सरकार आत्मीय छैन

- किशोर नेपाल

जेष्ठ ३१, २०७४-

कवि तीर्थ श्रेष्ठको अनुभवमा, नेपालका सरकारहरू बौद्धिक, साहित्यिक, सांस्कृतिक र कलाकारिताप्रति कहिल्यै आत्मीय हुन सकेनन् । यो क्षेत्रको विकासका लागि सरकारमा सकारात्मक सोच कहिल्यै आएन । संगीत नाटक र साहित्यले नेपालका विविध समुदायलाई जोड्न सक्छन् भन्ने प्रारम्भिक चेतनाको अभाव छ नेपाली शासनमा ।

कुरा सही हो । प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा खुसीयाली छाउने जुन परिकल्पना गरिएको थियो त्यो पूरा भएन । पञ्चायतकालमा जो बलिया थिए प्रजातन्त्र कालमा पनि तिनै व्यक्ति महाबली भए । त्यसपछि आयो लोकतन्त्र । यो कालमा पनि उनै कुरा दोहोरिए, जो पञ्चायतकाल र प्रजातन्त्रकालमा स्थापित भैसकेका थिए । 

कला, साहित्य र संस्कृतिका मामिलामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पूरै बेथितिमा छ । सुनिल पोखरेलको सपना ‘आरोहण गुरुकुल’ विस्थापनमा छ । एकपटक सुनिलले एउटा नाटक देखाएको थियो, सुइना कर्नाली । मुगुका कलाकारहरूलाई काठमाडौं ओरालेर एउटा सपना बुनेको थियो सुनिलले । संघीय नेपालमा विकासको सपना । त्यो सपना जीवित छ अहिले पनि । समस्या त गुरुकुल नै छैन ।
यत्रो महानगर काठमाडौंमा गुरुकुलका लागि सुनिल पोखरेलले एक टुक्रा जग्गा पनि पाएन । सरकारले ‘हुन्छ’ भनेर दिएको जग्गा सरकारकै मानिसहरूले दिएनन् ।

अहिले महानगरमा परिणत भैसकेको काठमाडौं सहरमा नाटक ओरालो लाग्दैछ । महँगो भाडामा जग्गा लिएर नाट्यशाला बनाएका छन् उत्साही कलाकारहरूले । ती नाट्यशालामा खुकुलो र सजिलोसित बस्दा ५० जना दर्शक अटाउलान् । ती नाट्यशालाहरूको भविष्यको ठेगान छैन । ती चलिरहने हुन् कि बन्द हुने हुन् ? चले कसको हुटहुटीमा चल्ने हुन् ? किन चल्नैपर्ने हो ? काठमाडौं मलको चोटामा एउटा नाट्यशाला चलाएका थिए उत्साही युवा नाट्यकर्मीहरूले । त्यो थिएटर बन्द भयो भर्खरै । व्यापारका लागि अनुपयुक्त त्यो स्पेसको सदुपयोगको अन्त्य नमीठो सन्देश हो नेपाली सोचाइको । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वको भवन हो । कोष प्रशासकले नेपाली समाजमा थिएटरको आवश्यकताका सम्बन्धमा अलिकति संवेदनशील भएर सोचिदिएको भए कोष आफैंले पनि एउटा थिएटर सञ्चालन गर्न सक्थ्यो । सञ्चय कोषजस्तो आर्थिक संस्थाका लागि त्यो कठिन कुरा पनि थिएन ।

नाट्यशाला सञ्चालन गर्ने राजन खतिवडा हुन् कि घिमिरे युवराज, अनुप बराल हुन् कि सुनिल पोखरेल सबै कलाकार हुन् । उनीहरूले त नाटक खेल्ने हो, नाटक खेलाउने हो । नाटकको निर्देशन गर्ने हो । राम्रा नाटकहरूको खोजी गर्ने हो । थिएटर चलाउने होइन । देशमा एउटा संगीत नाटक एकेडमी छ । त्यो सक्रिय भएर, विभिन्न क्लस्टरहरू तयार पारेर नाटकको विकासमा ठूलो योगदान दिन सक्छ, तर सरकारले त्यसको संगठन नाटकको विकासका लागि गरेको छैन । कर्मचारीका लागि तलबभत्तासमेत मुस्किलले छुट्याइने एकेडेमीबाट कस्तो संगीत र कस्तो नाटकको विकासको अपेक्षा गर्नु ?

तैपनि, युवा निर्देशक राजन खतिवडा आशावादी छन् । खतिवडा भन्छन्, संगीत नाटक एकेडमीमा सपना देख्ने ल्याकत भएका युवापुस्ताको प्रवेशले वातावरणमा सुधार आउन सक्छ । कवि, कलाकार 
र सर्जकहरूलाई प्रशासनमा अलमल्याउनु हुँदैन । 

संगीत नाटक एकेडमीका पहिलो सदस्य–सचिवका रूपमा काम गरेका तीर्थ श्रेष्ठको भनाइ राजनको भन्दा फरक छैन । उनको विचारमा, नेपाली नाट्यकार, कलाकार एवं संगीतकारहरूको मनोबल बढाउने उद्देश्य राख्नुपर्छ एकेडमीले । यो क्षेत्रमा सक्रिय रहेका संघ–संस्था तथा स्थानीय समुदायसँग मिलेर काम गर्नुको विकल्प छैन एकेडमीसँग । तीर्थले संगीत नाटक एकेडमीको सबै इन्फ्रास्ट्रक्चर तयार पारे । त्यसपछि बाहिरिए ।

तीर्थ भन्छन्, एकेडमीको अहिलेको जुन अवधारणा छ त्यो नै एकदम गलत छ । सुयोग्य र विद्वान् मानिस एकेडमीको नियुक्तिमा चाखै राख्दैनन् । अयोग्यहरू राजनीतिक नेताहरूको चाकरीमा धाउँछन् र प्राज्ञ बन्छन् । दलका नेताहरूको पुच्छर समातेर वैतरणी तर्ने परिपाटी कायम रहेसम्म साहित्य, कला र संगीतको विकास हुन सक्दैन ।

सुनील पोखरेलको भनाइ तीर्थको भन्दा फरक छैन । सुनिल भन्छन्, लोकतन्त्र भनेको यस्तै रहेछ कि भनेको कसैले सुन्दैन । बोलीको पहिचान हराएको अवस्थामा छौं हामी । हामीलाई बीपी कोइराला चाहिएको छ । देशले दूरदर्शी नेतृत्वको अभाव भोगिरहेको छ ।

 

प्रकाशित :जेष्ठ ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्