मिस नेपालमा कसले मार्ला बाजी ?

- कृष्ण भट्टराई

जेष्ठ १९, २०७४-
आज शुक्रबार राति दस नबज्दै देशले नयाँ मिस नेपाल पाउँदैछ । साँझ ७ बजेपछि प्रारम्भ हुने मिस नेपाल–२०१७ को ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने १९ जना सुन्दरी मिस नेपालको उपाधिका लागि कडा प्रतिस्पर्धा गर्दैछन् । 

मिस नेपालकी प्रतियोगी नम्बर १ ललितपुरकी स्वस्तिका सिल्वाल हरेक कुरामा कडा परिश्रम तथा मेहनत गर्ने भएकीले यो प्रतियोगितामा आफू नै विजयी हुने आत्मविश्वास व्यक्त गर्छिन् । स्वस्तिकालाई मिस नेपालका प्रतिस्पर्धीहरूमध्ये आफैंसँग डर लागिरहेको छ । मिस नेपालको ठूलो मञ्चमा आएर आफूले आफूलाई कसरी प्रस्तुत गर्न सक्छु भनेर आफूलाई नै चुनौती दिएकी हुनाले म अन्य प्रतिस्पर्धीलाई उत्प्रेरणाका रूपमा मात्र लिन्छु, प्रतिस्पर्धीका रूपमा होइन, स्वस्तिका भन्छिन्— यसपटकको प्रतिस्पर्धामा सबै उत्तिकै सक्षम छन्, सम्भावित विजेताका रूपमा कुनै एक जनाको नाम लिन गाह्रो छ । यो प्रतियोगिताको सहभागिताले आफ्नो आत्मविश्वास बढाएको बताउँदै स्वस्तिकाले आफूमा भएको विशेषता थाहा पाउने अवसर पनि दिएको बताउँछिन् । इमान्दारितालाई आफ्नो सबल पक्ष मान्ने स्वस्तिका भावुक तथा अरूको दु:ख देख्न नसक्ने स्वभावलाई भने आफ्नो कमजोरी मान्छिन् । 

प्रतियोगी नम्बर २ ललितपुरकै रिङ्कु बज्राचार्यले आफूमा भएको आत्मवल, जिम्मेवारीपन, नम्रता तथा आकर्षक व्यक्तित्व नै मिस नेपाल बन्न सक्षम हुने विशेषताका रूपमा लिएकी छिन् । सबै जना प्रतिस्पर्धी आफ्नो ठाउँमा उत्तिकै राम्रा छन्, एउटा जिज्ञासामा रिङ्कुले भनिन्– मलाई कुनै पनि प्रतिस्पर्धीसँग डर लागेको छैन, जो सक्षम छ उसैले उपाधि जित्ने निश्चित छ । देशको प्रतिनिधित्व गर्न सक्ने, सकारात्मक सोच भएकी तथा राम्रो व्यक्तित्व भएकी प्रतिस्पर्धीलाई नै आफूले मिस नेपाल बनेको हेर्न चाहेको रिङ्कु बताउँछिन् । मिस नेपालको सहभागिताले आफूलाई जीवनको महत्वका बारेमा सिकाएको बताउँदै रिङ्कुले अनुशासनमा बस्न, हार नमान्न तथा सबैलाई आदर गर्न पनि यही प्रतियोगिताले सिकाएको बताइन् । मेरो बलियो पक्ष भनेको मेहनत, सकारात्मक सोच तथा उच्च आत्मबल नै हो, बलियो पक्ष बताएपछि आफ्ना कमजोरीका बारेमा रिङ्कलेु भनिन्– म अलि छिटो भावुक हुन्छु । 


