महत्त्व एक दिवसीय क्रिकेटको

- साप्ताहिक संवाददाता

असार ३, २०७४

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको समाप्ति एन्टी क्लाइमेक्स भयो भन्दा फरक पर्दैन । प्रतियोगिताले एक खालको गति लिइरहेको थियो, यसबीच फाइनल तय मितिभन्दा एक दिनपछि सारियो । उद्देश्य थियो, फाइनलको अन्त्यमा प्रधानमन्त्रीलाई बोलाउने, तर फाइनलको नयाँ मितिमा पानी परेपछि खेल पूरा हुन त सकेन नै, त्यसमाथि व्यस्तताका कारण प्रधानमन्त्री स्वयं आउन सकेनन् । पहिले नै घोषित फाइनलको मितिका दिन मौसम सफा थियो, तर परिवर्तित मितिको मौसम खेलअनुकूल थिएन । यो नै प्रतियोगिताको सबैभन्दा नमीठो भाग थियो । 

यद्यपि प्रधानमन्त्री कपले नेपाली घरेलु क्रिकेटलाई निकै राम्रो सन्देश दिएर गएको छ र फेरि एकपल्ट सिद्ध गरेको छ, नेपालमा क्रिकेटको जस्तो आधार छ, यो पृष्ठभूमिमा यहाँ ५० ओभरको एक दिवसीय क्रिकेटको महत्त्व अझै उत्तिकै छ । नेपालमा दुई दिन अथवा त्यो भन्दा बढीको क्रिकेट हुँदैन । त्यसैले यो नै हामीकहाँ सम्भव हुने क्रिकेटको सबैभन्दा लामो स्वरूप हो । यस्तोमा नेपाली खेलाडीका लागि प्राविधिक रूपमा आफूलाई सच्याएर ठीक राख्ने खेल पनि यही हो । 

यो प्रतियोगिताको महत्त्वलाई लिएर सम्भवत: सबैभन्दा सटिक टिप्पणी नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् । मल्लको भनाइ छ— यो प्रतियोगिता नेपाली क्रिकेटका लागि कोसेढुंगा प्रतियोगिता सावित हुनेछ । नेपाली क्रिकेटको राम्रो जग बसाउने हो भने यस्तै खालका प्रतियोगिताको आवश्यकता हुन्छ र यसलाई निरन्तरता दिन आवश्यक छ । नेपाली खेलाडी घरेलु ट्वान्टी–२० मा बढी व्यस्त रहेकाले त्यसको नकारात्मकअसर यही प्रतियोगिताका क्रममा समेत देखियो । 

फेरि दोहोर्‍याउन आवश्यक तथ्य के पनि हो भने यो तीन वर्षयता नेपालमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको पहिलो अवसर हो । प्रतियोगिताको आयोजनामा राष्ट्रिय खेलकुद परिषद (राखेप) स्वंय अगाडि सरेको हुनाले पनि यसको महत्त्व अझ बढेको हो । उत्तिकै महत्त्वपूर्ण के पनि हो भने यो प्रतियोगितालाई लिएर राखेप स्वंयको महत्त्वाकांक्षा । राखेप आउने वर्ष यसलाई निरन्तरता दिन तयार मात्र छैन, यसलाई ठूलो आकार दिन पनि उत्सुक देखिन्छ । 

प्रतियोगिताको घोषणा हुँदा राखेप सदस्य सचिव केशवबहादुर विष्टले आउने वर्ष यो प्रतियोगितालाई अझ ठूलो आकार दिने वचन दिएका छन् । अझ उनका योजना छन्— प्रतियोगिताको बजेट बढाउने, पुरस्कार रकम थप्ने, विदेशी खेलाडीलाई पनि खेलाउने, अझ सम्भव हुन्छ भने प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूपसमेत दिने । राखेप तथा सदस्य सचिवले प्रधानमन्त्री कपलाई लिएर जति सपना देखाएका छन्, त्यो पूरा हुने भने प्रधानमन्त्री कप नेपाली क्रिकेटका लागि कोसेढुंगा प्रतियोगिता हुने कुरामा कुनै शंका छैन् । 

