शत–प्रतिशत नेपाली हुँ– मिस नेपाल २०१७

- कृष्ण भट्टराई

जेष्ठ २८, २०७४-
उपाधिलाई कसरी सेलिब्रेट गरिरहनुभएको छ ? 
पछिल्ला दुई महिनामा मैले गरेको मेहनतले रंग ल्याएकाले म अहिले आफैंप्रति गर्व गरिरहेकी छु । खुसीको त सीमा नै छैन । 

कम समयको मेहनतबाटै सफल हुँदा कस्तो अनुभूति हुँदो रहेछ ? 
नढाँटी भन्ने हो भने मेरा लागि यो उपाधि ‘सरप्राइज प्याकेज’ का रूपमा आएको छ । करिब तीन महिनाअघि म अर्कै उद्देश्यले बैंगलोरबाट काठमाडौं आएकी थिएँ । उक्त उद्देश्य त पूरा भयो नै, त्यसका साथै यो सफलतापछि अब म सधैंका लागि नेपालमै बस्न पाउने भएँ । 

बैंगलोरबाट कुन उद्देश्यले नेपाल आउनुभएको थियो ? 
केही महिनाअघि सम्पन्न नेपाल फेसन विकको अडिसन दिन म काठमाडौं आएकी थिएँ । अडिसनमा उत्तीर्ण भएर फेसन विकमा सहभागी हुने क्रममा नेपालका थुप्रै सेलिब्रेटीसँग भेटघाट भयो । 

मिस नेपाल–२०१७ मा प्रतिस्पर्धा गर्ने योजनाचाहिँ कसरी बन्यो ? 
हयात होटलमा फेसन शोपछि म एक्लै बसेर डिनर लिइरहेकी थिएँ । प्राय: कसैलाई नचिन्ने भएकाले एक्लै बसेर खाना खानु मेरो बाध्यता थियो । त्यही क्रममा हिडेन ट्ेरजरका सुवर्ण क्षेत्रीसँग मेरो कुराकानी भयो । उहाँले नै मलाई मिस नेपाल–२०१७ मा सहभागी हुन सक्ने बताउनुभयो । भाग्यवश त्यतिबेला मिस नेपालको काठमाडौं अडिसन हुने क्रममा थियो । मैले आवेदन दिएँ, अडिसनमा उत्तीर्ण भएपछि म मिस नेपालको प्रतिस्पर्धी बनें । 

बैंगलोरमा के गर्दै हुनुहुन्थ्यो ? 
बैंगलोरमा म दिदीसँगै बसेर मोडलिङमा सक्रिय हुन खोजिरहेकी थिएँ । अध्ययनका लागि दिदी पहिलेदेखि नै त्यहाँ हुनुहुन्थ्यो । म भने आफ्नो पुख्र्यौली थलो राजस्थानमा थिएँ । प्लस टुको अध्ययन सम्पन्न भएपछि म मोडलिङका लागि बैंगलोर पुगेकी थिएँ । त्यस क्रममा मैले थुप्रै फोटोसेसन गराउनुका साथै आधा दर्जनभन्दा बढी फेसन शोमा क्याटवाक गरें । 

मोरङमा जन्मिएकी मान्छे, राजस्थान कसरी पुग्नुभयो ? 
मैले अघि नै भनें, राजस्थान हाम्रो पुख्र्यौली थलो हो । त्यहाँबाट करिब ८० वर्षअघि हाम्रा पूर्खा मोरङको उर्लावारीमा बसाइँ सर्नुभएको थियो । मेरो बुवा उर्लाबारीमै जन्मनुभयो । म पनि त्यहीं जन्मिएँ । म उर्लाबारीकै पशुपति बोर्डिङ स्कुलमा अध्ययनरत थिएँ । कक्षा ८ को अन्तिम परिक्षा दिने क्रममा तराई–मधेसमा भएको आन्दोलनका कारण धेरै दिन विद्यालय बन्द भयो । पढाइ बिग्रने डरले मलाई अभिभावकले राजस्थान लगेर पढाउने निर्णय गर्नुभयो । त्यसैले मैले कक्षा ९ देखि १२ सम्मको अध्ययन राजस्थानमै गर्नुपर्‍यो । 

