डाक्टर पनि कलाकार बन्न सक्छ भन्ने प्रमाणित गर्दैछु

  • विक्रान्त मेहता, गायक/चिकित्सक

- कृष्ण भट्टराई

जेष्ठ ३१, २०७४-
गायिका अञ्जु पन्तसँग युगल गायन गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक हुन्- विक्रान्त मेहता । बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने मेहताले गायिका रजिना रिमालसँग पनि युगल गायन गरिसकेका छन् । आधुनिक गीतहरूको एउटा एल्बम नै तयार पारिसकेका यी गायकले झन्डै डेढ दर्जन चलचित्रका लागि पाश्र्व गायन गरिसकेका छन् । गुरुदेव कामत तथा राम सिटौलासँग संगीतको औपचारिक प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा होमिएका गायक मेहताको परिचय यतिमै सीमित छैन । डुमरिया, रौतहटमा जन्मिएका २८ वर्षीय मेहता चिकित्सकसमेत हुन् । तीन वर्षअघि चीनबाट एमबीबीएस गरेका मेहता यतिबेला वीर अस्पतालको ट्रमा सेन्टरको आईसीयू विभागमा कार्यरत छन् । फुर्सदको समय संगीतलाई दिइरहेका मेहताले आफ्ना सेक्रेट कुरा साप्ताहिकमार्फत यसरी व्यक्त गरेका छन् :

इलाहाबादको साटो चीन
सानैदेखि संगीतप्रति रुचि राख्ने भएकाले म आईएस्सीपछि इलाहाबाद गएर संगीत अध्ययन गर्न चाहन्थें । बुवा भने मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । गायक बन्ने कि डाक्टर बन्ने भन्ने विषयले परिवारमा केही दिन सामान्य वादविवादसमेत भयो । अन्तत: बुवाले जित्नुभयो । म डाक्टरी पढ्न चीन जान बाध्य भएँ । बुवाले गायक बनिस् भने डाक्टर बन्न सक्दैनस्, डाक्टर बनिस् भने गायक बन्न कसैले रोक्दैन भन्नुभएको थियो । आज आएर बुवाको उक्त निर्णय सही रहेछ भन्ने लागिरहेको छ । 

अभिनय
संगीतबाहेक म अभिनयमा पनि उत्तिकै रुचि राख्छु । गायनलाई मैले चिकित्सा पेसापछिको दोस्रो पेसा बनाइरहेको अवस्थामा अभिनयलाई भने मैले सौखका रूपमा लिएको छु । मैले आफ्ना दुई युगल गीतका म्युजिक भिडियोमा अभिनयसमेत गरेको छु । निर्देशक अर्जुन अधिकारीको निर्देशनमा मैले अभिनेत्रीद्वय केकी अधिकारी (फूलको सुवास) तथा शिल्पा पोखरेल (तिम्रै तिम्रो) संग अनस्क्रिन रोमान्स गरिसकेको छु । राम्रो स्क्रिप्टको चलचित्रबाट प्रस्ताव आए अभिनय गर्न सक्ने आत्मविश्वास छ ।

भिडियो जक्की 
चिकित्सक तथा गायनबाहेक म न्यूज २४ च्यानलमार्फत भिडियो जक्कीका रूपमा दर्शकमाझ आइरहेको छु । केही महिनादेखि प्रसारण भैरहेको स्वास्थ्यमा आधारित कार्यक्रम ‘ह्वाइट कोट’ को सञ्चालन गरिरहेको छु । प्रत्येक सोमबार साँझ ६ बजेदेखि प्रसारण हुने यो कार्यक्रममा मैले स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै विभिन्न रोगका वरिष्ठ चिकित्सकसँग कुराकानी गर्छु । 

दुर्गाको भक्त 
म देवी दुर्गाको अनन्य भक्त हुँ । हप्ताको दुई दिन देवी दुर्गाका लागि व्रतसमेत बसिरहेको छु । विजयादशमीको नौरथा मेरा लागि विशेष हुन्छ । 

तीन दिन भेज 
म हप्ताको तीन दिन शुद्ध शाकाहारी खानेकुरा मात्र खान्छु । आइतबार, मंगलबार तथा बिहीबार म माछा–मासु खान्नँ । सानैदेखिको मेरो यो बानीलाई जीवनभर कायम राख्ने प्रयास गर्नेछु । 

संगीतकार विकास चौधरी 
विकास चौधरीलाई मैले सांगीतिक जीवनको टर्निङ प्वाइन्छ मानेको छु । मलाई चलचित्रको पाश्र्व गायनमा ल्याउने श्रेय उहाँलाई नै जान्छ । चौधरीको संगीत निर्देशनमा चलचित्र टिनएज, चिनारी, किन रुन्छ यो मनलगायत मैले झन्डै डेढ दर्जन नेपाली चलचित्रका गीतमा पाश्र्व गायन गरिसकेको छु । 

क्रिकेटर
म क्रिकेट खेलाडी पनि हुँ । विद्यालयमा छँदै मैले क्रिकेट खेल्न थालेको हुँ । कलेजमा छँदा पनि मैले क्लबका लागि क्रिकेट खेलेको छु । मैले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै क्षेत्रीय स्तरसम्मको क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छु । 

प्रकाशित :जेष्ठ ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्