फेरि प्रतियोगितामै फर्कने हो भने एक दिनपछाडि सारिएको फाइनल वर्षाले बिथोलियो र खेल नै पूरा हुन सकेन । फाइनलमा प्रवेश गरेका थिए, दुई विभागीय टिम नेपाल प्रहरी र आर्मी । पहिले ब्याटिङको अवसर पाएको नेपाल प्रहरीले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । यो पनि कुनै एक दिवसीय क्रिकेटलाई सुहाउने स्कोर थिएन् र यस पछाडि ट्वान्टी–२० क्रिकेटकै प्रभाव देखियो । यसमा कुनै पनि ब्याट्सम्यानले गतिलो स्कोर खडा गर्न सकेनन् । 

जवाफमा आर्मीले आफ्नो इनिङ्स सुरु गर्दै २ दशमलव ३ ओभरमा एक विकेट गुमाएर सात रन मात्र के बनाएको थियो, कीर्तिपुरको टीयू मैदानमा पानी पर्न थाल्यो र खेललाई निरन्तरता दिन सम्भव भएन । अन्तत: आयोजकहरू दुवै टिमलाई संयुक्त विजेता घोषणा गर्न बाध्य भए । एक दिवसीय क्रिकेट कस्तो हुनुपर्छ र यो कसरी खेल्नुपर्छ, त्यसको सार भने प्रतियोगिताको दोस्रो सेमिफाइनलमा देखियो र यो नै प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेल रह्यो । 

त्यसमा भिडेका थिए, आर्मी र पश्चिमाञ्चल । उक्त खेलमा एक दिवसीय क्रिकेटमा हुनुपर्ने सबै किसिमका गुण थिए । पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले ४९ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो, जसमा सौरभ खनालको ८२ तथा कृष्ण कार्कीको ७५ रनको योगदान रह्यो । दुवै तल्लो क्रमका ब्याट्सम्यान हुन् । जवाफमा आर्मीले जसरी चार विकेटको जित निकाल्न लक्ष्य पछ्याएको थियो, त्यसमा प्रशस्त मात्रामा व्यवसायिकता देखिन्थ्यो । 

आर्मीले ४८ दशमलव २ ओभरमा छ विकेट गुमाएर २ सय ४१ रन बनायो । त्यसमा दुई अर्धशतक थिए । प्रतियोगिताको समाप्तिमा यसले दिएको संदेश स्पष्ट छ, नेपाली क्रिकेटको आधार तयार पार्ने हो भने एक दिवसीय क्रिकेट आवश्यक छ । अझ सकिन्छ भने यो भन्दा लामो संस्करणको क्रिकेट पनि चाहिन्छ । हामी ट्वान्टी–२० क्रिकेटमा मात्र आधारित हुनु ठीक होइन । राम्रा स्तरीय खेलाडी लामो संस्करणका क्रिकेटले नै उत्पादन गर्ने हो ।

उदीयमान खेलाडी

सौरभ खनाल

यसपटकको प्रतियोगिताको विशेषता नै रह्यो, खनालको पुनर्उदय । यू–१९ स्तरमा सौरभले यसअघि नै राम्रो प्रदर्शन गरिसकेका थिए, तर चोटका कारण उनी केही समय हराए । चोटबाट मुक्त भएर यसपल्टको प्रतियोगितामा जसरी छाए, त्यसलाई सधैं सम्झिइनेछ । 

अझ भनौं, प्रधानमन्त्रीकपको यसपटकको सबैभन्दा ठूलो विशेषता नै खनालको ब्याटिङ रह्यो । उनी प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान पनि चुनिए । उनले चार इनिङ्समा कुल २ सय ७० रन बनाए, १ सय ३५ को अविश्वसनीय औसतले । उनको सर्वाधिक ठूलो स्कोर रह्यो, ९० रन । उनले ३ अर्धशतक बनाए । पूरा प्रतियोगितामा उनले २७ छक्का तथा १० चौका प्रहार गरे । 

