मान्छे हुनुको भाव

- सुविन भट्टराई

असार १, २०७४-
मान्छेले सबैभन्दा बढी समय आफैँसँग बिताएको हुन्छ र कम समय पनि आफैँसित बिताएको हुन्छ, तैपनि ऊ आफैँसित क्रुद्ध रहन्छ । मान्छे आफूलाई जहाँ पनि लिएर हिँड्छ तर पनि एक्लो महसुस गर्छ ।
मान्छेले सबैभन्दा धेरै सपना आफैँलाई देखाएको हुन्छ, तर थोरै मात्र सपना पूरा हुन्छन् । मान्छेले सबैभन्दा धेरै आफ्नै रहर हुर्काएको हुन्छ, तैपनि कहिलेकाहीं त्यसको घाँटी थिच्छ । 

मान्छेले सबैभन्दा धेरै आफैँलाई चिनेको हुन्छ, तर पनि ऊ आफ्नै परिचय खोज्नमा समय बिताइरहेछ र मान्छेले सबैभन्दा धेरै आफैँलाई ठगेको हुन्छ । सबैभन्दा धेरै झूट मान्छेले आफैँसित बोलेको हुन्छ र सबैभन्दा धेरै सत्य पनि आफैँसित स्विकारेको हुन्छ । 

मान्छे सबैभन्दा धेरै आफैंसँग दु:खी हुन्छ, तैपनि आफ्नै कारणले नै धेरै मुस्कुराउँछ । मान्छे सबैभन्दा धेरै आफैँसित खुसी छ, तर पनि आफैँसित खुसी लुकाउँछ । मान्छे आफूलाई खुब प्रेम गर्छ, त्यसैले प्रेम गर्नेहरूमा पनि ऊ आफूलाई खोजी हिँड्छ । मान्छे मित्रहरूमा पनि आफ्नो प्रतिविम्ब खोज्छ ।

डाक्टरका साथी डाक्टर, कलाकारका साथी कलाकार, सरकारी कर्मचारीका साथी सरकारी कर्मचारी, विद्यार्थीका साथी विद्यार्थी । संगत गर्ने हरेक मान्छेमा आफ्नो धमिलो प्रतिविम्बलाई नियाल्न खोज्छ । दु:खीका साथी दु:खी, सम्पन्नका साथी सम्पन्न, पीडितका साथी पीडित, सफलका साथी सफल । 

मान्छेभित्र अनेक मान्छे छन्, जो चुपचाप कहिले मिलेर बस्छन् भने कहिले अनियन्त्रित युद्ध गर्छन् । 
मान्छे भावनाहरूको इन्द्रेणी हो । मान्छे विचारहरूको बगैँचा हो । मान्छे अनुभवहरूको इन्साइक्लोपेडिया हो । मान्छे सफलताको स्कुल हो र असफलताको विश्वविद्यालय हो । मान्छे अविश्वासको केन्द्र हो र विश्वासको बिन्दु । मान्छे विश्वासको केन्द्र पनि हो र अविश्वासको बिन्दु पनि हो । 

हिँड्दा–हिँड्दै कसैसित ठेस लाग्यो भने प्रयोग गर्ने ‘सरी’ शब्द पनि उसैसित छ, घुर्ने आँखा, गाली गर्ने जिब्रो, उजिने हात, अनि बज्रने लात पनि उसैसित हुन्छ । 

मुसुक्क हाँस्ने स्वभाव पनि मान्छेसँगै हुन्छ, देखाउने अहंकार पनि मान्छेसँगै हुन्छ । कसैलाई पिट्ने हात पनि मान्छेसितै छ । कसैलाई नमस्ते गर्ने हात पनि मान्छेसितै छ । 

अनेक जनावर, चराचुरुंगी, कीरा–फट्याङ्ग्रा पनि त मानिसभित्रै छ । स्यालजस्तो धुत्र्याइँ गर्न पनि उसैले जानेको हुन्छ, बाघझैँ गर्जिन जानेको पनि मान्छेले नै हुन्छ । कोइलीजस्तो मिठो गाउन जान्ने पनि मान्छे नै हुन्छ, खरायोझैँ चञ्चल हुन सक्ने पनि मान्छे नै हुन्छ । मुसाजस्तै थुपार्न जान्ने पनि मान्छे नै हुन्छ, कमिलाझैँ मेहनत गरेर खाने पनि मान्छे नै हुन्छ । कागजस्तो बाठो पनि मान्छे नै हुन्छ, कछुवाजस्तै सुस्त पनि मान्छे नै हुन्छ । सुन्दर पनि मान्छे हुन्छ, कुरूप पनि मान्छे नै हुन्छ । मान्छेको स्वभाव नै उसको प्रमुख परिचय हो । 

यही एउटै मान्छे बाँचेर पनि मरेको हुन सक्छ र मरेर पनि बाँचेको हुन सक्छ । 
मान्छेभित्र अमृतको खोलो पनि बगेको हुन्छ, विषको सागर लुकेको पनि हुन सक्छ । सबैथोक मान्छेभित्रै छ । कहाँ अमृत बगाउने ? कहाँ विष देखाउने ? यो जान्ने वा नजान्ने पनि मान्छे नै हुन्छ । सबथोक छ मान्छेसँग । यति गुण, यति खुबी, यति प्रतिभा छ मान्छेसित कि लाग्छ, मान्छेभन्दा सम्पन्न त भगवान् पनि छैन । मान्छेसँग एकैथोक छैन । 

हो, आजकाल मान्छेसित ‘मान्छे’ हुनुको भावबाहेक सबथोक छ । 

 

प्रकाशित :असार १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्