कतार संकट : कस्तो असर पर्ला नेपालीहरूमा ?

- साप्ताहिक संवाददाता

जेष्ठ २७, २०७४- 

४ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको खाडी मुलुक कतारसँग उसका सात छिमेकी देशले कूटनैतिक सम्बन्ध विच्छेद गरेका छन् । नेपाली कामदारका लागि दोस्रो ठूलो श्रमबजार कतारसँग मध्यपूर्वका ६ देश तथा एक दक्षिण एसियाली देशले कूटनैतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न हुन सक्ने सम्भावित संकटलाई लिएर नेपालमा पनि चिन्ता र चासो सुरु भएको छ ।  

मलेसियापछि नेपाली कामदारका लागि ठूलो श्रम गन्तव्य रहँदै आएको कतारसँग उसका छिमेकी साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया, यमन तथा दक्षिण एसियाली देश माल्दिभ्सले गत सोमबार कूटनैतिक सम्बन्ध विच्छेद गरेका हुन् । ती मुलुकहरूले कतारले इस्लामिक स्टेट (आईएसआईएस), अलकायदा र मुस्लिम ब्रदरहुडजस्ता चरमपन्थी आतंकवादी एवं साम्प्रदायिक समूहलाई आर्थिक तथा कूटनैतिक सहयोग गरेर मध्यपूर्वको शान्ति खलबल्याउन खोजेको आरोप लगाएका छन्, तर कतारले भने ती आरोपहरू तथ्यहीन र झूटो भन्दै खण्डन गरेको छ । 

कूटनैतिक सम्बन्ध विच्छेद गरेका ती देशले आफ्ना कूटनैतिक नियोगलाई समेत कतारबाट फिर्ता बोलाएका छन् भने आफ्ना देशमा रहेका कतारका कूटनैतिक नियोगलाई पनि ४८ घण्टाभित्र देश छाड्न उर्दी जारी गरेका छन् । उनीहरूले कतारमा रहेका आफ्ना नागरिक फिर्ता हुने समय समेत तोकेका छन् । ती मुलुकले आफ्ना देशमा रहेका कतारीहरूलाई पनि १४ दिनभित्र देश छाड्न आदेश दिएका छन् ।

२५ लाख मात्र जनसंख्या भएको कतार तीव्रतर आर्थिक विकास गरिरहेको खाडी क्षेत्रको सानो मुलुक हो । उसको समृद्धिका प्रमुख सूचकका रूपमा कतार एयरवेज, अलजजिरा टेलिभिजन तथा सन् २०२२ मा हुने विश्वकप फुटबलसम्बन्धी तयारीलाई लिन सकिन्छ । विश्वको तेस्रो ठूलो ग्याँस भण्डार भएको कतारको आम्दानीको मुख्य स्रोत पेट्रोलियम पदार्थ एवं प्राकृतिक ग्याँस हो । यद्यपि मध्यपूर्वका उसका ६ छिमेकीले कूटनैतिक सम्बन्धसँगै, सीमा, आर्थिक एवं हवाई सम्बन्ध विच्छेद गरेपछि भने कतारको अर्थतन्त्र धर्मराउने र त्यहाँ कार्यरत अन्तर्राष्ट्रिय श्रमिकहरूका लागि समेत अहसज अवस्था सिर्जना हुने अनुमान गर्न थालिएको छ । ती देशले कतारसँग जल, जमिन र हवाई सीमा समेत बन्द गरेका छन् ।

इत्तिहाद एयरवेज तथा फ्लाई इमिरेट्सले आफ्ना उडानहरू कटौती गरिसकेका छन् भने कतार एयरवेजलाई आफ्नो देशका हवाई क्षेत्र प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ । यसका साथै साउदी अरेबियाले कतार जोड्ने एकमात्र स्थलमार्ग बन्द गरिदिएको छ । अरब क्षेत्रका छिमेकीहरूले साथ छाडेपछि एक्लिएको कतारमा आर्थिक संकट उत्पन्न हुने, तीव्र रूपमा अघि बढिरहेको पूर्वाधार निर्माणमा असर पर्ने तथा त्यहाँ ठूलो मात्रामा रोजगारी कटौती हुने विश्लेषण गर्न थालिए पनि कतार सरकारले भने आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कामदारलाई ढुक्क रहन आग्रह गरेको छ । सम्भावित खाद्य संकटको हल्लाका बीच कतारमा पहिलो दिन बजारमा मानिसहरूको भीड लागेपछि दोस्रो दिनदेखि स्थिति सामान्य भएको बताइएको छ । कतारले स्थलमार्गबाट आपूर्ति हुने खाद्यान्न एवं निर्माण सामग्रीलाई हवाई तथा सामुद्रिक मार्गबाट आपूर्ति गर्न थालेको छ ।   आखिर कतार र उसका छिमेकीबीचको सम्बन्ध किन बिग्रियो ? कतारले हासिल गरिरहेको उच्च आर्थिक समृद्धि, उसले रूस र इरानसँग बढाउँदै लगेको सम्बन्ध, अमेरिका र कतारबीचको सम्बन्धमा देखिएको असहजता, मुस्लिम ब्रदरहुडका सदस्यहरूलाई कतारले गरेको सहयोग आदि कारण छिमेकीहरूसँग उसको सम्बन्ध बिग्रिनुको मुख्य कारण मानिएको छ । कतिपयले यो घटनालाई सन् २०२२ को विश्वकपलाई कतारको हातबाट फुत्काउने अमेरिकी तथा पश्चिमा देशहरूको प्रयासका रूपमा समेत अथ्र्याउन थालेका छन् । 

