एकसाथ देख्ने चाहना

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७४-

गत शुक्रबार अभिनेता आयुष्मान देशराज श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले आ–आफ्नो इन्स्टाग्राममा उस्तै–उस्तै एउटा पोस्टर अपलोड गरे । जसमा लेखिएको थियो— हामीलाई भोलि शनिबार दरबारमार्गमा भेट्नुहोस् । इन्स्टामा अपलोड भएको केही घण्टामै आयुष्मान तथा सृष्टिको उक्त स्ट्याटसमा हजारौं लाइक र सयौं कमेन्ट्स आए । शनिबार यी दुई सेलिब्रेटी एकसाथ पहिलो पटक एउटा कार्यक्रममा सहभागी हुँदै थिए । कार्यक्रम थियो, अन्तर्राष्ट्रिय स्तरको युनिसेक्स अर्थात् महिला तथा पुरुष दुवैका लागि सेवा दिइने सैलुनको उद्घाटन । 

आयुष्मान र सृष्टि जब दरबारमार्गको मर्कन्टाइल प्लाजास्थित दि भान युनिसेक्स सैलुन स्थलमा प्रवेश गरे, उनीहरूका लागि प्रतीक्षारत सयौं प्रशंसकले उनीहरूलाई घेरे । तस्बिर, सेल्फी र अटोग्राफ गर्दा गर्दै उनीहरूले घण्टौं बिताए । सैलुनको उद्घाटनपछि आयुष्मान र सृष्टिसँगै प्रशंसकहरूको त्यो जमात पनि सैलुनभित्र प्रवेश गर्‍यो । दि भानमा प्रवेश गरेर केही सेवा लिन्छु भन्ने विचार लिएर आएका आयुष्मानले अर्को दिन आउने वाचा गर्नुपर्यो । सृष्टि पनि दि भानका सञ्चालक रमेश पराजुलीलाई भन्दै थिइन्— आज सेवा लिन सकिएला जस्तो छैन, अर्को दिन साथीहरू लिएर आउनेछु । प्रशंसकहरूमध्ये केहीले सृष्टि र आयुष्मानलाई एकसाथ एउटा चलचित्रमा देख्ने चाहना रहेको पनि बताए । सृष्टिले भनिन्— कुनै न कुनै दिन अवश्य पनि तपाईंहरूको त्यो चाहना पूरा हुनेछ ।

 

प्रकाशित :जेष्ठ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्