Teej banner

गर्भ फालेको झोकमा प्रेमिकाको हत्या, डेढ महिनापछि प्रेमी पक्राउ

- जनक तिमिल्सिना

जेष्ठ २४, २०७४

 

गर्भ फालेको झोकमा प्रेमिकाको हत्या गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले आफ्नी २३ वर्षीया प्रेमिका संचिता पाख्रिनको घाँटी थिचेर हत्या गरेको अभियोगमा २४ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरेको हो ।

 

तामाङलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । दुई वर्षदेखि प्रेममा रहेका संचिता र प्रशान्तबीच भएको शारीरिक सम्बन्धपछि संचिताको कोखमा बच्चा थियो ।

 

प्रशान्त बच्चालाई बचाउन चाहन्थे तर संचिताले गर्भपतन गराएपछि उनीहरुबीच विवाद बढेको थियो । त्यही विवाद बढ्दैं गएपछि प्रशान्तले एक महिनाअघि गत ४ बैशाखमा राति १२ बजे काठमाडौंको गंगाहिटीस्थित आफ्नो कोठामा प्रेमिकाको घाँटी थिचेर सलले घाँटीमा कसी हत्या गरेका थिए ।

 

हत्यापछि उनले संचिताको शवलाई सोही बेडमा सिरकले ढाकेर कोठामा ताला लगाएर विहान ५ बजे नै फरार भएका थिए ।  त्यसको चारदिनपछि  ८ बैशाखको बेलुका संचिताको बस्ने कोठाबाट गन्ध बाहिर आएको थियो । कोठा गन्हाउन थालेपछि छिमेकीले उनको कोठाको ढोका खोलेर हेर्दा संचिता पलङमा सिरकले छोपिएको र सलले घाँटी कसिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीर यतिबेला सडिसकेको थियो ।

 

संचिताको लाश भेटिएपछि उक्त घटनामाथि प्रहरीको महानगरीय अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान अगाडि बढ्दै जाँदा प्रहरीले फरार रहेका उनका प्रेमी प्रशान्तले हत्या गरेको खुल्न आयो । त्यसपछि प्रहरीले प्रशान्तको खोजी अगाडि बढायो । उनी भागेर दोलखा पुगेको खुल्न आएपछि दोलखा प्रहरीको सहयोगमा मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘हामीले उनलाई दोलखा प्रहरीको सहयोग पक्राउ गर्न सफल भएका हौं,’ अपराध महाशाखाका डिएसपी दिपक रेग्मीले भने ।

 

दुई वर्ष लामो प्रेम

रामेछापा रस्नालुकी २३ वर्षीया संचिता काठमाडौको गंगाहिटीमा बस्थिन । उनको पहिलो भेट २ वर्षअघि दोलखा बैतेश्वरका प्रशान्तसँग भयो । उनको परिचयको माध्यम बनेकी थिइन्, प्रशान्तको भतिजको श्रीमती गंगा तामाङ ।

 

गंगामार्फत एकअर्कासँग परिचित भएका प्रशान्त र संचिताबीच त्यसपछि नियमितजसो भेटघाट हुन थाल्यो । त्यही भेटघाट प्रेममा परिणत भयो । यसक्रममा उनीहरु नियमित भेटघाट गर्न र विभिन्न ठाउँहरु घुम्न थाले ।

 

केही महिनाअघि प्रशान्तले संचिताका लागि आफै कोठा खोजी दिए । उनले त्यसको भाडा पनि आफैले तिरिदिने गरेका थिए । यतिमात्र होइन्, प्रशान्तले संचितालाई खर्च समेत दिने गरेका थिए ।

 

प्रेममा रहँदा उनीहरुबीच शारिरीक सम्बन्ध स्थापित भयो । शारीरिक सम्बन्ध स्थापित भएपछि संचिता गर्भवती भइन् ।

संचिताको पेटमा आफ्नो गर्भ रहेको थाहा पाएपछि उनीहरुले २०७४ असारमा विवाह गर्ने योजना बनाएका थिए ।

 

संचिताको पेटमा रहेको बच्चा प्रशान्त राख्न चाहन्थे तर संचिताले विवाहपूर्व नै बच्चा पाउँदा लोकलाज हुने डर भएपछि उक्त बच्चा फालिदिएकी थिइन् । यही कुराले उनीहरुको प्रेम सम्बन्धमा विवाद बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । विवाद बढ्दै गएपछि प्रशान्तले ४ बैशाखमा संचितालाई बेडमा लडाए, घाँटी थिचे र सलले उनको घाँटी कसेर हत्या गरेपछि कोठामा ताला लगाएर फरार भएका थिए । 

 

प्रकाशित :जेष्ठ २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्