नेपालीहरूलाई असर

सन् २००५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारसँग श्रम सम्झौता गरेपछि नेपाली कामदार कतारतर्फ ओइरिन थालेका हुन् । पछिल्लो सरकारी तथ्यांकले बितेका वर्षहरूमा झन्डै १० लाख नेपाली रोजगारी लागि कतार पुगेको देखाएको छ । 

मध्यपूर्वका ६ राष्ट्रको कतारसँगको सम्बन्ध तनावपूर्ण भएपछि आफ्नो ठूलो जनसंख्या कार्यरत रहेकाले नेपालको चासो पनि स्वभाविक रूपमा कतारमाथि केन्द्रित हुन पुगेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल कतारमा विकसित पछिल्लो घटनाक्रमले नेपालीहरूमाथि तत्काल कुनै प्रत्यक्ष असर नपरेको बताउँछन् । त्यहाँको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ, पौडेलले साप्ताहिकसँग भने— हामी त्यहाँको अवस्थाका बारेमा परिचित र निरन्तर अपडेट छौं । नेपाली कामदारहरूलाई नियमित रूपमा अनुगमन गरिरहेका छौं । 

कतारका लागि पूर्व नेपाली राजदूत सूर्यनाथ मिश्रले कूटनैतिक सम्बन्ध मात्र ‘ब्रेक’ भएकाले कतारका नेपालीहरूलाई त्यसले खासै ठूलो प्रभाव नपार्ने बताए । अहिलेको अवस्थामा कुनै पनि कम्पनीले थप कामदार नलग्लान्, त्यो फरक कुरा हो, पूर्वराजदूत मिश्रले साप्ताहिकसँग भने— त्यहाँ भएका कामदारमाथि तुरुन्तै असर पर्ला जस्तो लाग्दैन ।

कतिपयले भने कतारमा देखिएको पछिल्लो संकटको प्रभाव त्यहाँ रहेका नेपाली कामदारमा पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले साउदी अरेबियाले ४० प्रतिशत खाद्यान्न र निर्माण सामग्री आयात हुने एकमात्र स्थलमार्ग बन्द गरिदिएपछि खाद्यान्न महँगो हुने एवं निर्माण सामग्री अपर्याप्त हुने भएकाले रोजगारीमा कटौती हुने बताइरहेका छन् । उता कतारस्थित नेपाली राजदूतावासले कतारको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै खाद्यान्नलगायतका कुनै पनि सामग्रीको अभाव नरहेको जनाएको छ । कूटनैतिक जानकारहरू प्राकृतिक विपत्ति र युद्धको जस्तो संकटपूर्ण अवस्था नरहेकाले अहिले चिन्ता गर्नुपर्ने कारण नभएको बताउँछन् । उनीहरूका अनुसार कतारको अहिलेको अवस्था ‘डिप्लोमेटिक रक्चर’ भएकाले चाँडै यसको समाधान हुनेछ । 

कूटनैतिक सम्बन्ध ब्रेक भएको छ, तर वार्ताको प्रयास पनि जारी छ, वार्ताबाट अहिलेको समस्या समाधान हुन्छ जस्तो लाग्छ, पूर्वराजदूत मिश्रले थपे, कूटनैतिक सम्बन्धको ब्रेकले कतारलाई मात्र नभै सबैलाई असर पार्छ । कतार त अझ धेरै आयात गर्ने देश हो । मिश्रले पहिलेदेखि नै कतार र अरबका उसका छिमेकीहरूबीच चिसो सम्बन्ध रहेको बताउँदै यसमा पक्कै सुधार आउने विश्वास व्यक्त गरे । एकथरी विज्ञ भने कतारमा यो संकट लामो समय कायम रहे कतारको अर्थतन्त्र एवं पूर्वाधार निर्माणमा असर पर्ने, नयाँ कामदार लिन बन्द गर्ने र त्यहाँ काम गरिरहेकाहरूलाई समेत फिर्ता पठाउन सक्ने चुनौती उत्पन्न हुन सक्ने दाबी गर्छन् । 

कतारलाई के पर्ला असर ? 