तपाईंको अध्ययन कहाँ पुग्यो ? 
काठमाडौं आउनुअघि म नोयडाको एउटा विश्वविद्यालयमा कमर्सको छात्राका रूपमा स्नातक तहमा भर्ना भएकी थिएँ । बैंगलोरमा दिदीको पढाइ सकिएकाले म नोयडा सिफ्ट हुने क्रममा थिएँ । त्यहीबेला नेपाल फेसन विकको अडिसन दिने अवसर जुर्‍यो । म त्यसका लागि काठमाडौं आएँ । यहाँ आएपछि मिस नेपालमा प्रतिस्पर्धा गर्ने मौका पाएँ । उपाधि नै जितेपछि कम्तीमा एक वर्ष त मैले यहीं बिताउनुपर्छ । आफ्नै देशमा पाएको यो ऐतिहासिक उपलब्धिपछि म सधैंका लागि यहीं बस्ने मुडमा पो पुगेकी छु । 

प्रशिक्षणका क्रममा उपाधि नै जित्छु जस्तो लागेको थियो ? 
यसपटकको प्रतियोगितामा हरेक प्रतिस्पर्धीमा कुनै न कुनै खुबी थिए । सर्वप्रथम त मैले हरेक प्रतिस्पर्धीबाट केही न केही कुरा सिकें । नेपालको कला, संस्कृति, वेशभूषा, बोलीचाली सबै कुरा सिकें । आफूमा भएको आत्मविश्वासलाई अझ दरिलो बनाएँ । यद्यपि मैले उपाधि नै जित्छु भन्नेचाहिं सोचेकी थिइनँ । 

मिस नेपालको अन्तिम चरणको प्रश्नको जवाफ दिइसकेपछिको अवस्था कस्तो थियो ? 
ग्रान्ड फिनालेको अन्तिम चरण सम्पन्न भएर हामी ब्याक स्टेजमा पुग्नेबित्तिकै सबैले मलाई बधाई दिन थाले । मचाहिं नतिजाको प्रतिक्षा गर्नुपर्छ भन्दै थिएँ । ‘कस्तो राम्रो जवाफ दियौ, तिमी नै मिस नेपाल हुन्छौ’ प्राय: सबै प्रतिस्पर्धीले मेरो उत्साह बढाइरहेका थिए । म भने अन्तिम घोषणा नसुनुन्जेल खुसी हुने पक्षमा थिइनँ । 

त्यसपछि के भयो ? 
उद्घोषकले एकपछि अर्को गर्दै विजेताहरू घोषणा गर्न थाल्नुभयो । मिस अर्थको घोषणा हुनुअघि दर्शकदीर्घाबाट मेरो नाम उच्चारण भएको सुनें । मिस अर्थ नै हुन्छु कि जस्तो लाग्यो । उक्त उपाधि रोजिना श्रेष्ठले जितेपछि दर्शकदीर्घाबाट झन् ठूलो स्वरमा मिस नेपालका रूपमा मेरो नाममा हुटिङ हुन थाल्यो । त्यसपछि भने म एकप्रकारले ढुक्क भएँ, किनभने मुख्य प्रतिस्पर्धीहरूले एक–एकवटा टाइटल जितिसक्नुभएको थियो । 

मिस नेपालका रूपमा आफ्नो नाम घोषणा हुँदा खासै एक्साइटेड देखिनु भएन नि ? 
यो मेरो सानैदेखिको बानी हो । म धेरै जनाको अगाडि आफ्नो दु:ख अथवा खुसी देखाउन सक्दिनँ । मिस नेपालको उपाधि मेरो जीवनकै सबैभन्दा ठूलो उपलब्धि हो भन्ने थाहा पाउँदा–पाउँदै पनि मैले आफ्नो खुसी प्रकट गर्न सकिनँ । 

