घरमै उच्च शिक्षा

- माधव घिमिरे, विनोद भण्डारी

जेष्ठ ३१, २०७४

केही वर्ष अघिसम्म विद्यालय शिक्षा सकेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं लगायत अरू ठूला सहर पुग्नुपर्ने बाध्यता थियो । शैक्षिक गन्तव्य नजिकै नहुँदा विभिन्न जिल्लाका विद्यार्थीका लागि अध्ययन टाढा र खर्चिलो पनि हुने गरेको थियो । अझ प्राविधिक विषय अध्ययन गर्नुपर्दा भारतीय सहर नै पुग्नुपथ्र्यो । यद्यपि अब अवस्था फेरिएको छ । सुविधायुक्त र व्यवस्थित शैक्षिक संस्थाहरू खुलेपछि पूर्वका विद्यार्थीलाई धेरै सहज भएको छ ।

स्थानीय स्तरमा सुविधा नभएकैले महोत्तरीका सतिशकुमार यादव एक दशकअघि बीएससी रेडियोग्राफी पढ्न भारतको बैंगलोर पुगेका थिए । त्यतिबेला स्थानीय स्तरमा उक्त विषय अध्ययन गर्न सहज थिएन, तर नयाँ पुस्ताले यस्तो सुविधा यतै प्राप्त गर्न थालेका छन् । सतिशका भाइ मनिषले एमबीबीएस अध्ययन गर्न अन्यत्र जानु परेन । सतिशलाई परिवारले स्वदेशमै पढाउन चाहन्थ्यो । त्यसका लागि दुई वर्षसम्म प्रयास पनि गरियो, तर सीमित शैक्षिक कार्यक्रमका कारण सम्भव नभएपछि भारत जानुपरेको थियो । ‘मैले बीएससी रेडियोग्राफी पढ्न भारत जानुपर्‍यो’ उनले भने ‘तर मेरो भाइले एमबीबीएस पढ्न विदेश जानुपरेन ।’

सीमित शैक्षिक कार्यक्रम र शिक्षण संस्था सञ्चालन हुँदा एक दशक पहिलेसम्म डाक्टर, इन्जिनियरसहित उच्च शिक्षा अध्ययन गर्न पूर्वाञ्चलबाट हरेक वर्ष सयौं विद्यार्थी छिमेकी मुलुक भारत पुग्नुपर्ने बाध्यता थियो । मुलुक बहुविश्वविद्यालय प्रणालीमा गएपछि अहिले त्यो क्रम निकै कम भएको छ ।

‘पहिले सीमित शैक्षिक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीका लागि विकल्पको विषय नै हँुदैनथ्यो । त्यसैले उच्च शिक्षा अध्ययनका लागि बिदेसिनुको विकल्प थिएन,’ पूर्वाञ्चल विश्वविद्यालयका संस्थापक रजिस्टार भेषप्रसाद धमलाले भने, ‘थोरै शिक्षण संस्थाले सीमित शैक्षिक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीले गुणस्तरीय शैक्षिक कार्यक्रम छनौट गर्न नपाउँदा विदेश जानुको विकल्प पनि थिएन ।’ मुलुक बहुविश्वविद्यालय प्रणालीमा गएपछि शिक्षामा निजी क्षेत्रको लगानी मात्र बढेको छैन, अहिले पूर्वाञ्चल शैक्षिक हबसमेत बनेको धमलाको दाबी छ ।

पहिले आईए, आईकम र आईएसी उत्तीर्ण गरेपछि ब्याचलरका लागि च्वाइस नै थिएन भन्दा पनि हुन्छ । बिकाउ विषयका खासै शैक्षिक कार्यक्रम पनि थिएनन् । स्नातकोत्तर गर्न समेत काठमाडांै वा विदेश जानुको विकल्प थिएन । ‘अहिले हरेक बिकाउ विषयको गुणस्तरीय विकल्प छ,’ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले भने, ‘डाक्टर, इन्जिनियर, लेखापरीक्षक तथा अन्य प्राविधिक विषय अध्ययनका लागि अब पूर्वाञ्चलका विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता छैन ।’

पूर्वाञ्चल विश्वविद्यालयले यसै वर्षदेखि मोरङको गोठगाउँमा बीएससी एग्रिकल्चर कार्यक्रम प्रारम्भ गरेको छ भने एमए फर्मा, एनपीएच, इन्जिनियरिङमा स्नातकोत्तर तथा व्यवस्थापनमा एमएस शैक्षिक कार्यक्रम ल्याउने तयारी गरिएको दासले बताए । 

पूर्वाञ्चलमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञाान प्रतिष्ठान तथा विराटनगरका नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजले चिकित्सा संकायमा विदेश पढ्न जाने विद्यार्थीलाई रोक्ने काममात्र नगरेर भारत र माल्दिभ्सका विद्यार्थीसमेत तान्ने काम गर्दै आएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजले एमबीबीएस, एमडीएमएस, बीडीएस, बीएससी नर्सिङका कार्यक्रमहरू सञ्चालन गरेका छन् भने विराटले एमबीबीएस तथा बीएससी नर्सिङका कार्यक्रम सञ्चालन गरेको छ ।

इन्जिनियरिङमा तीनवटा कलेज छन् । विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङले सिभिल, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन तथा कम्प्युटर इन्जिनियरिङ ब्याचलर कार्यक्रम सञ्चालन गरेको छ । इन्जिनियरिङको स्नातकोत्तर संकाय पनि सञ्चालन गर्ने तयारी गरिएको कलेजका प्रिन्सिपल अमित सुरानाको भनाइ छ । यसबाहेक पूर्वाञ्चल विश्वविद्यालयको पुसेट र पूर्वाञ्चल इन्स्टिच्युट अफ इन्जिनियरिङ धरानले बीसीए, बीआईटी, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन कार्यक्रम सञ्चालन गरेका छन् ।