प्रतियोगी नम्बर ३ झापाकी प्रियंका खड्काले मिस नेपालमा भाग लिएदेखि नै आत्मनिर्भर हुन सिकेकी छिन् । उनी बोल्न सक्ने भएकी छिन्, आफ्नो कुरालाई सही तरिकाले व्यक्त गर्न सक्ने भएकी छिन् । यसबाहेक प्रशिक्षणले आफूमा सकारात्मक पक्षहरूको विकास गरेको हुनाले उनी आफैंलाई मिस नेपाल बन्न योग्य मान्छिन् । प्रियंकालाई अन्य प्रतिस्पर्धीहरूमध्ये नीति शाह तथा रोजिना श्रेष्ठ राम्रा प्रतिस्पर्धी भएकाले उनीहरूसँग डर लागिरहेको छ । सर्वप्रथम त म आफैंलाई नै मिस नेपाल भएको हेर्न चाहन्छु, माइक्रो बायोलोजीमा स्नातकोत्तर अध्ययनरत प्रियंका भन्छिन्— यदि मैले जित्न नसकेको खण्डमा नर्मता गुरुङले उपाधि जितेको हेर्न चाहन्छु । मिस नेपालको सहभागिताले आफ्ना कमजोर पक्षहरू पत्ता लगाउन सहयोग पुर्‍याएको बताउने प्रियंकाले ती कमजोरीहरू सुधार्दै नेतृत्व गर्न सक्ने क्षमता बढेको समेत सुनाइन् । म भित्रको धैर्य धारणा गर्न सक्ने क्षमता नै मेरो बलियो पक्ष हो, प्रियंका भन्छिन्– धेरै जनाको सामु आफूलाई प्रस्तुत गर्न नसक्नु मेरो कमजोरी बानी थियो, तर अहिले त्यो हटेको छ । 

प्रतियोगी नम्बर ४ धादिङकी अनुशा लम्साल आफ्नो लगनशीलता, उपाधिप्रतिको सम्मान तथा जिम्मेवारी वहन गर्न सक्ने आत्मविश्वासकै कारण आफू मिस नेपाल बन्न सक्षम भएको तर्क गर्छिन्् । मेरो प्रतिस्पर्धा केवल मसँग मात्रै हो, अनुशा भन्छिन्– म हरेक दिन आफैंसँग प्रतिस्पर्धा गर्छु र आफैंलाई जित्ने प्रयास गर्छु । आफूबाहेक कसलाई मिस नेपाल भएको हेर्न चाहनुहुन्छ ? भन्ने जिज्ञासामा अनुशाले भनिन्– म आफूलाई नै मिस नेपाल भएको हेर्न चाहन्छु । यो प्रतियोगिताको सहभागिताले आफूलाई आत्मविश्वासी, निडर तथा जिम्मेवार हुन सिकाएको उनी बताउँछिन् । समय र परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने, जुध्न सक्ने तथा हार नमान्ने स्वभाव उनका बलिया पक्ष हुन् भने कमजोरीलाई शक्तिमा परिवर्तन गर्ने प्रयास तथा गल्ती र कमजोरीबाटै नयाँ पाठ सिकेर अघि बढ्ने उनको स्वभाव छ । 

प्रतियोगी नम्बर ५ बुटबलकी नर्मता गुरुङ आफ्नो इच्छाशक्ति, मेहनत तथा लगनशीलताले गर्दा आफू नै मिस नेपाल बन्न योग्य भएको बताउँछिन् । मलाई सबै प्रतिस्पर्धीहरूसँग उत्तिकै डर लागेको छ, नर्मता भन्छिन्— किनभने सबैसँग केही न केही खुबी छ । त्यसैले मेरा लागि सबै मुख्य प्रतिस्पर्धी हुन् । नर्मताले आफूबाहेक प्रियंका खड्कालाई मिस नेपाल भएको हेर्न चाहेको बताएकी छिन् । मिस नेपालले मलाई जीवनमा कहिल्यै हार नमान्ने तथा एकअर्कालाई साहारा दिँदै अघि बढ्ने शिक्षा दिएको छ, हङकङबाट मिस नेपालमा प्रतिस्पर्धा गर्न काठमाडौं आएकी नर्मताले आफ्नो बलियो तथा कमजोर पक्षका बारेमा भनिन्— मेहनत, सिक्ने चाहना तथा इमान्दारिता मेरा बलिया पक्ष हुन् भने बोल्दा डराउनु मेरो कमजोर पक्ष हो । 

