नगर प्रमुख हैन, नगर पालक !

- मनोज गजुरेल

जेष्ठ १८, २०७४- 

हुन त मेयर नै हो तर मेयरभन्दा अलि कस्तो–कस्तो सुनिँदो रहेछ । चियर र मेयर उस्तै सुनिन्छ । मेयर र बियर पनि उस्तै–उस्तै सुनिन्छ । चियरमा बसेर डियरलाई च्याप्दै बियर खाने भएकाले पो मेयर भनिएको हो कि! विगतका केही मेयरको कार्यशैली हेर्दा त्यसो होइन भन्ने ठाउँ छैन ।

त्यसमाथि ‘मेयर’ त अंग्रेजी शब्द पर्‍यो । ‘नगर प्रमुख’को साटो मेयरहरू आफूलाई मेयर भन्न रुचाउँछन् । गजुरियल विश्लेषकलाई यो पटक्कै मन परेको छैन । कि फलानो ‘सिटीको मेयर’ भन्नुपर्‍यो, कि त फलानो ‘नगरको प्रमुख’ सम्बोधन गर्नुपर्‍यो । आधा अंग्रेजी र आधा नेपालीको उच्चारणले ‘मेयर र अध्यक्ष’कै मानमर्दन गरेको गजुरियल ठम्याइ छ ।

 

नगर प्रमुख/गाउँ प्रमुख सुन्दा ठीकै लाग्छ । प्रमुख शब्दले प्रमुखहरूको मुख अलि फुल्लिएला कि भन्ने लाग्छ । ‘प्रमुखज्यू’ भनेर सम्बोधन गर्दा प्रमुखज्यूहरूमा अहमको नशा चढ्न सक्ने भएकाले ‘नगर प्रमुख होइन, ‘नगर पालक’ भनेर सम्बोधन गर्नुपर्ने गजुरियल प्रस्ताव छ । त्यसैगरी गाउँपालिका अध्यक्षलाई पनि ‘गाउँ पालक’ सम्बोधन सुहाउने गजुरियल ठम्याइ छ । नगर त पहिल्यै पालिका भएको हो । अहिले गाविस पनि पालिका बनेको छ । दुवै पालिकामा नयाँ पालकहरूको चयन पनि भैसकेको छ । आउनुहोस्, आज यी पालकहरूको काम– कर्तव्यको गजुरियल विश्लेषण गरौं ।

नगर पालकहरूले बुझ्नुपर्छ, म ‘सिटी मेयर’ होइन, नगर पालक हुँ । मेयर भन्नासाथ एक खालको दम्भ उत्पन्न हुन्छ । त्यसै पनि अंग्रेजी शब्द, त्यसमाथि मेयर र मालिक उस्तै सुनिन्छ ।

 

त्यसैले मेयर सा’बहरूले आफूलाई मालिक होइन, पालकका रूपमा बुझ्नुपर्ने गजुरियल सुझाव छ ।

मेयरको रियल अर्थ जे भए पनि गजुरियल अर्थ पालक नै हो । नगरवासीको लालनपालन र हेरविचार गर्ने काम नगरपालकको हो । त्यसैले नगरपालकले नागरिकलाई बालकलाई जस्तै प्रेम गर्नुपर्छ, वृद्धलाई जस्तै सम्मान गर्नुपर्छ । बा–आमालाई जस्तै माया दिनुपर्छ । शिशुलाई जस्तै अभिभावकत्व प्रदान गर्नुपर्छ ।

 

गाउँपालिकाका अध्यक्षले पनि आफूलाई अध्यक्षको रूपमा होइन, पालकको रूप लिनुपर्छ । अध्यक्षको रियल अर्थ गाउँको मुखिया भए पनि गजुरियल अर्थमा अध्यक्ष भन्नाले जसको दक्षता अरूमा निर्भर छ त्यो नै अध्यक्ष हो । त्यसैले अध्यक्षहरूले आफूलाई गाउँपालिका अध्यक्ष होइन, गाउँपालिकाका रूपमा बुझ्नुपर्छ । पालक अर्थात् पाल्ने मान्छे । जस्तो कि एउटा पशुपालक । जसरी एउटा पशुपालकले पालिएका पशुहरूलाई खाना ख्वाउँछ, दाना दिन्छ, पानी पिलाउँछ, स्याहार–सुसार गर्छ, नगरपालकले पनि आफ्नो नगरको स्याहार–सम्भार, निर्माण–संरक्षण गर्नुपर्ने भएकाले पशुपालक र नगरपालकको जिम्मेवारी उस्तै हो भन्ने गजुरियल बुझाइ छ ।

 

फरक यति हो, पशुहरू बोल्दैनन्, नगरवासीहरूले तुरुन्तै प्रतिक्रिया दिन्छन् । आफूले जिताएका पालकको कार्यशैली मन परेन भने जुनसुकै बेला नागरिक विद्रोहमा उत्रिन सक्छन् । नगरपालक गाडी चालकजस्तो हो । नगरवासी त्यो गाडीका यात्रु हुन् । यात्रुलाई आरामदायक, सुखद एवं सुरक्षित यात्रा गराउनु चालकको काम, कर्तव्य हो । गाउँपालकलाई जहाजको चालकसँग पनि तुलना गर्न सकिन्छ । पाइलटलाई उडान अनुमतिपत्र दिँदा शपथ ख्वाइन्छ, म आफ्नो ज्यानभन्दा यात्रीको सुरक्षालाई प्रमुख मान्नेछु । यसरी नै गाउँपालिकाको पाइलटले पनि शपथ खानुपर्छ, म आफ्नो नामभन्दा गाउँवासीको कामलाई प्राथमिकतामा राख्नेछु ।

प्रकाशित :जेष्ठ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्