चार आना काठमाडौंमा

- अविरल थापा

जेष्ठ २५, २०७४-  

काठमाडौं, नेपालको राजधानी सहर । गाउँबाट सदरमुकाम सर्नु र सदरमुकामबाट नजिकैको सुविधा सम्पन्न सहरमा सर्न खोज्नु सामान्य मानिसको सपना नै हुन्छ । गाउँमै भनेजस्तो सर–सुविधा र कमाइ गर्ने वातावरण भए सम्भवत: कसैलाई आफ्नो ठाउँ छोड्न मन लाग्दैन । 

 जो काठमाडौंका रैथाने होइनन्, तर अध्ययन वा कामको सिलसिलामा काठमाडौं छिरेका छन्, प्रायको कुनै दिन कमाएर कम्तीमा चार आना घडेरी काठमाडौंमा किनेर यतै सुखसयलले बसौंला भन्ने चाहना हुन्छ । कतिले ऋण–धन गरेर केही वर्षमा त्यस्तो जोड्छन् भने कतिको त्यही सपना पूरा नहुँदै जुनी बित्छ । 

पैसा कमाउन गार्‍हो हुँदै गएको छ तर पैसाको अवमूल्यन बढ्दैछ । पोहोर ५ लाख आनामा आउने जग्गा यसपाला १० लाख पुग्छ तर त्यसअनुरूप आम्दानी बढ्दैन । अर्को वर्ष–अर्को वर्ष भन्दाभन्दै काठमाडौंमा जग्गा किन्ने धेरैको सपना पछाडि धकेलिँदै जान्छ । हिजोआज धेरैका छोराछोरीले विदेशबाट कमाएर पठाएको वा गाउँको घर–खेत बेचबिखन गरेर ल्याएको पैसाले पनि काठमाडौंमा घरजग्गा किन्न थालेका छन् । काठमाडौं ठाउँ सानो छ तर सबैलाई यहीं चाहिएको छ, त्यसैले एकफेर भाउ बढेपछि घटला भनेर चिताउनै पर्दैन । 

काठमाडौंमा जग्गा किन्न कोही खाडीमा घोटिँदैछन्, कोही अन्यत्र त कोही यतै घुँडा धस्दैछन् । क–कसले के–के गरेर काठमाडौंमा कति जग्गा किने कसैले सोधखोज गरेको छैन । जसले काठमाडौंमा घडेरी किन्न सक्यो ऊ ठूलो मानिस भयो । काठमाडौंको लालपुर्जा भएको मानिसलाई समाजले ‘क’ वर्गको नागरिक मान्छ । अझ किनेको जग्गामा घर ठड्याएर भाडा उठाउन थाल्यो भने त नवसामन्त नै कहलिन बेर लाग्दैन । 

कसले मेहनतले किन्यो, कसले घुस खाएर किन्यो, कसैले मतलब गर्दैन । त्यसले त यति आना वा यति रोपनी जग्गा किनेछ नि भनेपछि उसलाई हेर्ने समाजको नजर नै परिवर्तन हुन्छ । रैथानेमध्ये कतिले जोगाएर राखेका छन् भने धेरैले आफ्नो भागको जग्गा बेच्दै खाँदै छन् । अहिले त को रैथाने को भैखाने चिन्नै मुस्किल भैसकेको छ । 

न गतिला बाटाघाटा छन्, न खानेपानीको उचित व्यवस्था छ, न व्यवस्थित सहरीकरण तर काठमाडौं यति शक्तिशाली छ कि यहाँ नआई चैनले मर्न पनि पाइँदैन । अन्तिम औषधी उपचार गर्न काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ, किनभने राम्रा डाक्टर र अस्पताल यहीं छन् । उचित यातायातको व्यवस्था र अझ एक्सप्रेस रेल सुविधा हुने हो भने काठमाडौंनजिक रहेका काभ्रे, हेटौंडा, चितवनलगायतका ठाउँ एक घण्टा वा त्योभन्दा कम समयमा आउजाउ गर्न सकिन्छ र काठमाडौंमा बस्नैपर्ने बाध्यता घट्छ, तर सरकारी अधिकारीहरूको उदासिनता र खिचातानीले काठमाडौंमा अनियन्त्रित चाप बढिरहेको छ । आफ्नो गाउँ–ठाउँको जमिन बाँझै राखेर र घरमा ताल्चा लगाएर मानिसहरू काठमाडौंको चार आना खोज्न भौंतारिरहेका छन् ।

