भन्न नसकेका कुरा

- अविरल थापा

जीवनमा कति कुराचाहिं त्यतिबेला सम्बन्धित पक्षलाई जति राम्रोसँग बुझाएको भए पनि उसले बुझेको हुँदैन र दोषी नै सम्झिएको हुन्छ, तर कालान्तरमा उसले सत्यता बुझ्छ र यथार्थ स्वीकार गर्छ । जिन्दगीमा कति कुराको छिनोफानो हुन उचित समय कुर्नुबाहेक केही गर्न सकिँदैन ।

जेष्ठ १७, २०७४- 

जीवनयात्राका क्रममा अनेक मानिस आउँछन्, जान्छन् जसमध्ये केही मानिससँग कुरा मिल्छ, केहीसँग मिल्दैन । घरभित्रै पनि केही सदस्यसँग नजिक भइन्छ भने केहीसँग भइँदैन । मान्छेको मनमा अनेक कुरा हुन्छन् तर ती सबै कुरा खोलेर र खुलेर जो–कोहीलाई कसैले भन्दैनन् । आफ्नो कुरा भन्न पनि सबैले मन मिल्ने मानिस खोज्छ, जसले कुरा बुझोस् तर भेद नखोलोस् ।

 

जीवनमा व्यवहार गर्दै जाँदा अनेक परिस्थिति आइलाग्छन् । समय र अवस्था हेरेर कति कुरा भन्न मन लागे पनि भन्न सकिँदैन भने कति कुरा भने पनि बुझाउन सकिँदैन । जीवनमा भनिएका कति कुराको महत्व र अर्थत कालान्तरमा समयले मात्र बुझाउन सक्छ । पहिले निरर्थक लागेको कुरा पछि महत्वपूर्ण लाग्छ भने पहिले मूल्यवान् लागेको कुरा पछि वाहियात लाग्छ । सानो छँदा आफूलाई रहर लागेर किन्न मन लागेको कुरा आफ्ना अभिभावकलाई भन्ने हिम्मत आउँदैन भने वयष्क छँदा आफूलाई मन परेको मानिसलाई प्रेम गर्छु भन्ने हिम्मत नआउन सक्छ ।

 

पछि सम्झँदा पहिले बहस हुँदा वा सम्झाउँदा मैले त्यो कुरा भन्नुपर्ने थियो वा भन्न सक्नुपर्ने थियो भन्ने लाग्छ, तर फेरि भन्छु भन्दा समय र सन्दर्भ मिल्दैन । यसरी अनेक कारण र परिस्थितिले मानिसको जीवनमा भन्नुपर्ने तर भन्न नसकेका कैयौं कुरा थुिप्रएर बसेका हुन्छन् । पहिले व्यक्त गर्न नसकेको प्रेम पछि समय घर्केर गएपछि व्यक्त गर्न सके पनि कुनै अर्थ नहुन सक्छ । कहिलेकाहीं दुवैलाई दुवै जना मन पर्छन् तर दुवैले आफ्नो भावना व्यक्त गर्न नसक्दा अरूसँगै वैवाहिक सम्बन्ध गाँसिन पुग्छ र पछि कुरा गर्दा म पनि त प्रेम गर्थें नि भन्दा दुवैलाई पछुतो लाग्न सक्छ । पहिले बढेको असमझदारी अहिले आएर त्यतिबेला खासमा यस्तोचाहिं भएको थियो है भन्दा सामान्यीकरण भएर जान सक्छ ।

 

आखिर किन मानिसले उचित समयमा आफ्ना कुरा प्रस्ट रूपमा व्यक्त गर्न सक्दैन त ? के कुराले मानिसलाई रोक्छ वा ऊ हिचकिचाउँछ ? सबै मानिसमा एउटै कुरा लागू नहुन सक्छ तर सामान्यत: मानिसको स्वभाव, अहं, डर, लाचारी, स्वार्थ आदिले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्नुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कहिलेकाहीं आफू तल पर्छु भनेर मानिसले झूट बोलेको हुन्छ ।