प्रतियोगी नम्बर ६ वीरगन्जकी रोजिना श्रेष्ठले पनि आत्मबल, धैर्य, परोपकारी भावना तथा लगनशीलताले नै आफूलाई मिस नेपाल बन्न योग्य बनाएको धारणा व्यक्त गरेकी छिन् । म आफैंलाई आफ्नो प्रतिस्पर्धी मान्छु, रोजिना भन्छिन्— आफ्नै कमी–कमजोरीसँग प्रतिस्पर्धा गरेर अघि बढे जितिन्छ जस्तो लाग्छ । रोजिनाका अनुसार उनका लागि सबै प्रतिस्पर्धी समान छन् । सबैमा आफ्नै विशेषता छ । आफ्नो सहभागिता नै मिस नेपालको उपाधिभन्दा कम नभएको मान्ने रोजिना यो प्रतियोगिताले योग्यता निखार्न सिकाएको धारणा व्यक्त गर्छिन् । हार खाए पनि हरेस नखाने तथा समयअनुसार आफूलाई परिवर्तन गर्न सक्ने क्षमतालाई रोजिनाले आफ्नो बलियो पक्ष मानेकी छिन् भने चाँडै आत्तिने बानीलाई आफ्नो कमजोरी । 

प्रतिस्पर्धी नम्बर ७ काठमाडौंकी रोजिना श्रेष्ठ आत्मविश्वास, लगनशील, परिश्रमी तथा मेहनत स्वभावका कारण आफैंलाई मिस नेपाल बन्न योग्य मान्छिन् । सबै प्रतिस्पर्धी एक से एक छन्, रोजिना भन्छिन्– सबैमा केही न केही खुबी छ, त्यसैले मलाई कुनै पनि प्रतिस्पर्धीसँग डर लागेको छैन । मैले त आफैंलाई नै मुख्य प्रतिस्पर्धी मानेकी छु । उपाधिका लागि आफू बाहेक अन्य एक प्रतिस्पर्धीको नाम लिन आग्रह गर्दा रोजिनाले भनिन्— मेरा लागि हरेक प्रतिस्पर्धी मिस नेपाल हुन्, सबैले अदृश्य मुकुट लगाइसकेका छन् । मिस नेपालले आफूलाई उचित ढंगले बोल्न, हिँड्न, हाँस्न, खान, उठ्न र आत्मवल बढाउन सिकाएको बताउँदै रोजिनाले बोल्न सक्ने, परिश्रमी तथा इमान्दारितालाई आफ्नो बलियो पक्ष भनेकी छिन् भने यी कुरालाई निरन्तरता दिन नसकेको अवस्थामा त्यही नै आफ्नो कमजोरी हुने बताइन् । 

प्रतिस्पर्धी नम्बर ८ काठमाडौंकी आसिना बराल आफूमा भएको लगनशीलता, इमान्दारिता, जिम्मेवारी लिने क्षमता तथा समाजका लागि केही गर्न चाहने उत्सुकताले नै आफूलाई उपाधिको दावेदार मान्छिन् । सबै प्रतिस्पर्धीहरू अत्यन्तै योग्य छन्, त्यसैले सबै जना एक–अर्काका राम्रा प्रतिस्पर्धी हुन्, आसिना भन्छिन्— उपाधिको महत्व तथा यसको जिम्मेवारी बुझ्ने प्रतिस्पर्धी नै उपाधिको वास्तविक हकदार हो ।

मिस नेपालको सहभागिताले आफ्नो आत्मविश्वास बढाएको बताउने आसिना प्रशिक्षणको क्रममा प्राप्त प्रशिक्षणले समाजका लागि केही गर्ने उनको लक्ष्य अझ दृढ भएको बताउँछिन् । म मनबाट सधैं विद्यार्थी हुँ, जहिले पनि नयाँ कुरा सिक्न तत्पर रहन्छु, आसिनाले अरूको कुरामा छिट्टै विश्वास गर्ने आफ्नो नराम्रो बानी सुधार्नुपर्ने बताइन् । 