काठमाडौंमा ठ्याक्कै कति मानिस बस्छन्, त्यसको आँकडा सरकारसँग पनि छैन । घरधनीले दिनुपर्ने सुविधा र डेरावालाले मान्नुपर्ने नियम कागजमा होला, व्यवहारमा लागू छैन । काठमाडौंको कुनै कार्यालयमा पठाइएको चिठी मुस्किलले पुग्ला तर कुनै ठाउँ वा गल्लीमा बस्ने मानिसलाई कुनै कागजात पठाए पाउने सम्भावना कमै छ ।

यहाँ कुनै पनि कुरामा व्यवस्था बसालिएको छैन । यहाँ ठूलाबडाले ट्राफिक नियम मिचे पनि पुलिसले नदेखेझैं गर्छ । जेब्रा क्रसिङमा मानिसले पहिले बाटो काट्लान् भनेर सवारी चालक अझ तीव्र गतिमा गाडी हाँक्छन् । फोहर र प्रदूषण यति छ कि मास्क नलगाई कतै हिंड्न सकिँदैन र सफा लुगा लगाएर हिंडेको मानिस कार्यालय पुग्दा धुलाम्य भैसक्छ । यसो हेर्‍यो भने यहाँ बस्न लायक केही फेला पर्दैन । सामाजिक सञ्जालमा यसो भयो र उसो भएन भनेर धेरैले हल्लाखल्ला गर्छन् तर बाटोमा उत्रिएर सभ्य तरिकाले विरोध गर्नसम्म कोही अघ िसर्दैनन् । सहेर बस्नु र नियति भोग्नुको विकल्प छैन, किनभने कुनै पनि निकाय जवाफदेही र जिम्मेवार छैनन् । 
 

यदि व्यवस्थित सहरीकरण गरिन्थ्यो र जथाभावी तरिकाले स–साना टुक्रा घरजग्गा किनबेच गर्न नदिइएको भए हरेक सरसुविधा जोहो गर्न सहज हुने थियो । सरकारले अधिग्रहण गरी विदेशमा जस्तै एकीकृत तरिकाले बस्ती बसाल्न सकिन्थ्यो । त्यही जमिनमा अग्ला र सुरक्षित आवासको व्यवस्था भै छुटटै घरको साटो एक फ्ल्याटमै निर्वाह चल्थ्यो, तर यस्ता कुरा सरकारको नियन्त्रणमा नभै निजी क्षेत्रको हातमा गयो । धनीहरू फ्ल्याट किनेर बस्न सक्ने भए, तर कम आय भएकाले गतिलो डेरा पनि नपाउने अवस्था सिर्जना गरियो । सबैलाई चार आना किन्न पाए ढुक्क भइन्थ्यो भन्ने भयो र जथाभावी सहरीकरण बढ्न गै अनेकन् सामाजिक समस्या सिर्जना भैरहेका छन् । 
 

काठमाडौंमा घडेरी किनेर फुर्ती गर्ने र किन्न नसकेर आफूलाई कमजोर मान्ने मुर्खता कसैले गर्नु हुँदैन । त्यसको साटो काठमाडौंलाई व्यवस्थित एवं सफा राख्न आफुले भूमिका खेलें कि खेलिनँ र काठमाडौंमा घडेरी किन्न खोजेको धनले आफनो वृत्तिविकास र दरसन्तानको भविष्यका लागि उचित लगानी गरें कि गरिनँ भन्ने कुराले जो–कसैको सफलता मापन गर्नेछ । 

प्रकाशित :जेष्ठ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्