विगतका वर्षहरूमा झैं यसपटक पनि मिस नेपालको विरोध भयो नि ? 
अघिल्ला वर्षहरूमा एउटै समुदायका युवतीले मिस नेपालको उपाधि जित्छन् भनेर आलोचना हुने गरेको रहेछ । यसपटक चाहिं म भारतीय हुँ भनेर आलोचना भएको सुनेकी छु । त्यस्तो आलोचनाले मलाई आश्चर्यमा पारेको छ । म नेपालमै जन्मिएर हुर्किएकी युवतीलाई मानिसहरू कसरी भारतीय भनिरहेका छन् भन्ने कुराले मलाई दु:खीसमेत बनाएको छ । 

तपाईंलाई भारतीयचाहिं किन भनिएको होला ? 
म अध्ययनका लागि केही वर्ष उता बसेकैले त्यस्तो भनिएको होला । मेरो लुक्स, रंग तथा बोलीको लवज पनि भारतीयको जस्तो भएकाले पनि यो कुरा आएको होला । यद्यपि म सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहन्छु भने– म शतप्रतिशत नेपाली हुँ । 

कस्तो स्वभावकी युवती हुनुहुन्छ ? 
म स्वभाविक छु । स–साना कुरामा एक्साइटेड अनि इरिटेड हुने बानी छैन । हरेक कुरा सोचेर गर्ने बानी छ । चित्त दुखेको कुरामा तत्काल प्रतिक्रिया जनाउँदिनँ, बरु एकान्तमा गएर रुन्छु । 

भारतको मोडलिङ यात्रा कस्तो रह्यो ? 
राजस्थानमा कक्षा १० मा अध्ययनरत छँदै मैले अभिनय एवं नृत्यको अवसर प्राप्त गरेकी थिएँ । त्यसमा मैले अब्बल काम गरेर देखाएकी थिएँ । अभिनयमा सानैदेखि रुचि थियो, त्यसलाई पूरा गर्न मोडलिङमा हात हालें । बैंगलोर पुगेर केही वर्ष मोडलिङ पनि गरें । चलचित्रमा अभिनय गर्ने रहर अझै पूरा भएको छैन । अबको एक वर्षपछि अभिनयको औपचारिक प्रशिक्षण नै लिएर चलचित्रमा आउनेछु । 

अभिनयमा रुचि अनि मोडलिङमा सक्रिय भएकी युवती, सौन्दर्य प्रतियोगितामा कसरी आकर्षित हुनुभयो ?
भारतमा आयोजना हुने अधिकांश सौन्दर्य प्रतियोगितामा मोडलहरू सहभागी भैरहेको देखेकी थिएँ, यद्यपि मलाई सौन्दर्य प्रतियोगितामा खासै रुचि थिएन । नेपाल आएको मौकामा मिस नेपालको अडिसन भैरहेको थाहा पाएपछि आफूलाई परीक्षण गर्न म यो प्रतियोगितामा प्रतिस्पर्धी भएकी हुँ । 

मिस नेपालको अन्तिम चरणमा यही वर्षदेखि लेखेर बोल्नुको साटो नलेखी बोलेर जवाफ दिने नियम बनाइयो । उक्त नियम तपाईंका लागि फाइदाजनक भएको हो ? 
यो नयाँ नियमले मलाई शतप्रतिशत फाइदा पुर्‍यायो । किनभने मेरा लागि निर्धारित तीन मिनेटको समयमा सबै कुरा लेख्न सम्भव थिएन । बोल्ने सुविधाले आफ्ना सबै कुरा व्यक्त गर्ने अवसर पाएँ । त्यही अवसरले मलाई यो सफलता दिलायो । 

उपाधिसँगै जन्मथलो उर्लाबारीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ? 
सकारात्मक प्रतिक्रिया पाएकी छु । उर्लाबारीवासीलाई धन्यवाद दिन केही साताभित्रै म त्यहाँ पुग्दैछु । मैले उपाधि जितेलगत्तै उर्लाबारीको हाम्रो घर अगाडि आतिसवाजी नै भएको कुरा सुनेपछि अत्यन्त खुसी लाग्यो । 