प्रतियोगी नम्बर ९ स्याङ्जाकी अनिता भण्डारीलाई भने उनको शारीरिक बनावटका साथै शैक्षिक, व्यवहारिक, बौद्धिक तथा नैतिक गुण अब्बल भएकै कारण मिस नेपाल बन्न सक्षम छु जस्तो लाग्छ । उनलाई सबै प्रतिस्पर्धीहरूसँग उत्तिकै डर लागिरहेको छ, किनभने उनीजस्तै अन्य १८ प्रतिस्पर्धी पनि एउटै उपाधिका लागि मेहनत गरिरहेका छन् । आफू मिस नेपाल बन्न नसकेको अवस्थामा बाँकी १८ मध्ये जसले उपाधि जिते पनि उनी खुसी हुनेछिन् । प्रशिक्षणको छोटो अवधिको क्रममा अनिताले समय तालिकामा काम गर्ने बानी बसाउन सिकिन् भने आत्मबल, बौद्धिकस्तरको वृद्धि, साथीसँगको भावनात्मक सम्बन्ध तथा जनसमुदायसँग प्रत्यक्ष सम्बन्ध राख्न पनि सिकिन् । निरन्तर खट्न सक्नु उनको बलियो पक्ष हो भने अरूलाई धेरै विश्वास गर्नु उनको कमजोर पक्ष हो । 

प्रतियोगी नम्बर १० काठमाडौंकी रक्षा कार्कीलाई आफ्नो निरन्तरको प्रयास र रचनात्मक काम गर्ने स्वभावका कारण आफू मिस नेपाल बन्न सक्षम छु जस्तो लाग्छ । आफ्नै ढाकाको उद्योग सञ्चालन गरिरहेकी रक्षा हरेक दिन आफूलाई सुधार्ने प्रयास गरिरहेकाले आफैंलाई मिस नेपालको ठूलो प्रतिस्पर्धी मान्छिन् । सबै प्रतिस्पर्धीले उस्तै प्रकारको अवसर तथा प्रशिक्षण पाएकाले यसपटकको प्रतिस्पर्धामा कडा टक्कर हुने उनको अनुमान छ । प्रतियोगितामा भएको सहभागिताले आफूलाई आफैंसँग लड्न सिकाएको बताउने रक्षा आफैंलाई राम्रोसँग चिन्नुलाई आफ्नो बलियो पक्ष मान्छिन् भने समयको राम्रो सदुपयोग गर्न नसक्नुलाई भने कमजोर पक्ष मान्छिन् । 

प्रतियोगी नम्बर ११ दाङकी नीति शाह मिस नेपाल प्रतियोगितालाई आफ्नो बाल्यकालदेखिको सपना भन्छिन् । मेरो भित्री र बाहिरी आवरण राम्रो भएकाले नै म यो प्रतियोगितामा सफल हुन्छु जस्तो लाग्छ, नीति भन्छिन्– सबै प्रतिस्पर्धी राम्रा छन्, कोही कम छैनन् । नीति आफूसँगै सबै प्रतिस्पर्धि मिस नेपाल भैदिए कति रमाइलो हुन्थ्यो भन्ने धारणासमेत व्यक्त गर्छिन् । मिस नेपालमा भाग लिइसकेपछि उनले आफूभित्र धेरै परिवर्तन आएको अनुभव गरेकी छिन् । यहाँ सिकेका कुराहरू प्रतियोगिताका लागि मात्र होइन मेरो निजी र व्यावहारिक जीवनमा पनि काम लाग्छन्, नीतिका अनुसार प्रशिक्षणमा पाएको सीप र ज्ञानका कारण उनका कमजोर पक्षहरू नै अहिले बलियो पक्ष भएका छन् । 


