फर्कियो लोक ट्रेन्ड

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७४-
गत आइतबार चलचित्र दुई रुपैयाँमा समावेश गीत सुपारी दानालाई युट्युबमार्फत सार्वजनिक गरियो । लोकभाकाको उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँग निश्चल बस्नेत, आशिफ शाह र बुद्धि तामाङ नाचेका छन् । युट्युबमा सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै उक्त गीत झन्डै ३ लाख पटक हेरियो । युट्युबको कमेन्ट्समा पनि उक्त गीतको प्रस्तुति तथा शैलीलाई रुचाइएको प्रतिक्रिया आएका छन् । वडा नम्बर ६को सुर्केथैली खोइ पछि चलचित्रमा लोकशैलीका गीतहरू बनाएरै चर्चामा आइरहेका संगीतकार राजनराज शिवाकोटीकै स्वर, शब्द र संगीत रहेको उक्त गीत सुपारी दानाले छोटो समयमै लोकप्रियता पाउने लक्षण देखाएको छ ।

नेपाली चलचित्रमा लोकगीत राख्ने प्रचलन पुरानो हो । चलचित्र परिवर्तनमा समावेश गीत बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने, चलचित्र माइतीघरको गीत काला कुर्तैले छ महिने जागिरै खायाँ र चलचित्र कान्छीको कान्छी हे कान्छी, चिनोको मोहनी लाग्ला है गाउँलेको बोलीले जस्ता लोकभाका बोकेका गीतहरूले त्यतिबेला दर्शकको माया पाएका थिए । जब नेपाली चलचित्र संगीतमा संगीतकार शम्भुजित बासकोटाको आगमन भयो, उनले एकपछि अर्को लोकभाकाको गीतहरूलाई चर्चामा ल्याए । अल्लारेको रातो टीका निधारमा, ठूल्दाइको सुन सुन सनम, आफ्नो मान्छेको चट्ट रुमाल क्या मालुम, दैव संजोगको अच्छा लेकिन लन्डनको चिसो, नेपाली बाबुको त्रिशूली बगेर मस्र्याङ्दीमा झरेछ जस्ता अनेकौं लोकभाकाका गीतहरूको सिर्जना गरेर चर्चामा ल्याएपछि शम्भुजित बासकोटा मेलोडी किङका रूपमा कहलिए । 

अहिले त्यही कथा दोहोरिन लागेको आभास भएको छ । लोकभाकामा गीतहरूको सिर्जना गर्दै संगीतकार राजनराज शिवाकोटीले एकपछि अर्को चर्चा पाउन थालेका छन् । सुर्केथैली खोइले प्रत्येक नेपालीहरूको मन जितेपछि एकाएक चर्चाको शिखरमा पुगेका राजनराज शिवाकोटीको लोकभाकाको सिर्जना आफ्नो चलचित्रमा राख्न अहिले चलचित्र निर्माता–निर्देशकहरू लागि परेका छन् । सुर्केथैली खोइपछि छक्कापञ्जाको पूर्वपश्चिम रेलले पनि सफलता पाएपछि राजनराज शिवाकोटीसामु दर्जनभन्दा बढी चलचित्रको खात लागेको छ, जसमा लोकभाकाकै नाच्ने गीतको माग छ । राजन भन्छन्– लोकगीत कोठामा बसेर सिर्जना हुँदैन । देशभरका विभिन्न स्थानहरू घुम्छु र भाकाहरू टिपेर ल्याएर त्यसलाई रोचक बनाउँछु । त्यसका लागि मलाई समय लाग्छ, तर धेरै पहिलेदेखि नै मेरो संकलनमा विभिन्न लोकभाका भएकाले कम्तीमा दुई वर्षका लागि मसँग लोकभाकाका गीतहरूको जगेडा छ ।

राजन मात्र होइन, लोकलयलाई समातेर फ्युजन बनाउँदै एकपछि अर्को गीत सिर्जना गरिरहेका अर्का संगीतकार कालीप्रसाद बासकोटा हुन् । कालीप्रसाद बासकोटा चलचित्र रेशम फिलिलीको पारि त्यो डाँडाले अत्यधिक चर्चा कमाएपछि चलचित्र संगीतमा आफ्नो बेग्लै स्थान बनाउन सफल भए । त्यसपछि उनले सिर्जना गरेका गीतहरूमा पुरानो डुंगाको निर जहिले रिसाउनेमा गरिएको लोकभाकाको फ्युजनले धेरैको मन जित्यो । संगीतकार वसन्त सापकोटा आफ्ना गीतहरूलाई लोकलयमा ढालेर चर्चा दिन खप्पिस मानिन्छन् । नाइँ नभन्नु ल–३ को कम्मरमाथि पटुकीले लोकप्रियताको शिखर चुम्यो भने त्योभन्दा अघि लोकलयलाई फ्युजन बनाएर उनले सिर्जना गरेका गीतहरू सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, गाला रातै जस्ता गीतले उनलाई नेपाली संगीत क्षेत्रमा राम्रो स्थान दियो अनि बसन्त सापकोटाले चलचित्र हाउ फन्नीका लागि सिर्जना गरेको गीत शिरैमा शिरबन्दीले पनि चर्चाको नयाँ उचाइ छोयो । 

शम्भुजित बासकोटा, रन्जित गजमेर जस्ता पुराना संगीतकारहरूको संगीतमा पनि लोकलय अथवा लोकभाका हुन्थ्यो । त्यतिबेला उनीहरूले सिर्जेका गीतहरू अहिलेसम्म पनि चर्चित छन् । अहिलेको पुस्तामा देखिएका संगीतकारहरूमा त्यसको प्रभाव राम्रैसँग बसेको छ । मौलिक शब्द र झर्रो लवजलाई रचनामा समावेश गरेर मादल, मुर्चुङ्गा, सारंगी, बिनायो, ट्याम्को, सनै आदिको प्रयोग गरेर त्यसलाई आधुनिक तरिकाबाट रेकर्डिङ गरिएका चलचित्रका गीतहरू नेपाली श्रोताका माझ लोकप्रिय बनाइने शैली फेरि फर्केर आएको छ । यो क्रम चलचित्रमा मात्र होइन, पप तथा आधुनिक गीतमा पनि देखिएको छ । यसरी गीतहरूलाई लोकलय तथा भाकामा बनाउँदा दर्शक तथा श्रोताले पनि रुचाएका छन् ।

संगीतमा लोकगीतको यस्तो ट्रेन्ड फर्कनुलाई सबै संगीतकार तथा गीत–संगीतका पारखीहरूले शुभसंकेत मानेका छन् । 

 

प्रकाशित :जेष्ठ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्