तपाईंको अबको यात्रा कसरी अघि बढ्छ ? 
मेरो सम्पूर्ण ध्यान मिस वल्र्ड–२०१७ मा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा केन्द्रित छ । आयोजक संस्थासँगको सहकार्यमा आफूलाई त्यसका लागि ग्रुम गर्नेछु । यसका साथै यो एक वर्ष म मिस नेपाल वल्र्डका रूपमा विभिन्न सामाजिक काममा समेत सक्रिय हुनेछु । एक वर्षपछि मात्र मेरो वास्तविक करियर प्रारम्भ हुनेछ । 

अधिकांशले तपाईंलाई भारतीय अभिनेत्री दीपिका पादुकोणजस्तै भनेका छन् नि ? 
मलाई भारतमै पनि त्यही भनिन्थ्यो । दीपिका मलाई सबैभन्दा मन पर्ने अभिनेत्री हुन् । उनीसँग आफ्नो तुलना गरिँदा अवश्य पनि खुशी लाग्छ । 

मिस नेपालको उपाधिका लागि अन्य प्रतिस्पर्धीहरूको नामको चर्चा चलेको सुन्नुभएको थियो ? 
मैले पनि सुनेकी थिएँ । त्यसक्रममा कतिपयले मेरो पनि नाम लिएका थिए । खासगरी मलाई फिचर गरिएका भिडियो सार्वजनिक भएपछि अधिकांशले मेरो बोल्डनेस तथा आत्मविश्वासको मूल्यांकन गर्नुभएको थियो । त्यो प्रशंसाले मेरो उत्साह बढेको थियो । 

मिस नेपाल हुन् आफ्नो कुन फ्याक्टरले सबैभन्दा बढी काम गरेको मान्नुहुन्छ ? 
म असाध्यै सकारात्मक सोच्छु । मैले आफैंप्रति गरेको विश्वासले सबैभन्दा ठूलो काम गरेको छ । 

फुर्सदमा के गर्नुहुन्छ ? 
चलचित्रहरू हेर्छु । म एक्लै बसेर चलचित्र हेर्न मन पराउँछु । सिनेमा हलमा गएर एक्लै चलचित्र हेर्दा अझ रमाइलो महसुस गर्छु । मलाई एक्सनबाहेक हरेक प्रकारका चलचित्र मन पर्छन् । 

नेपाली कलाकारहरू कत्तिको चिन्नुहुन्छ ? 
प्रियंका कार्की, आना शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, अनमोल केसी, आयुष्मान तथा आशिरमान देशराज जोशी एवं राजेश हमाललाई चिन्छु । 

तपाईंलाई मन पर्ने पहिरन ? 
यही नै भन्ने छैन । मलाई जुन पहिरन सुहाउँछ, त्यही पहिरन लगाउँछु । आफूलाई इलिगेन्ट देखाउने पहिरन लगाउन चाहन्छु । 

कत्तिको महत्वाकांक्षी हुनुहुन्छ ? 
अति नै महत्वाकांक्षी छु । मलाई कुनै कुरा चाहिन्छ भन्ने लागेपछि त्यो कुरा नपाउन्जेल शान्त भएर बस्न सक्दिनँ । 

आफूलाई मेन्टेन गर्न के गर्नुहुन्छ ? 
म नियमित जिम गर्छु । मेरो स्लिमनेसको रहस्य पनि नियमित जिम नै हो । 

आफू कत्तिको राम्री लाग्छ ? 
मलाई बनाउँदा भगवानले कुनै गल्ती गरेका छैनन् भन्ने लाग्छ । त्यसै पनि सुन्दरता भन्ने कुरा मान्छेको हेर्ने आँखामा भर पर्छ ।

प्रकाशित :जेष्ठ २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्