आइडलबाट चिनिएका युवा प्रतिभा

- ऋषि राई

जेष्ठ २५, २०७४-

नेपाल आइडलको मोफसलमा सम्पन्न अडिसनमा केही नयाँ प्रतिभा श्रोताहरूबीच परिचित भएका छन् । आइडलको अडिसनमा गोल्डेन टिकेट हात पार्ने फरक प्रतिभाहरूको प्रस्तुति विभिन्न युट्युब च्यानलमा (प्रत्येकको) २ लाख भ्युअर्स कटिसकेको छ । मोफसलमा सम्पन्न अडिसनबाट चर्चित भैसकेका ती नयाँ प्रतिभा नेपाल आइडलका प्रबल दाबेदार पनि हुन् :

 

सुरज तामाङ, मोरङ

ककरमाढी–२, मोरङका २२ वर्षीय सुरज तामाङको नेपाल आइडलको प्रस्तुति हेर्नेहरूको संख्या युट्युब च्यानलमा २ लाख कटिसकेको छ । उनको आफ्नै फ्यान फलोअर्स तयार भैरहेका छन् । गितार बजाएर अडिसन दिएका गुरुङको स्वर पृथक् छ । घर बनाउने मिस्त्री बुवा तथा गृहिणी आमाका छोरा सुरजमा फरक स्वरसहितको गायक बन्ने प्रशस्त सम्भावना छ ।

निप्पा क्षेत्री, भैरहवा 

गल्लामन्डी, भैरहवाकी २३ वर्षीया निप्पा क्षेत्रीले नेपाल आइडलको अडिसनबाटै आफ्ना लाखौं प्रशंसक बनाइसकेकी छिन् । आमाबुबाले छाडेपछि सिद्धार्थ बालगृहमा हुर्किएकी क्षेत्रीको गायनले धेरैको मन छोइसकेको छ । उनको जीवनको पृष्ठभूमिले धेरैको आँखा रसाएका छन् ।

साहिल जमिर तथा अफसर अली, बुटवल 

कोटिहवा, बुटवलका २१ वर्षीय साहिल जमिर अली तथा उनका भाइ अफसर अलीलाई पनि नेपाल आइडलको अडिसन राउन्डबाटै धेरैले चिनिसकेका छन् । बुवा वैदेशिक रोजगारीमा रहेका यी दाजुभाइ आमासँगै बुटवलमा मासु बेच्ने काम गर्छन् । संगीतको ज्ञान पनि लिइरहेका यी दाजुभाइको गीतले धेरैको मन छोइसकेको छ । आफ्नै पृथक् स्वर तथा लय दिन सक्ने अली दाजुभाइले आइडलबाटै फ्यान फलोअर्स बढाइरहेका छन् । 

शिवानी भगत, जनकपुर

जनकपुरकी १८ वर्षीय शिवानी भगतलाई उनका बुवा गनेस भगतले वीरगन्ज अडिसन पुर्‍याएका थिए । सानैदेखि गाउन थालेकी शिवानीले संगीत त सिकेकी छैनन्, यद्यपि उनले जनकपुरको गंगा आरतीमा भजन गाउँदै आएकी छिन् । उनको गायनले आइडलको अडिसन राउन्ड पार मात्र गरेन, धेरैले उनलाई चिनिसकेका पनि छन् । सानैमा आमा बितेपछि बुबा गनेसले उनलाई साथीको सल्लाहबमोजिम संगीतमा लगाए । उनका बुवा तथा उनको जीवनको कथा अडिसन राउन्डको सबैभन्दा भावुक क्षण पनि थियो ।

 

बुद्ध लामा, पोखरा 

बाँस्तोलाटार, पोखराका १७ वर्षीय बुद्ध लामा झट्ट हेर्दा गाउन सक्छन् भनेर पत्याउन गाह्रो पर्छ, तर जब उनले अडिसन राउन्डमा अरुण थापाको आँखाको निद खोसी लाने गाए, कुनै कमजोरी पत्ता लगाउन सकेनन् निर्णायकहरूले । सानैदेखि संगीत सिकेका बुद्ध बोल्न त्यति अभ्यस्त छैनन् तर गाउन भने पोख्त छन् । अहिले युट्युबमा बुद्धलाई खोज्नेहरू पनि प्रशस्तै छन् । युट्युबमा उनको पृष्ठभूमिको पनि खोजी भैरहेको छ । 

सागर आले, चितवन 

पटियानी, चितवनका सागर आले कक्षा १२ मा अध्ययनरत छन् । संगीतको औपचारिक कक्षा नलिए पनि उनको स्वरमा जादु छ । आधुनिक, पप, लोक सबै शैलीका गीत गाएर निर्णायकहरूको मन जितेका सागरलाई पनि दर्शकहरूले औधी रुचाएका छन् । 

सावित्री अधिकारी, नेपालगन्ज 

खजुरा, नेपालगन्जकी २१ वर्षीया सावित्री अधिकारीको स्वरले अडिसन राउन्डमा निर्णायकहरूको मन जित्यो । त्यतिमात्र होइन, उनले दर्शकहरूको मनसमेत जितिरहेकी छिन् । सावित्री मार्केटिङ गरेर परिवार पाल्न संघर्ष गरिरहेकी छिन् । 

 

सिर्जना कार्की, विराटनगर 

उर्लाबारीकी १६ वर्षीया सिर्जना कार्की, विराटनगरमा अध्ययनरत छिन् । सानैदेखि संगीतमा रुचि भएकी सिर्जना होटलमा पनि गीत गाउँछिन् । होटलमा गाउने केटी भनेर धेरैले कुरा काटे पनि उनले गाउन छाडिनन्, जसले उनको स्वरमा थप निखार ल्यायो ।

 

निशान्त दाहाल, झापा 

भद्रपुर, झापाका १९ वर्षीय निशान्त दाहालले संगीत सिकेका छन् । उनको गीतले पनि निर्णायकहरूको मन राम्रैसँग छोयो । दाहालले गाएको लौ सुन म भन्छु मेरो रामकहानी गीत सुन्दा लाग्छ, उक्त कालजयी गीतका वास्तविक गायक निशान्त नै हुन् । 

सुजाता पाण्डे, बुटवल

मनिग्राम, बुटवलकी २१ वर्षीय सुजाता पाण्डेले भोकल सिक्न थालेको एक वर्ष मात्र भएको छ, तैपनि उनको स्वरमा निकै निखार आइसकेको छ । उनले मेरो पाउमाजस्ता पुराना गीत मात्र होइन, ठमेल बजारजस्ता नयाँ गीत गाउँदा जजहरूले प्रतिक्रिया दिने ठाउँ पाएनन् । 

प्रकाशित :जेष्ठ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्