यसरी सफल हुन्छ, शेरबहादुर दाइको कार्यकाल

- मनोज गजुरेल

जेष्ठ २९, २०७४-  

वास्तवमा यो ‘भालुलाई पुराण’ हो तर ‘स्याललाई पुराण’ रहेछ भन्ने बुझिदिनुहोला । किनभने हिजोआज परम्परागत शब्दको अर्थ नै फेरिएको छ । अर्थको अनर्थ लगाइए फेरि व्यर्थको विवाद हुने भएकाले स्याललाई पुराण बुझ्नुपरेको हो ।

त्यसो त ‘स्याललाई पुराण’ शीर्षक पनि गलत हुँदैन । किनभने स्यालको सक्रियता पनि राति बढी हुन्छ । आज विश्लेषण गरिएका महानुभावहरूको गतिविधि पनि अँध्यारोमा, एकान्तमा, अन्योलमा, जनतालाई अलमल्याउने खालको हुने भएकाले स्यालसँग धेरै कुरा मिल्छ । आउनुहोस्, स्याललाई पुराण सुनाऔं ।
प्रिय शेरबहादुर दाइ, तपाईं चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नुभयो । दोस्रोमा आफन्तलाई बलियो गराउनुभयो । तेस्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनुभयो । अब, चौथो कार्यकाल देश र जनताका लागि समर्पित गर्नुहुनेछ भनेर आशा गर्न सकिने तर भर पर्न नसकिने गजुरियल ठम्याइ छ । 

ठम्याइ किन छ भने इतिहास हेरेर वर्तमानको आँकलन गर्न सकिन्छ । इतिहास भन्छ, शेरबहादुर दाइको विगत काण्डैकाण्डका झुण्ड हुन् । सुण्डमुण्ड चलाउनेदेखि सुत्केरी काण्ड, पजेरेको काण्ड, सांसद खरिदबिक्री काण्ड, पार्टी फुटाउ काण्ड, संसद् टुटाउ काण्ड, दरबारमा बुझाउ काण्डजस्ता थुप्रै काण्डका प्रकाण्ड प्रस्तुतकर्ता भएकाले तपार्इंको चौथो कार्यकाल पनि काण्डमय हुने खतरा छ ।

ज्योतिषशास्त्रले भन्छ, खतरा पन्छाउन सम्बन्धित सबैले ग्रहशान्ति गराउनुपर्छ । सम्बन्धित पक्ष भन्नाले दाइ स्वयं, दाइलाई बनाउने पुष्पकमल भाइ स्वयं, कांग्रेस पार्टी, पार्टी कार्यकर्ता, मिडिया र जनतासमेत पर्छन् । हामी सबैले दाइको कार्यकाल सफलताका साथ सम्पन्न होस् तथा काण्डहरूको ताण्डव देख्नु नपरोस् भनेर विशेष उपाय अपनाउनुपर्ने गजुरियल सुझाव छ ।

सबैभन्दा पहिले तपाईंको गृहशान्ति हुनुपर्छ दाइ । गृह भन्नाले पत्नीगृह र पार्टीगृह दुवै पर्छन् । प्रिय आरजु भाउजू, दाइको राजनैतिक ग्रहदशा तपाईंको हातमा छ । दाइलाई तपाईंले आवश्यक सुझाव दिनुपर्छ, अनावश्यक दबाब दिनु हुँदैन । बढुवामा हात नबढाउनोस् । सरुवामा साथ नदिनुहोस् । नियुक्तिमा नेतृत्व नलिनुहोस् । कमिसनको लोभ नगर्नुहोस् । घूसको भोग नलिनुहोस् । भ्रष्टलाई फेर समाउन नदिनुहोस् । तस्करलाई अबेरसम्म बस्न नदिनुहोस् ।

कांग्रेस पार्टीले देउवा दाइको ग्रहशान्ति गरिदिनुपर्छ । गुटको गञ्जागोल नबनाउनुहोस् । फुटको पिलो नचलाउनुहोस् । ठेक्कापट्टाको ठट्टामा नलाग्नुहोस् । पार्टीलाई एकढिक्का बनाउनुहोस् । ढिक्कालाई नुनजस्तो नपगाल्नुहोस् । सहमतिको ढोकामा बार नलाउनुहोस् । विमतिको समस्या पार लगाउनुहोस् । पक्षको मान गर्नुहोस् । विपक्षलाई सम्मान गर्नुहोस् । प्रतिपक्षको अपमान नगर्नुहोस् । कमाउ धन्दामा लागेर समाजवादी सिद्धान्तलाई बदनाम नतुल्याउनुहोस् । 

प्रचण्ड कमरेड, तपाईंको दायित्व हो, शेरबहादुर दाइको कार्यकाल सफल बनाउनु । बोलीमा ब्रेक लगाउन भन्नुहोस् । व्यवहारमा नियन्त्रण राख्न सिकाउनुहोस् । कालोलाई सेतो भने करेक्सन गराउनुहोस् । अर्घाखाँची जाने भन्दै राँची लागे भने डाइरेक्सन बताउनुहोस् । बोलि नबुझिए, व्यवहारबाट देखाउन लगाउनुहोस् । व्यवहार राम्रो नदेखिए घरबार सम्हालेर बस्न भन्नुहोस् । देशको दोहन गर्ने लाइनमा अरू पनि छन्, तिनलाई चान्स दिनुहोस् ।

प्रतिपक्षमा ओली बा छन् । बा, तपाईंको कामभन्दा बोली बलियो छ । हतारमा सरकार ढाल्ने भाषण नदिनुहोला । प्रचण्ड नरम भैसके, धेरै नपेल्नुहोला । देउवाका ग्रह बलिया छन् । ग्रह बलिया भएकैले दक्षिण उनको दाहिना छ । दक्षिण दाहिना भएपछि पूर्व, पश्चिम, उत्तर जतिसुकै बलियो भए पनि काम छैन । सत्ताबिनाका नेता र पानीबिनाका माछा उस्तै हुन्छन् भन्छन्, तर पानीबिनाको भ्यागुता बन्ने प्रयास गर्नुहोस् । तपाईंलाई थाहा भएकै कुरा हो भ्यागुतालाई पानी भए पनि ठीकै छ, नभए पनि ठीकै छ ।

 

प्रकाशित :जेष्ठ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्