पूर्वाञ्चलमा ५ सय ६१ सरकारी तथा १ सय २६ निजी उच्च मावि छन । ती उच्च माविले व्यवस्थापन, विज्ञान, शिक्षा, पत्रकारिता, होटल म्यानेजमेन्ट पढाउँछन् । स्नातक तह (ब्याचलर लेभल)मा बीबीएस, बीबीए, बीसीए, बीआईटी, बिएस्सी सीएचआइटी, इन फूड टेक्नोलोजी एवं बीएचएमजस्ता विषय अध्यापन हुन्छ । स्नातकोत्तरतर्फ यहाँका दुई दर्जन कलेजले एमएस्सी, एमबीएस, एमएडसहित बोटानी, जुलोजी, केमेष्ट्री, फिजिक्स, समाजशास्त्र, ग्रामीण विकास, अर्थशास्त्र एवं अंग्रेजी आदि विषय अध्यापन गर्छन् ।

निजी स्कुल तथा कलेजले शैक्षिक क्यालेण्डरका आधारमा गुणस्तरीय शिक्षण विधि अपनाउन थालेपछि यहाँका शैक्षिक संस्थाप्रति सबैको ध्यान आकर्षित भएको छ । प्रा.डा. मेदिनीप्रसाद शर्मा भन्छन्— निजी शिक्षण संस्थाहरूले गरेको लगानीका कारण बाहिर पढ्न जानेहरूको संख्या घटेको छ ।

ठूलो लगानी, आधुनिक भवन एवं गुणस्तरीय शैक्षिक कार्यक्रमका कारण पूर्वका केही निजी विद्यालय भारतीय विद्यार्थी तान्नसमेत सफल छन् । यहाँको दिल्ली पब्लिक स्कुलले २ सयभन्दा बढी भारतीय बालबालिका आकर्षित गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्न भारतको फारबिसगन्जबाट दैनिक करिब २ सय बालबालिका विराटनगर आउने सञ्चालक प्रकाश मुन्दडाले बताए ।

विगतका वर्षमा विराटनगर र आसपासका क्षेत्रबाट मात्र बर्सेनि सरदर २ हजार बालबालिका माध्यमिक तहको पढाइका लागि भारत जाने गरेकोमा अहिले त्यो संख्या घटेको प्याब्सन पूर्वाञ्चलका पूर्वसंयोजक टीकाराम पुरीको बुझाइ छ । स्कुल तहमा मात्र नभै उच्च शिक्षा अध्ययनका लागि पूर्वाञ्चलबाट वाहिर जाने क्रम रोकिएको छ । पुरीले भने– सीमावर्ती क्षेत्रका भारतीय बालबालिकाहरू अहिले नेपाली कलेज तथा स्कुलमा भर्ना हुने क्रम बढेको छ ।

२०६५ सालमा यहाँको सगरमाथा बोर्डिङ स्कुल मुलुककै उत्कृष्ट विद्यालय घोषित भएको थियो । उक्त स्कुल २०६३ र २०६८ मा पूर्वाञ्चल टप पनि भयो । २०६५ को एसएलसीमा बीकेभीएमका राकेश गिरी बोर्डफस्ट भएका थिए । दुईवर्ष अघि एभरेस्ट बोर्डिङ स्कुल पूर्वाञ्चल टप भयो ।

उच्च शिक्षातर्फ बीबीएसको नतिजामा स्थानीय मेरिल्यान्ड कलेजका किञ्जल पोखरेल, एमबीएसतर्फ स्तानकोत्तर कलेजकी दीपिका दुगड तथा विज्ञान संकायमा शिक्षादीप कलेजका डेनिस गौतमले गोल्ड मेडल थापेपछि यहाँका शिक्षण संस्थामा विद्यार्थी तथा तिनका अभिभावकको आकर्षण बढेको हिसान मोरङका अध्यक्ष बलराम पन्तको भनाई छ ।

उच्च शिक्षातर्फ म्यानेजमेन्ट, विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर र शिक्षा संकायमा प्लस टु पढ्ने पूर्वी तराई र पहाडी क्षेत्रका विद्यार्थीका लागि पहिलो रोजाइ पूर्वाञ्चल भएको छ । पन्तले भने चिकित्सा, इन्जिनियरिङ, म्यानेजमेन्ट, विज्ञान, कम्प्युटर र शिक्षा संकाय अध्ययनका लागि पूर्वी तराईका कलेजले तराई र पहाडलाई जोड्ने काम गरेका छन । पन्तका अनुसार यहाँका प्लस टुले विगतमा निकाल्दै आएको नतिजाका कारण पनि पूर्व क्षेत्रका विद्यार्थी प्लस टु अध्ययनका लागि काठमाडौंलगायत भारत जाने क्रम रोकिँदै गएको छ । विज्ञान, बीबीएस र एमबीएस तहमा यहाँका कलेजले मुलुकमै टप गरेपछि विद्यार्थीहरूको आकर्षण बढेको हो ।

पूर्वाञ्चलमा १ विश्वविद्यालय, ३ मेडिकल कलेज, ३ इन्जिनियरिङ कलेज, सामुदायिक क्याम्पस २ दर्जन, सामुदायिक र निजीसहित ६ सय ८७ उच्चमावि, सामुदायिक र निजी गरी प्राथमिक विद्यालय ४ हजार ५ सय ६४, निमावि १ हजार ३ सय ५९, मावि १ हजार ३ सय ३६, बाल विकास केन्द्र ७ हजार ३ सय १६ तथा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन गर्ने २ सामुदायिक विद्यालय सञ्चालनमा रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांक छ ।    

 

प्रकाशित :जेष्ठ ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्