प्रतियोगी नम्बर १२ चितवनकी उरुषा अधिकारीले आत्मविश्वास, मेहनत, अठोट तथा केही गर्ने र अघि बढ्ने दृढताले नै आफू मिस नेपाल बन्न सक्षम भएको बताउँछिन् । यसपटकका हरेक प्रतिस्पर्धीहरू योग्य छन्, उरुषा भन्छिन्– मलाई कोहीसँग डर लागेको छैन, किनभने सबैसँग मेरो मित्रताको सम्बन्ध छ । सबैसँग आ–आफ्नो खुबी छ र सबै नै मुख्य प्रतिस्पर्धी हुन् । मिस नेपालको प्रशिक्षणले असल नारी भएर कसरी समाजमा आत्मविश्वासका साथ अघि बढ्ने भावना, निडर भएर आवाज उठाउन सक्ने क्षमता तथा देशभक्तिको भावना जागरुक गराएको उनको तर्क छ । आत्मविश्वास, लगनशीलता तथा सकारात्मक सोच उनका बलिया पक्ष हुन् भने एक पटकमा एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्ने, भावुक हुने तथा कहिलेकाहीँ आफ्नै क्षमतामाथि शंका गर्नु उनका कमजोर पक्षहरू हुन् । 

प्रतियोगी नम्बर १३ पाल्पाकी मञ्जरी सिंहले आफ्नो प्रतिस्पर्धा आफैंसँग भएकाले आफैंसँग डर लागिरहेको बताएकी छिन् । आत्मविश्वास तथा नेपाललाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिनिधित्व गर्न सक्ने क्षमताकै कारण आफूलाई मिस नेपाल बन्न योग्य मान्ने मञ्जरी प्रतियोगिताका सबै प्रतिस्पर्धीहरू मिस नेपाल भैसकेको बताउँछिन् । सबैसँग आफ्नो मुकुट छ, जसले सबैलाई अगाडि बढाइरहेको छ, मञ्जरी भन्छिन्– त्यसैले म बाहेक अरू १८ जनामा जसले उपाधि जिते पनि म निराश हुने छैन । यो प्रतियोगिताले आफैंले आफैंलाई राम्ररी बुझ्न तथा अघि बढ्न सिकाएको बताउने मञ्जरी आत्मविश्वासलाई नै आफ्नो बलियो पक्ष मान्छिन् । 

आफ्नो सकारात्मक मानसिकता तथा मेहनत गर्न सक्ने खुबीकै कारण आफू मिस नेपाल बन्न योग्य भएको प्रतियोगी नम्बर १४ मोरङकी निकिता चाण्डक बताउँछिन् । प्रशिक्षणको क्रममा हामीले आफू जित्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ, अरूलाई हराउन होइन भन्ने कुरा सिकेकाले निकिताले अहिले आफैंलाई मात्र ध्यान दिइरहेकी छिन् । सबै प्रतिस्पर्धीहरू उत्कृष्ट र सक्षम भएको निकिताको तर्क छ । आत्मनिर्भर बनेर अरूलाई सहयोग गर्नसक्ने कुरा सिकेकी निकिता राम्रो अवलोकनकर्ता, सकारात्मक सोचाइ तथा मेहनती स्वभावलाई आफ्नो बलियो पक्ष मान्छिन् भने बढी सोच्न तथा तनाव लिने बानीलाई कमजोर पक्ष मान्छिन् । 

प्रतियोगी नम्बर १५ पोखराकी ज्ञानी बराल जीवनमा आउने हरेक चुनौती र अवसरहरूलाई सामना गर्न सक्ने भएकैले आफूलाई मिस नेपाल बन्न योग्य मान्छिन् । म सबैभन्दा बढी विश्वास आफैंलाई गर्छु, मेरा लागि मिस नेपाल कुनै प्रतिस्पर्धा होइन, यो मेरो जिन्दगीको सिकाइ हो, ज्ञानी भन्छिन्– म कसैसँग पनि डराएकी छैन, किनभने सबै मेरा सहयात्री हुन् । यो प्रतियोगिताले मलाई म को हो भनेर बुझ्न सकियो । मेरा कमी–कमजोरीहरू चिनायो, म भित्रको बलियो पक्ष पनि चिनायो, ज्ञानीका अनुसार जस्तोसुकै परिस्थितिमा नआत्तिने स्वभाव उनको बलियो पक्ष हो भने सबैलाई सहजै विश्वास गर्नु उनको कमजोर पक्ष हो । 


