छोरी मेरो हुन् कि होइनन्

- डा. राजेन्द्र भद्रा

जेष्ठ २५, २०७४- 

म २५ वर्षको भएँ । मेरो लिंग सानो छ । विवाह पनि भएको छ । एक छोरी पनि छिन् तर म अलमलमा छु- छोरी मेरो हुन् कि होइनन् ? मैले विवाहअघि अरू दुई जनासँग कन्डम नलगाईकन धेरै पटक यौनसम्पर्क गरेको थिएँ, तर उनीहरूबाट बच्चा भएनन् । के मेरी श्रीमतीबाट जन्मेकी छोरी मेरै अंश होलिन त ? अनि लिंगको आकार बढाउन सकिन्छ कि सकिँदैन ? सकिन्छ भने कति दिन लाग्छ ?

 ०१४६

 

के सानो लिंगले सन्तान जन्माउन सकिन्न ? 

तपाईंले लिंगको नाप दिनु नभए पनि यौनसम्पर्क पर्याप्त गर्ने गर्नुभएको देखिन्छ । यसको अर्थ यो हो कि तपाईंको लिंग यौनसम्पर्कका लागि पर्याप्त हुने गरी लामो छ । अब सन्तान जन्माउन कुनै महिलाको गर्भ बस्नुपर्‍यो । गर्भ रहनका लागि पुरुषको शुक्रकीटको मिलन महिलाको डिम्बसँग हुनुपर्‍यो । यसरी मिलन भैसकेपछि बनेका निषेचित डिम्ब पाठेघरको भित्तामा आएर टाँसिएर त्यहाँ विकसित हुनुपर्‍यो ।

यस क्रममा कुनै व्यक्तिले सन्तानको पिता बन्न आफ्नो वीर्यलाई महिलाको योनिमा सफलतापूर्वक स्खलित गराउनुपर्छ । तपार्इंलाई थाहै छ, यस्तो काम यौनसम्पर्क गरेर गरिन्छ । 

पत्रपत्रिकामा देखिने विज्ञापनमा दाबी गरिएजस्तो लिंग सजिलै लामो बनाउन सकिँदैन । शल्यक्रियाले लामो बनाउन सकिने भए पनि यसका आफ्नै जटिलता पनि छन् । 

अरूसँग यौनसम्पर्क गर्दा किन गर्भ नरहेको होला ?

यो कुरा पक्कै हो कि कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुन डिम्ब निस्केको बेला हुनुपर्छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यो समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्केको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । 

तपाईंले यौनसम्पर्क राख्नुभएका अन्य युवतीहरूका बारेमा केही बताउनुभएको छैन । उहाँहरूको पृष्ठभूमि के हो ? तपार्इंको राम्रो चिनजानको साथी कि, त्यसै भेट भएर केही समयमा यस्तो सम्बन्ध राख्न पुगिएको हो कि ? देहव्यापारी वा तपाईंसँग गहिरो प्रेम भएकी हुन् कि ? उहाँहरूले तपार्इंको गर्भ बोक्ने चाहना किन राख्ने ? तपाईंसँगको सम्बन्धको दिगोपनको आधार के ? यस्ता परिस्थितिमा उहाँहरूले पक्कै पनि आफू गर्भ नरहने स्थितिमा यौनसम्पर्क राख्नुभएको हुन सक्छ । जस्तो कि, मासिक चक्रको गर्भ नरहने समयमा । शंका लागे आकस्मिक गर्भनिरोधको उपाय गर्नुभएको हुन सक्छ । कतिपय यस्ता भैपरी यौनसम्पर्क नियमित रूपमा हुने स्थिति छ भने गर्भ निरोधका अन्य उपाय गर्नुभएको पनि हुन सक्छ । गर्भ निरोधका लागि तपाईंले कन्डम लगाउनुपर्ने नै भन्ने छैन, गर्भनिरोधका अन्य उपाय 

पनि छन् । 

छोरी आफ्नो होइन कि ? 

तपाईंले अन्य युवतीसँग यौनसम्पर्क गर्दा गर्भ नरहेको आधारमा आफ्नी श्रीमतीले जन्माएको सन्तानलाई आफ्नी छोरी होइन कि भन्ने शंका गर्ने आधार हुन सक्दैन । तपाईंसँग अन्य आधारहरू छन् भने त्यसका बारेमा छलफल गर्न सकिन्छ । कसैलाई त्यसै शंका गर्न पाइँदैन । 

बरु तपाईंले आफ्नी श्रीमतीसँग मात्र सम्बन्ध नराखेर अरूसँग सम्बन्ध राखेर उहाँलाई विश्वासघात गरिसक्नुभएको छ । आफूले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध राखियो भन्दैमा श्रीमतीले पनि त्यस्तो सम्बन्ध राखेर सन्तान जन्माइन् होली भन्ने सोच राख्नु आफंैमा दुखद छ । यस्तो शंका रहिरह्यो भने तपाईंको वैवाहिक जीवन सुखद हुन सक्दैन ।

तपाईंले वीर्य परीक्षण गर्दा तपाईंको वीर्यमा शुक्रकीट नै छैनन् भने अर्को कुरा भयो । यसका बारेमा पनि तपाईंले केही लेख्नुभएको छैन, तर मलाई लाग्दैन कि तपाईंले वीर्य परीक्षण गराउनुभएको छ, नत्र अन्य महिलामा गर्भ रहने सम्भावनाको कुरा गर्नु हुन्नथ्यो होला । 

छोरी आफ्नो हो कि होइन कसरी पत्ता लगाउने ? 

पितृत्व विवादास्पद बन्दा DNA (Deoxy-ribonucleic acid) परीक्षण गरेर समाधान गर्न सकिन्छ । कुनै शिशुको पिता को हो भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको जाँचको माग संसारमा बढेको छ । सामान्यत: आमा, शिशु तथा पिताको आरोप लगाइएको व्यक्तिको परीक्षण गरिन्छ । कतिपय परिस्थतिमा शिशुको र भनिएको पिताको मात्र परीक्षण गरिन्छ । यस किसिमको परीक्षणका लागि सामान्यत: रगत लिई त्यसको जाँच गरिन्छ । नवजातध शिशुको हकमा साल र नाभी जोड्ने नलीको रगत लिए पनि हुन्छ । कहिलेकाहीं मुखभित्रको कोष buccal swab लिने गरिन्छ । नेपालमा यो परीक्षण विधि विज्ञान प्रयोगशालामा गर्न सकिन्छ ।

अन्तमा, निश्चित रूपमा कुनै आधार नभै त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो । एकपल्ट सोच्नुहोस् त, तपाईंले शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउनु हुँदा कति नरमाइलो मान्नुहोला । 

प्रकाशित :जेष्ठ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्