विद्यार्थीको रोजाइमा पोखराका उच्च मावि

- राजाराम पौडेल

असार ५, २०७४-  

एसईई उत्तीर्ण भएपछि सबै विद्यार्थीको उद्देश्य एउटै हुँदैन । कोही विज्ञान विषयमा आफ्नो भविष्य देख्छन् भने व्यवस्थापन पढेर भविष्य सुन्दर बनाउने योजना एकथरीको हुन्छ । नर्सिङ पढेर बिरामीको सेवा गर्ने रहर गर्नेहरू उत्तिकै हुन्छन् । विदेश जान चाहनेहरूको रोजाइमा ए लेभल पनि पर्दैछ । यी सबै विषय पढ्नेहरूका लागि पोखरामा अवसर छ । 

हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त पोखरामा एसईईपछिका सबै विषय अध्यापन हुने हुँदा पढ्नकै लागि विद्यार्थीहरूले बाहिर जानु नपर्ने बताउँछन् । पोखरामा हिसानसँग आबद्ध ४७ वटा उच्च मावि छन् । 

हिसानमा आबद्ध सबै विद्यालयमा व्यवस्थापन विषय अध्यापन हुन्छ । विज्ञान विषय लिएर अध्ययन गर्न चाहनेहरूको इच्छा पनि हिसानमा आबद्ध उच्च माविहरूले पूरा गरिरहेका छन् । सगरमाथा, मदरल्यान्ड, गण्डकी, ग्लोबल, शिशु निकेतन, सिर्जना, टप्स, स्टेप वाई स्टेप, सबलाइन, बालोदय, पोखरा युनाइटेड, जेसिए, डाइमन्ड, केफ, प्रतिभा, न्यू ग्यालेक्सी, पोखरा उच्च मावि, अन्नपुर्ण क्याम्पस आदिमा विज्ञान विषय विषय पढाइ हुन्छ । पश्चिमाञ्चल उच्च माविमा मानविकि संकायको पनि अध्यापन हुन्छ भने हिल प्वाइन्टमा फाइन आर्टको अध्यापन हुन्छ । 

त्यसका अतिरिक्त अमरसिंह सामुदायिक उच्च मावि धेरैको रोजाइमा पर्छ । एसओएस र सेन्ट मेरिजमा अध्ययन गर्न चाहनेहरूको आकर्षण निरन्तर उस्तै छ । उच्च शिक्षाका लागि कास्कीमा झन्डै ६० वटा सामुदायिक विद्यालय छन् ।

ए लेभल, होटल म्यानेजमेन्ट, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, सिएमएसँगै इन्जिनियरिङ आदि विषय पोखरामै अध्ययन गर्न पाइन्छ । पोखरामा रहेका ६ वटा निजी अस्पताल र नर्सिङ होम तथा अन्य संस्थामा गरी विभिन्न १० स्थानमा बर्सेनि ४ सय जनाले नर्सिङ पढ्ने अवसर प्राप्त गर्छन् । तीनवटा संस्थाले ए लेभलका कक्षा सञ्चालन गरिरहेका छन्, जहाँ २ सयभन्दा बढी विद्यार्थीले भर्ना हुन सक्छन् ।

एचएमा ४० जना, फार्मेसीमा ४० जना, डेन्टलमा ४० जना, सिएमएमा १ सय ६० जना, ल्याब असिस्टेन्टमा ८० जना, रेडियोलोजीमा ३० जनाले पढ्न पाउँछन् । 
 

सिटिइभिटी आफैँले डिप्लोमा इन होटल म्यानेजमेन्टमा ४० जनालाई पढाउँदै आएको छ । नर्सिङ, हेल्थ असिस्टेन्ट, डेन्टल हाइजेनिस्ट, ल्याब टेक्निसियन, फार्मेसी, रेडियोग्राफर, ओभरसियर आदि विषय रोज्नेहरू निकै छन् ।

ए लेभलप्रति पनि विद्यार्थीको आकर्षण बढ्दो छ । केही वर्ष यो विषयका बारेमा विद्यार्थीबिच अन्योलजस्तो देखिए पनि अहिले सबै भ्रम निवारण हुँदै गएका छन् । परम्परागत शिक्षण शैलीबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकिरहेको सन्दर्भमा क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ए लेभलको पढाइले यसतर्फ आकर्षित विद्यार्थीहरूलाई सहज बनाएको छ । सन् २००३ देखि ए लेभल सुरु गरेको कसमस कलेजमा १ सय ५० सिट छ । प्रमोसन त्यति नहुँदा चाप बढी नदेखिए पनि आकर्षण भने बढ्दै गएको कलेजका कार्यकारी निर्देशक तेज गुरुङ बताउँछन् । 
सन् २००२ देखि ए लेभल सुरु भएको नोभेल एकेडेमीमा हाल १ सय विद्यार्थी अध्ययनरत छन् ।

नोवेलमार्फत ३ हजार विद्यार्थीले ए लेभलको अध्ययन पूरा गरिसकेका छन् । नोभेलमा २० सिटमा नर्सिङ, ३० सिटमा फार्मेसी, ४० सिटमा बीबीए तथा ६० सिटमा एमबीएको अध्यापन हुन्छ ।

सन् १९९१ मा ओ लेभल सुरु गरेको गण्डकी आवासीय उमाविले बीचमा त्यसलाई बन्द गरेर दस जोड दुई पढाउन थालेको थियो । विद्यालय व्यवस्थापन समितिको इच्छा एवं क्याम्ब्रिज युनिभर्सिटीको सपोर्टमा सन् २०१० देखि पुन: ए लेभल सुरु गरिएको उमाविका प्राचार्य रविप्रसाद बरालले बताए । 

पोखरामा पश्चिमाञ्चल तथा पोखरा गरी दुई इन्जिनियरिङ कलेज, एक–एकवटा वन क्याम्पस, संस्कृत क्याम्पस, कृषि क्याम्पस, मणिपाल र गण्डकी मेडिकल कलेज, होटेल म्यानेजमेन्ट कलेज, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चार आंगिक गरी २० वटा क्याम्पस छन् । पोखरामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पसले मानविकी, शिक्षा, विज्ञान, वाणिज्य एवं कानुन संकायको स्नातक तहमा करिब डेढ दर्जन विषयमा कक्षा सञ्चालन गर्दै आएको छ ।

पोखरामा २००६ सालमा स्थापित पोखरा बहुउद्देश्यीय विद्यालय, ०१२ सालमा भोकेसनल हाइस्कुल, ०१२ सालमा क्षेत्रीय स्तरको गण्डकी आवासीय मावि तथा ०१७ सालमा पृथ्वीनारायण क्याम्पसको स्थापना भएको हो । त्यसपछि पोखरामा सरकारीदेखि निजी विद्यालय खोल्ने क्रम सुरु भएको थियो । 

प्रकाशित :असार ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्