अस्ट्रेलियाबाट लोकप्रिय हुँदै एक गायक

- कृष्ण भट्टराई

असार १, २०७४- 

उनी भर्खर २१ वर्षका भए, तर उनको गीत विश्वका हरेक कुनामा बसोबास गर्ने नेपालीले मन पराएका छन् । अधिकांश नेपाली युवा उच्च शिक्षाका लागि विदेश पुगेर विभिन्न प्राविधिक विषय अध्ययन गर्छन्, तर यी युवाले पाश्चात्य संगीतमा स्नातक गर्न अस्ट्रेलियाको एउटा प्रसिद्ध विश्वविद्यालय छनोट गरेका छन् ।

विश्वविद्यालयमा एक मात्र अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा संगीतको उच्च शिक्षा हासिल गरिरहेका ती गायक हुन्- मनिष ढकाल । संगीतको विद्यार्थीकै रूपमा मनिषले आफूलाई गायकका रूपमा स्थापित गरिसकेका छन् । १६ वर्षकै उमेरमा आधा दर्जन कभर गीत गाएर युट्युबमा चर्चा कमाइका यी गायकका तीनवटा ओरिजिनल गीत समेत भाइरल भएका छन् । 

सात वर्षकै उमेरमा स्टेजमा उक्लिएर गीत गाउन थालेका ढकाल आफ्नो जन्मथलो बुटवलमा छँदै एउटा स्थानीय ब्यान्डमा आबद्ध थिए । एसएलसी उत्तीर्ण गरेपछि उनले १९७४ एडीका गीतहरू कभर गर्न थाले । हिंड्दा–हिंड्दै...शीर्षकको गीतमार्फत उनले कभर गायन प्रारम्भ गरे । केही गीतमा म्यासअपसमेत गरेका मनिषले टाढा धेरै टाढा शीर्षकको कभर गीतबाट पनि चर्चा कमाए । 

प्लस टु उत्तिर्ण गरेपछि उनले संगीतका पारखी बुवा रामप्रसाद ढकाललाई संगीत विषयमै उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने कुरा बताए । छोरा व्यवसायिक गायक बनेको हेर्न चाहने बुवाले उनको आग्रहलाई सहजै स्वीकार गरे । फलस्वरूप उनी दुई वर्षदेखि पाश्चात्य संगीतको अध्ययनमा व्यस्त छन् ।

अस्ट्रेलिया प्रस्थान गर्नुअघि नै उनले सन् २०१५ मा ‘अल्लारे ठिटो’ शीर्षकको गीत गाए । सहेन्द्र श्रेष्ठले उक्त गीतको भिडियो बनाएका थिए, जसलाई दर्शकले पनि मन पराए । ‘परदेशी नभन...’ शीर्षकको दोस्रो गीतका लागि उनले लोकप्रिय संगीतकार कालीप्रसाद बासकोटाको साथ पाए । कालीप्रसादको शब्द तथा संगीतको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरे भने अभिनेता तथा निर्देशक निश्चल बस्नेतले त्यसमा अभिनय गरे । उक्त भिडियो यति लोकप्रिय भयो कि त्यसले १० लाखभन्दा बढी दर्शक पाइसकेको छ । उक्त गीतका शब्दहरूमा बिदेसिएका नेपाली युवाको पीडा समेटिएको थियो । आज पनि युट्युबमा उक्त भिडियो हेर्ने दर्शकको संख्या उत्तिकै छ । 

परदेशी नभन...गीतको लोकप्रियतासँगै मनिषले कालीप्रसादकै शब्द तथा संगीतमा ‘ल्याइदिउँला तिलहरी...’ गाए । अघिल्लो महिना युट्युबमा सार्वजनिक भएको निकेश खड्काद्वारा निर्देशित यो गीतले पहिलो दुई दिनमै युट्युब ट्रेडिङको पहिलो स्थान हासिल गर्‍यो । उक्त गीतको भिडियोमा भने विदेश जान लागेका एक नेपाली युवाको कथा चित्रण छ, जसमा अभिनेता कामेश्वर चौरसिया तथा थिएटर आर्टिस्ट लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । यो गीत मन पराउनेहरूको संख्या दैनिक रूपमा बढिरहेको छ । एकपछि अर्को अर्को गीत लोकप्रिय भएपछि गायक ढकालमाथि अझ स्तरीय गीत गाउने चुनौतीसमेत थपिएको छ । 

मनिष सिड्नीमा संगीतको विद्यार्थीका रूपमा मात्र सिमित छैनन् । कम उमेरमै गायकका रूपमा स्थापित भएका ढकालले संगीतमा रुची राख्ने आधा दर्जन नेपाली युवाहरूलाई समेटेर ‘हामी’ शीर्षकको ब्यान्ड नै स्थापना गरेका छन् । उक्त ब्यान्डले सिड्नीसहित अस्ट्रेलियाका प्रमुख सहरहरूमा नियमित रूपमा कन्सर्ट दिइरहेका छन् । मनिष मेन भोकलिस्टका रूपमा नेपाली समुदायलाई आफ्ना तथा अरुका गीत गाएर मनोरञ्जन प्रदान गरिरहेका छन् । 

‘संगीतको पढाइ सकिन अब डेढ वर्ष बाँकी छ, हालै काठमाडौंमा भेटिएका गायक ढकाल भन्दै थिए– ‘पढाइ सकिएको भोलिपल्टै नेपाल फर्किएर सांगीतिक क्षेत्रमा सक्रिय हुनेछु ।’ मनिषले पाश्चात्य संगीत एवं नेपाली लोक शैलीलाई फ्युजन गरेर सिर्जना गरिने संगीतले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने कुरा बुझेका छन् । नेपाल फर्किएपछि उनी यही शैलीलाई निरन्तरता दिने योजनामा छन् । 

 

प्रकाशित :असार १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्