 

सुशान्त भारी

आर्मीका खेलाडी सुशान्त भारीका लागि प्रधानमन्त्रीकप धेरै अर्थमा सुखद रह्यो । स्लो 

लेफ्ट आर्म अर्थोडक्स शैलीका यी बलर प्रतियोगिताका उत्कृष्ट बलर घोषित भए । उनले ५ खेलमा १४ विकेट लिए । सुशान्तले ५ विकेटको प्रदर्शन एकपटक गरे, जसमा उनले १६ रन खर्चेर ६ विकेट लिएका थिए । यू–१९ स्तरमा नेपाली टिमको प्रतिनिधित्व गर्ने अवसर पाएका सुशान्तबाट राष्ट्रिय टिमले पर्याप्त आशा गर्न सक्छ ।

उत्कृष्ट खेलाडी

सागर पुन 

नेपाली राष्ट्रिय टिमका यी सदस्यका लागि पनि प्रधानमन्त्री कप धेरै सुखद रह्यो र यसक्रममा उनले उत्कृष्ट अलरान्डरका रूपमा आफ्नो उपयोगिता सिद्ध गरे । पुन आर्मीका लागि ब्याटबाट पनि चम्किए, बलबाट पनि चम्किए । बलरका रूपमा उनले १४ विकेट लिए । मात्र १६ रन खर्चेर ५ विकेट लिनु उनको उत्कष्ट प्रदर्शन थियो । यस्तै सागरले १ सय २६ रन पनि बनाए । सर्वाधिक स्कोर रह्यो— ६५ रन । उत्कृष्ट अलराउन्ड प्रदर्शनका कारण उनी चुनिए, प्रतियोगिताकै म्यान अफ द सिरिज ।

 

दिलीप नाथ

यसपटकको प्रधानमन्त्री कपमा अब्बल दर्जाको प्रदर्शन गर्न सफल अर्का खेलाडी हुन्— नेपाल प्रहरीका दिलीप नाथ । यी अलराउन्डर ब्याटबाट बढी चम्किए । दिलीप सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा रहे, सौरभ खनाल र सन्दीप सुनारपछि । दिलीपले ५ इनिङ्समा १ सय ४८ 

रन बनाए ।

असफल खेलाडी

शरद भेषवाकर

प्रधानमन्त्री कप नेपाली राष्ट्रिय टिमका प्रमुख सदस्य शरद भेषवाकरका लागि धेरै अर्थमा बिर्सनलायक रह्यो । उनी प्रतियोगिताकै सबैभन्दा ठूलो नाम सावित भए, असफल खेलाडीका रूपमा । असफल खेलाडीको अर्थ उनको प्रदर्शन खराब रह्यो भन्ने होइन, यद्यपि उनले आफ्नो प्रतिष्ठा अनुरूप प्रदर्शन गर्न सकेनन् । यसअघिका दुई ट्वान्टी–२० प्रतियोगितामा आफ्नो टिमलाई फाइनलमा पुर्‍याएका शरदको मध्यमाञ्चलले प्रधानमन्त्रीकपमा भने कमजोर प्रदर्शन गर्‍यो । 

 

आरिफ सेख

नेपाली क्रिकेटको भविष्य मानिएको छ आरिफ सेखलाई, तर उनी प्रधानमन्त्रीकपमा राम्रो प्रदर्शन गर्नबाट चुके । नेपाल प्रहरीका लागि यी खेलाडीको प्रदर्शन औसतभन्दा पनि कमजोर रह्यो । उनले पाँच इनिङ्समा २४ रन मात्र बनाउन सके । आरिफको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो— ८ रन ।

 

प्रकाशित :असार ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्