नङ्ग्याउनु वा वस्त्रहरण फरक विषय हो

- डा. सुमनराज ताम्राकार

जेष्ठ १८, २०७४-  

शरीरमा कुनै पनि पहिरन नभएको अवस्था हो– नग्नता । आफ्नो इच्छाले नग्न हुनु नग्नता हो भने व्यक्ति विशेषले नचाहेर पनि बाध्यताले लुगा लगाउन नसक्नु वा कुनै संवेदनशील अङ्ग देखिनुचाहिँ नाङ्गोपन हो । कुनै समाज वा देशमा कम पहिरन लगाउनु वा संवेदनशील अङ्ग प्रदर्शन पनि नग्नताको विषय भएकाले सजायको भागिदार बन्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । नग्नतामा लाजको भाव हुँदैन, नाङ्गोपनमा निकै लाजको अनुभूति हुन्छ, तर कसैलाई धम्क्याएर, दबाबमा पारेर पहिरन फुकाल्न लगाउनु वा फुकालिदिनु (नङ्ग्याउनु वा वस्त्रहरण) फरक विषय हो ।

 

मानिसले सभ्यताको आदिकालदेखि नै पहिरन लगाउन थालेको हो । सुरुमा सजिलै कुहिने झारपात, पत्कर वा छालाबाट निर्मित वस्तु प्रयोग भए पनि समयक्रमसँगै मानिसले आफ्ना लागि सजिलो विभिन्न रेशामा आधारित वस्त्र प्रयोग गर्न थालेको हो । गर्मी वा चिसोबाट जोगिन पहिरन लगाउन थालिएको भए पनि कालान्तरमा यो मानिसको वैभव प्रदर्शन गर्ने माध्यमसमेत बन्यो । अहिले त यस्तो परिस्थिति सिर्जना भएको छ कि पहिरनबिना (निर्वस्त्र) रहनु लज्जाको विषय मानिन्छ, त्यसैले कतिपय समाजमा वस्त्रविहीन देखा पर्नुलाई वर्जित गरिएको छ ।

 

तुलनात्मक रूपमा गर्मी स्थानमा बसोबास गर्ने मानिसहरूबीच कम पहिरन लगाउनु, अर्धनग्न हुनु स्वभाविक मानिन्छ, स्वीकार्य छ । कतिपय समाज वा समय विशेष वा समारोह विशेष वा धार्मिक आध्यात्मिक समूहमा नग्नतालाई सहज रूपमा लिइन्छ, विशेषत: पुरुषमा । ग्रिक भाषामा जिम्नोसको अर्थ नाङ्गो हुन्छ । नेपाल, भारतजस्ता अझै संकुचित मानिने समाजमा रहेका मठमन्दिरमा नग्न चित्र कुँदिएका तथा लिङ्ग प्रजननलाई परापूर्वकालदेखि नै सहज रूपमा लिइएको देखिन्छ । कतिपय आदिवासी समुदायका पुरुषले मात्र नभै महिलाहरूले पनि शरीरको माथिल्लो भाग खुला राखेको पाइन्छ । यो कार्यलाई स्वभाविक रुपमै लिइन्छ ।

 

बदलिँदो परिस्थितिमा सार्वजनिक स्थलमै पनि बेला–बेलामा पूर्ण नग्नताको पक्षमा वकालत गरिन्छ भने पशुपन्छीमाथिको अत्याचारको विरोध स्वरुप नग्न प्रदर्शन गरिएको पाइन्छ । यस्तो अवस्थामा गरिने राजनीति प्रेरित प्रदर्शनीहरूमा यौनाङ्ग देखाइएको अवस्थालाई पूर्ण नग्नताका रूपमा लिइन्छ । नेपालमै पनि पारदर्शी पहिरन लगाई हल्का स्तन देखाउनु, सार्वजनिक स्थलमा स्तनपान गराउनु, घाममै बसेर तेल घस्नु वा नुहाउनुलाई पनि स्वभाविक रूपमा लिइन्छ ।

 

नग्नता कहिलेकाहीँ सापेक्षिक कुरा हुनसक्छ, तर नग्नताको मामिलामा महिलाहरू बढी लक्षित हुन्छन् । नग्नतालाई सजिलै लिने समाजलाई त्यो यौन उत्तेजक वा अश्लील नहुन सक्छ भने यसमा अभ्यस्त नहुनेहरूलाई यौन उत्तेजक वा अश्लील लाग्न सक्छ । नेपालमै पनि कुनै बेला महिलाको पिडौंला, तिघ्रासम्म देखिनुलाई अश्लिल मानिन्थ्यो, तर आज त्यस्तो समय छैन । समाजमा एकातिर पूर्ण नग्नतालाई अनैतिक वा पाप मान्नेहरूको कमी छैन भने अर्कातिर सार्वजनिक ठाउँमै नग्नताको अभ्यास गर्ने, नग्नताको वकालत गर्ने अभियान चलाउनेहरू पनि लगातार बढिरहेका छन् । नग्नताका सन्दर्भमा कतिपय समाजमा महिला र पुरुषबीच विभेद देखिन्छ ।

 

यौनेच्छा प्रकट गर्न मिल्ने वा यौन उत्तेजना प्रदर्शन गर्न मिल्ने ठाउँमा नग्नतालाई स्वीकार गरिए पनि अन्य परिस्थितिमा यो विषयमा संवेदनशील हुनु आवश्यक छ । आधुनिक समयमा व्यवसायिक प्रयोजन वा कडा विरोधका लागि पनि अर्धनग्न वा पूर्ण नग्नताको प्रयोग गर्ने चलन बढेको छ ।
नग्नताको विषयमा निकै संकुचित वा उत्तर आधुनिक भैरहनु आवश्यक छैन ।

 

सोच फराकिलो हुनुपर्छ । आफूवरिपरिको समाज, परिवारलाई स्विकार्य हुने किसिमको नग्नताप्रति चिन्ता गर्नु आवश्यक छैन । यौन हिंसा, बलात्कारजस्ता घृणित कुरालाई बढावा दिने खालको नग्नताप्रति सजग हुनुपर्छ । आफ्नो स्वतन्त्रताको उपभोग वा इच्छा प्रकट गर्दा अर्काको आत्मसम्मानमा ठेस पुग्न दिनु हुँदैन । आफूलाई आकर्षक देखाउनुपर्छ, आफूप्रति अरूको ध्यान आकृष्ट गर्नुसम्म त राम्रै होला तर त्यस्तो प्रयास दुव्र्यवहार नै निम्तिने खालको हुनु हुँदैन । नग्नताको हकमा अरूले टीकाटिप्पणी गर्ने अवस्था सिर्जना हुनुभन्दा कुन हदसम्म खुला पहिरन लगाउने भन्ने कुरामा आपैंmले विवेक पुर्‍याउनुपर्छ ।

प्रकाशित :जेष्ठ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्