?’ ऊ रिसायो, ‘ह्या, गिदी नगर्नु न । क्या ‘टाइप’को मान्छे यार तपाईं ।’

यस्तो टाइपको संवाद धेरै भान्जाहरू गर्छन्, तर यो टाइपको कहाँनेर लगाउनुपर्छ, कसरी प्रयोग गर्नुपर्छ, टाइपको ठाउँमा अर्को टाइपको शब्द किन फेला पर्दैनन् ? धेरैलाई थाहा छैन ।

प्रविधि मनका कुरा बुझ्ने र सोचेका कुरा अटो राइटिङको अवस्थामा पुगिसक्यो । भान्जाहरूले यो टाइपमा अल्झिनु भएन क्या ! टाइपबाट मुक्त हुने उपाय छ भान्जा । मस्तिष्कमा यथेष्ट शब्द भण्डारण गर्ने । पढ्ने बानी बसाउने, अग्रजका कुरा सुन्ने र सुनाउने काम गरियो भने ‘टाइप’मा अड्किनु पर्दैन ।
नत्र जिन्दगीभर ‘टाइपको’ ‘टाइपको’ भन्दै डेट एक्सपाएर भइएला नि । 

अब ‘हल्का’ कुरा गरौं । पत्नी छिन्, प्रियंकाझैं स्लिम र चुस्त, पति छन्, गैंडाजस्तै दुरुस्त ! खिच्छिन् सेल्फी, अपलोड मिलिक्क । लेख्छिन्, हल्का पतिसँग एक क्लिक्क ! सोच्छु, त्यत्रा भारी पति, पत्नीलाई किन हल्का ला’होला ? श्रीमती भनेका धर्ती हुन् भन्थे, त्यसैले गैंडा पनि कपासझैं भा’होलान् । 

मैले एक जना भान्जासँग सोधें, ‘के गर्दैछौ भान्जा ?’ भने, ‘हल्का जिम गरिरा’को मामा ।’ ‘हल्का जिम ?’ सोधें, ‘जिम पनि हल्का गरेर हुन्छ त ? कसरी स्लिम हुन्छौ नि ?’ भान्जा बोले, ‘सिक्सप्याक हुने हो मामा, हल्का ८० किलो उठाउँछु नि ।’ सोधें, ‘८० किलोलाई हल्का भन्छौ भने भारीचाहिं कति हुन्छ त ?’ एकछिन सोचेपछि भन्यो, ‘हल्का सय किलोचाहिं भारी लाग्छ क्या मामा ।’
एउटी भान्जीसँग सोधें, 
‘के गर्दै ?’
‘हल्का खाना खाँदै मामा ।’
‘हल्का खाना यति धेरै 
हुन्छ त ?’
‘आज हल्का भोक 
लाग्या हुनाले ।’
‘हल्का भोक लाग्दा त हल्कै खानुपर्‍यो नि, यत्रो किन ?’
‘हल्का आज धेरै भयो ।’
‘ए भान्जी, धेरै कसरी हल्का भयो ?’ उनले उठ्दै भनिन्, ‘ह्या, गिदी नगर्नु न मामा । हल्का पेट टन्न भयो, म चुठेर आउँछु
ल मामा ।’
यी ‘हल्का’ भान्जा–भान्जीलाई कसले भनिदिने होला, तिम्रो ‘हल्का’ले हाम्रो भाषालाई झन् हल्का बनायो भन्ने कुरा ? 

भान्जा, कपास हल्का हुन्छ, फिंज हल्का हुन्छ, तर भारीलाई पनि हल्का भन्दिनु त भएन नि । सिमसिमे पानीलाई पनि ‘हल्का सिमसिम’, विशाल वर्षात्लाई पनि ‘हल्का वर्षात’, महाझरीलाई पनि ‘हल्का ठूलो झरी’ भन्दिया छ । हल्का र भारी छुट्याउन नसक्ने भातको भकारी नबन न भान्जा प्लिज । सञ्जालमा भान्जाहरूका पोस्ट म हल्का कहिलेकाहीं हेर्छु, त्यो देखेर म भारी तनावको अवस्था पुग्छु । 

‘हल्का ट्रक ठेल्दै’ । ए भान्जा, ट्रकलाई पनि हल्का भन्ने तिमी पवनपुत्र त होइनौ । ‘हल्का सेल्फी लिंदै’ । सेल्फीको आकार हुन्छ, प्रकार हुन्छ, रूप हुन्छ, रंग हुन्छ तर तौल हुँदैन क्या भान्जा । बुझेर पनि बुझ नपचाऊ त भान्जा ।

अर्का भान्जाको फोटो हेर्दै थिएँ, लेखिएको थियो, ‘हल्का मन्त्रीजी र म ।’ ए भान्जा, मन्त्रीजीको ज्यानमा ध्यान दिएका छौ ? उहाँको तौल कति छ, तिमीलाई थाहा छ ? मन्त्रीजीको शरीर पनि भारी छ, स्वभाव पनि भारी छ भान्जा । मन्त्रीजीलाई तिमीले कसरी हल्का भन्यौ, मैले बुझिनँ है ।

हल्कापछि ‘अवस्था’को कुरा गरौं । ‘ट्राफिकजाममा परेको अवस्था ।’ ‘ज्वरो आएको अवस्था’, ‘सुतिरहेको अवस्था’, ‘कुदिरहेको अवस्था’, ‘यस्तो अवस्था’, ‘उस्तो अवस्था’, ‘जस्तो अवस्था’, ‘त्यस्तो अवस्था’— ए भान्जा, अवस्थाबाहेक अरू शब्द छैनन् र शब्दकोशमा ? 

शब्दकोश पल्टाएर हेर त, अवस्थासँग मिल्ने दर्जनौं शब्द छन् । ‘खाना खाँदै गरेको स्थिति’, ‘घुमेर फर्किरहेको मौका’, ‘रात्रीकालिन समय’, ‘पुरानो साथीसँग सेल्फीको संयोग’, ‘नयां साथीसँग डिनरको अवसर’जस्ता कति विकल्प छन् कति ! 

अब ‘हल्का’ ‘टाइप’को ‘अवस्था’लाई परिवर्तन गरौं भान्जा । किनभने चिनी पनि ठिक्क खाँदा राम्रो हुन्छ । बढी भए तितो टाइपको हुन्छ क्या !

प्रकाशित :असार ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्