 

कहिले आफू बदनाम हुन्छु भनेर कुरा छलेको हुन्छ तर त्यो कुराले पछिसम्म उसको मन पोलिरहेको हुन्छ । पहिले जसलाई आफूले गर्दा मर्का परेको थियो वा अन्याय भएको थियो त्यो मानिसलाई भेटेर माफी माग्न पाए वा कुरा स्पष्ट गर्न पाए चैन मिल्छ । जीवनमा कति कुराचाहिं त्यतिबेला सम्बन्धित पक्षलाई जति राम्रोसँग बुझाएको भए पनि उसले बुझेको हुँदैन र दोषी नै सम्झिएको हुन्छ, तर कालान्तरमा उसले सत्यता बुझ्छ र यथार्थ स्वीकार गर्छ । जिन्दगीमा कति कुराको छिनोफानो हुन उचित समय कुर्नुबाहेक केही गर्न सकिँदैन । समयले नै मानिसलाई सफाइ दिन्छ, समयले नै दोषी बनाउँछ ।

 

कहिलेकाहीँ क्षणिक स्वार्थपूर्तिका लागि एक आफन्तले अर्काका विरुद्ध वा एक छिमेकीले अर्काका विरुद्ध, एक साथीले अर्काका विरुद्ध कुरा उचालेर झगडा बढाएका हुन्छन् । कतिको वर्षौंदेखि नै बोलचाल बन्द हुन्छ । धेरै समय भ्रम पालेर र अरूका कुरा सुनेर झगडा गरेकाहरू पछि कुरा बुझेर बोल्दा अंकमाल गरी रुने अवस्थामा समेत पुग्छन् । कहिलेकाहीँ अरूले गरेको अपराधको सिकार आफू भइन्छ । जति होइन भन्दा पनि प्रमाण पुग्दैन वा चलचित्रमा जस्तै त्यति बेला कसैले आफैलाई देखेको हुन्छ । यस्ता कुरा आफूलाई थाहा हुन्छ तर अरूलाई बुझाउन सकिँदैन । यी कुरा कहिल्यै नसुल्झेर जीवनभर दोषी भएर बाँच्नुपर्ने पनि हुन सक्छ वा धेरै पछि भेद खुलेर सफाइ पनि पाइन सकिन्छ ।

 

हिजोआज धेरै नयाँ मानिस सामाजिक सञ्जालमा साथी हुन आइपुग्छन् । हेर्दा धेरै साथी हुन्छन् तर सबैसँग एकनासले बोल्न सकिंदैन । कतिसँग बोल्न मन भए पनि के सोच्ने होला भन्ने हुन्छ । कतिले पहिले बोल्दा आफू तल परिन्छ कि भन्ने सोच्छन् । कतिको कामका बेला मात्र बोल्ने बानी हुन्छ । न हामी मन खोलेर कसैको प्रशंसा गर्न सक्छौं, न आलोचना । न कसैको नजिक हुन सक्छौं, न टाढा नै जान सक्छौं । कहिले अहंले छेक्छ, कहिले डरले । आफ्नो कुरा भनेपछि कसैलाई गुमाउनुपर्ला कि कोही टाढा गैदेला कि भन्ने भय पनि हुन्छ ।

 

आखिर जे–जस्तो भए पनि आफ्नो कुरा भन्न खोजिरहनुपर्छ । लेखेर हुन्छ कि संकेतले हुन्छ कि व्यवहारले देखाएर हुन्छ, आफ्नो कुरा बुझाउने प्रयास गरिरहनुपर्छ । मनमा कुरा पकाएर आफैंलाई दु:ख दिनुभन्दा मनको गाँठो वा भारी फुकाउँदै–बिसाउँदै जानुपर्छ । भनिन्छ नि— भनेर मान्छे मर्दैन, तातोपानीले घर डढ्दैन ।

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :जेष्ठ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्