सन् २०२२ को विश्वकप फुटबललाई केन्द्रमा राखेर कतारले ठूला रंगशाला तथा भौतिक पूर्वाधारहरू निर्माण गरिरहेको छ । उसले निर्माणमा प्रयोग हुने सामग्रीको ठूलो हिस्सा साउदी अरेबियासँग जोडिएको स्थलमार्गबाट आपूर्ति गर्दै आएको थियो । उक्त नाका नै बन्द भएपछि कतारले अब ती सामग्रीका लागि हवाई वा सामुद्रिक मार्ग प्रयोग गर्नुपर्नेछ, जसका कारण उसको निर्माण थप खर्चालु हुनुका साथै त्यसमा केही ढिलाइसमेत हुने देखिन्छ । 

कतारले यतिबेला कतार भिजन–२०३० ‘क्युएनभी’ नामक महत्वकांक्षी योजनामा मुलुकलाई अघि बढाइरहेको छ । छिमेकीहरूसँग देखिएको कूटनैतिक तनावको प्रभाव उसको यो महत्वकांक्षी योजनामा पनि पर्न सक्छ ।  पछिल्लो कूटनैतिक रक्चरले कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको व्यवसायमा पनि असर पर्नेछ । कतार एयरवेजले सम्बन्ध विच्छेद भएका ६ मुलुकका विभिन्न स्थानमा उडान भर्छ, तर पछिल्लो तनावपछि उसका महत्वपूर्ण उडान गन्तव्य रियाद, अबुधाबी, दुबई, कायरो आदिका उडान प्रभावित भएका छन् भने दोहास्थित व्यस्त एयरपोर्टमा पनि त्यसको असर देखिएको छ । 

कतारको अर्को टाउको दुखाइ खाद्यान्न आयात पनि हो । कतारको स्थल सम्पर्कको एक मात्र नाका साउदी अरेबियासँग जोडिएको छ । उक्त मार्गबाट मात्र कतारले ४० प्रतिशत खाद्य सामग्री आयात गर्दै आएको छ । स्थलमार्गबाट खाद्यान्नको आपूर्ति बन्द भएपछि कतारले खाद्यान्न आपूर्तिका लागि हवाई एवं सामुद्रिक मार्ग प्रयोग गर्नुपर्नेछ, जसका कारण कतारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्न सक्छ । कतारका लागि अर्को महत्वपूर्ण प्रश्न हो— छिमेकी देशहरूसँगको सम्बन्धमा आएको तनावका कारण सन् २०२२ मा आयोजना गर्न लागिएको विश्वकप फुटबल उसको हातबाट फुत्कने त होइन ?

नेपालीहरूलाई तत्काल कुनै समस्या हुँदैन

सूर्यनाथ मिश्र, पूर्वराजदूत

कतारको उसका ६ छिमेकी मुलुकसँगको कुटनैतिक सम्बन्ध ब्रेक भएको हो । वार्ताको प्रयास भैरहेको छ । यसले निर्यात–आयातलगायत सबै क्षेत्रलाई असर पारेको छ । कतारले आयात बढी गर्छ, सम्बन्ध तोडिएका देशहरूले कतारमा निर्यात बढी गर्छन् । त्यसैले ती देशलाई पनि यसले असर पारिरहेको छ ।  

ती देशहरूबीचको सम्बन्ध पहिलेदेखि नै चिसो छ । म कतारको राजदूत हुँदा सरकारले मलाई बहराइनको ‘नन रेजिडेन्ट राजदूत’ नियुक्त गरेको थियो । मैले कतारबाट नन रेजिडेन्ट राजदूतका रूपमा बहराइन पनि हेर्ने गरी एग्रिमोका लागि पहल थालें, तर बहराइन सरकारले एग्रिमो पठाएन । कतार सानो देश हो, त्यहाँको रेजिडेन्टले बहराइन हेर्न नमिल्ने कुरा बताउँदै बहराइनले मेरो कार्यकालभरि एग्रिमो पठाएन । 

जहाँसम्म त्यहाँका नेपालीको कुरा छ, नेपालीलाई मात्र होइन्, जुन देशका भएपनि कतारमा रहेका आप्रवासी कामदारलाई खासै समस्या पर्दैन । कतारले सबैतिरबाट खाद्यान्न आयात गर्छ, ऊ कुनै एक देशसँग मात्र आश्रित छैन । कतारसँग १ सयभन्दा बढी एयरक्राफ्ट छन् 

र ऊ आर्थिक रूपमा निकै बलियो छ ।

कतारले साउदी अरेबिया, बंगलादेश, भारत तथा पाकिस्तानबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु पदार्थ आयात गर्छ । जापान, अमेरिकाबाट मोटर पार्टस ल्याउँछ भने दक्षिण कोरिया र चीन पनि उसका ठूला व्यवसायिक साझेदार हुन् । छिमेकीहरूसँग तनाव देखिएपछि परेको असर कम गर्न कतारले आवश्यक ब्यवस्था मिलाइसकेको छ । 

कतारसहित कूटनैतिक सम्बन्ध तोड्ने सबै देश संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र हुन् । त्यसैले बिग्रिएको सम्बन्ध कसरी राम्रो बनाउने भन्ने विषयमा संयुक्त राष्ट्रसंघले पनि पहल लिन्छ । ठूलो मुलुकले सानो मुलुकप्रति ज्यादती पूर्ण व्यवहार गर्‍यो भने संयुक्त राष्ट्रसंघले सुधार गर्न लगाउँछ । मध्यस्थता गरेर समस्या निवारण गर्छ । त्यसैले पनि आत्तिइहाल्नुपर्ने अवस्था देखिँदैन ।

प्रकाशित :जेष्ठ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्