प्रतियोगी नम्बर १६ विराटनगरकी दृष्टि कटवाल बाहिरी सौन्दर्यका साथै बौद्धिक, लगनशील तथा अनुशासित भएकाले आफूलाई नै मिस नेपाल बन्न योग्य भएको बताउँछिन् । हामी सबै प्रतिस्पर्धामा आएको हुँदा एक–अर्कासँग डराउनु पर्ने हुन्छ दृष्टिका अनुसार उनले आफैंलाई मुख्य प्रतिस्पर्धी मानेकी छिन् । मिस नेपालको प्रशिक्षणले शब्दमा वर्णन गर्न नसकिने क्षमता सिकाएको बताउने दृष्टि आफ्नो बौद्धिक ज्ञानलाई प्रस्तुत गर्न सक्ने क्षमतालाई बलियो पक्ष मान्छिन् भने भीडमा उभिएर आफूलाई प्रस्तुत गर्न नसक्नुलाई कमजोर पक्ष । 

प्रतियोगी नम्बर १७ ललितपुरकी सहारा बस्नेत आफ्नो मेहनत तथा लगनशीलतालाई नै मिस नेपाल बन्न सक्ने आधार भएको बताउँछिन् । आफैंसँग प्रतिस्पर्धा गर्ने भएकीले अरू प्रतिस्पर्धीसँग डर नलागेको उनको तर्क छ । मिस नेपालको प्रशिक्षणले आफूलाई आत्मनिर्भर तथा आफूमा भएको क्षमतालाई उजागर गर्न सक्ने हिम्मत दिएको बताउने सहाराले आफूमाथिको विश्वासलाई बलियो पक्ष भनेकी छिन् भने आवश्यकताभन्दा बढी भावुक हुनुलाई कमजोर पक्ष बताइन् । 

प्रतियोगी नम्बर १८ विराटनगरकी वर्षा पोखरेल विश्वमा उदाहरणीय व्यक्तित्व बन्ने आत्मविश्वासका कारण आफू नै मिस नेपाल बन्न योग्य भएको मान्छिन् । वर्षालाई अन्य प्रतिस्पर्धीभन्दा पनि आफैंसँग डर लागिरहेको छ । कडा मेहनत र परिश्रम गरेकाले वर्षाले सबैलाई उपाधिको हकदारका रूपमा हेरेकी छिन् । मिस नेपालले आफूमा भएको क्षमतालाई अरू सामु ल्याउन सिकाएको बताउने वर्षा आफूमा भएको आत्मविश्वासलाई बलियो पक्ष मान्छिन् भने कमजोर पक्षका बारेमा आफूलाई थाहा नहुने भएकाले कसैले औंल्याइदिए सुधार्ने बताउँछिन् । 

प्रतियोगी नम्बर १९ झापाकी कृतिका गिरी भने केही नयाँ गरौं भन्ने सोचले नै आफूलाई मिस नेपाल बनाउने बताउँछिन् । छ हप्ताको प्रशिक्षणपछि बढेको आत्मविश्वासले डर लाग्न छाडेको उनको तर्क छ । यदि म मिस नेपाल नभएको अवस्थामा त्यो व्यक्तिलाई मिस नेपाल भएको हेर्न चाहन्छु, जो आफूसँग–सँगै आफ्नो देशको नाम अन्तर्राष्ट्रियस्तरमा राख्न सक्षम हुनेछिन्, कृतिकाका अनुसार यो प्रतियोगिताले उनलाई आदर्श जीवन बिताउने मार्ग देखाएको छ ।

यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ 

गोपाल सुन्दरलाल कक्षपती, अध्यक्ष, हिडन ट्रेजर

मिस नेपालको समग्र तयारी कस्तो छ ? 

हामी प्रतियोगिताको अन्तिम घडीमा छौं । अधिकांश तयारी पूरा भैसकेको छ । अहिले हाम्रो सम्पूर्ण ध्यान आज साँझको ग्रान्ड फिनालेलाई भव्य, सभ्य र सफल बनाउनेमा केन्द्रित छ । 

यस पटकका प्रतिस्पर्धी कस्ता छन् ? 
हरेक वर्ष मिस नेपालमा आउने प्रतिस्पर्धीहरू अघिल्लो वर्षभन्दा उत्कृष्ट हुने गरेका छन् । यसपटक पनि हामीले देशका विभिन्न सहरहरूमा अडिसन गरेर योग्य, सक्षम तथा बौद्धिक प्रतिस्पर्धीलाई समावेश गर्ने प्रयास गरेका छौं । 

प्रि–जजिङ गर्ने निर्णायकहरूले प्रतिस्पर्धीका बारेमा कस्तो प्रतिक्रिया दिए ? 
अघिल्लो साता सम्पन्न प्रि–जजिङअघि निर्णायकहरूले प्रतिस्पर्धीहरूलाई हल्का रूपमा लिनुभएको रहेछ । प्रि–जजिङपछि ११ जना निर्णायकले उनीहरूको बौद्धिक क्षमता, आत्मविश्वास तथा व्यक्तित्वको प्रशंसा गर्नुभएको छ । 

यसपटकको समारोह कसरी सम्पन्न हुनेछ ? 
मिस नेपाल प्रतियोगिता एउटा प्याकेजका रूपमा सम्पन्न हुनेछ । अन्नपूर्ण होटलमा साँझ ७ बजेपछि प्रारम्भ हुने यो प्रतियोगितालाई नेपाल टेलिभिजन तथा भिम्यागको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ । 
 

शीर्षक उपाधिका लागि गरिएका प्रतिस्पर्धाहरू कस्तो रहे ? 
हामीले विभिन्न ११ वटा शीर्षक उपाधिका लागि सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न गरिसकेका छौं । तीमध्ये मिस एथ्लेटको प्रतिस्पर्धा रोमाञ्चक भएको छ । मिस ट्यालेन्टदेखि मिस फोटोजेनिकसम्मका प्रतिस्पर्धाहरू पनि प्रभावकारी रूपमा सम्पन्न भएका छन् । 

ब्युटी विद पर्पसका लागि कस्ता प्रस्ताव आएका छन् ? 
हामीले विगत केही वर्षयता ब्युटी विद पर्पस शीर्षकको प्रतिस्पर्धा सञ्चालन गरिरहेका छौं । यसपटकको प्रतिस्पर्धाका लागि पनि हामीले सबै जना प्रतिस्पर्धीसँग एक–एक वटा प्रोजेक्टको प्रोपोजल मागेका छौं । मिस नेपालको उपाधि जित्ने एक जना विजेताले मिस वल्र्डका लागि सोही प्रोपोजलमा आधारित प्रोजेक्ट तयार पार्नुपर्ने छ । 

प्रतियोगितालाई पृथक बनाउन प्रयास गर्नुभएको छ ? 
यसपटक हामीले दुई–तीनवटा कुरा फरक गरेका छौं । यसपटक तीन जनाको साटो चार जनालाई विजेता घोषणा गर्दैछौं । चौथो विजेताले यो वर्ष मिस एसिया प्यासिफिक इन्टरनेसनलमा भाग लिनेछिन् । यसका साथै हामीले प्रशिक्षणमा पनि केही परिवर्तन गरेका छौं । पहिलो पटक हामीले धुलिखेलमा तीन दिने क्लोज क्याम्प सञ्चालन गर्‍यौं । त्यहाँ दुई जना प्रशिक्षकले प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास, स्ट्रेस म्यानेजमेन्ट, योग, मेडिटेसनदेखि जीवनोपयोगी विषयमा प्रशिक्षण दिनुभयो । 

सौराहाको स्थलगत भ्रमण कस्तो रह्यो ? 
यसपटक सौराहाको भ्रमण पनि प्रशिक्षण तथा विषयवस्तुको हिसाबले पृथक रह्यो । यसपटक हामीले सामुदायिक वनका बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गरायौं । पर्यावरणमा रुचि राख्ने प्रतिस्पर्धीहरूले चितवन राष्ट्रिय निकुञ्जको भ्रमणलाई फलदायी मानेका छन् । 

प्रकाशित :जेष्ठ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्