चुनाव जित्नेहरूले के गरे हुन्थ्यो जस्तो लाग्छ ?

- सुव्रत आचार्य

जेष्ठ १७, २०७४- 

सर्वप्रथम त शपथ अनि पदभार ग्रहण, त्यसपछि जनताप्रति उत्तरदायी भएर समर्पित सेवा ।

दुर्गा ढकाल, पुस्तक व्यवसायी

जित्नेहरूले चुनावअघि घोषणापत्रमा जुन–जुन काम गर्छु भनेर जनताको मत बटुलेका छन्, ती काम गर्नुपर्छ ।

सपन श्रेष्ठ, गायक

प्रत्येक नारीलाई आफ्नो काम सकेर वा कतैबाट फर्कंदा जतिबेला पनि म आफ्नै सुरक्षित देशमा छु भन्ने अनुभूति गराउन सक्नुपर्छ ।

अनिता आचार्य, अभिनेत्री

आफ्नो कार्यालयमा पूरै दिन बसेर अब मैले आफ्नो नगर वा गाउँको विकास एवं तपाईंहरूको सेवा कसरी गर्नसक्छु ? भनेर जनतासँग सोधून् जस्तो लाग्छ ।

आशान्त शर्मा, रंगकर्मी

चुनाव जित्नेले सर्वप्रथम त फूलमाला तथा अबिर लगाएको देख्यौं । अब चाहिँ जुन दल वा आस्थाको भए पनि ती दलको कार्यकर्ता भएर होइन सम्पूर्ण जनताको भएर देखाउनु अपरिहार्य छ ।

प्रदीप भट्टराई, चलचित्र निर्देशक

भोट माग्दा जे वाचा गरेका थिए, कम्तिमा त्यसको ५० प्रतिशत मात्र काम गरे पनि धन्य हुन्छौं हामी ।

आमिर शेख, गायक

पहिलो कुरा चुनाव जित्ने जनप्रतिनिधिहरूले सबै जनतालाई हाँसेर दाँत नै देखाउनु पर्‍यो किनभने उहाँहरूले मुस्कानमय सेवा दिन्छु भन्नुभएको छ । दोस्रो कुरा, अब तपाईं कुनै एक पार्टीको प्रतिनिधि नभै सबै पार्टी र आम जनताको प्रतिनिधि भएको अनुभूति जनतालाई गराउनु पर्‍यो । तेस्रो कुरा, तपाईंले चुनावमा के–के गर्छु भनेर जनताका अगाडि बोल्नुभएको थियो वा घोषणापत्रमा लेख्नु भएको थियो अब फेरि आफैंले एक पटक पढ्नुहोस् । आफ्नो घोषणापत्र मात्र नपढ्नुहोस् अरूको घोषणापत्र पनि पढ्नुहोस्, किनभने तपाईंको घोषणापत्रमा छुटेको कुरा अर्काे पार्टीको घोषणा पत्रमा छ कि ?

कमल वली, गायिका/नेतृ

रोकिएका कामहरू पूरा हुन्, जस्तै— सडक निर्माण । चोकमा ट्राफिक प्रहरीको रेड तथा ग्रीनलाइटको व्यवस्था होस् । घरघरमा खानेपानी सुलभ होस् । बोलेर भन्दा काम गरेर देखाउन् ।

सरिता गिरी, रंगकर्मी

कर्मचारीतन्त्रीय गोमनले डसेका र सर्वदलीय जुँगाले चुसेका भुइँमान्छेहरूका लागि कामै नगर्ने वा बिग्रिएकै भए पनि हाम्रा लागि एउटा कोही त छ भन्ने अनुभूति दिनसक्ने निष्पक्ष स्थानीय संयन्त्रको स्थापना गर्ने ।

राजेन्द्र थापा, गीतकार

पद बहालीसँगै स्थानीय क्षेत्रका समस्या समाधानको दिशामा उन्मुख हुन् । काठमाडौंका खाल्डाखुल्डी छिटोभन्दा छिटो पुरेर धुलोमुक्त पारून् ।

विदुर गिरी, सञ्चारकर्मी

पार्टीगत राजनीतिभन्दा माथि उठेर सामाजिक भावनाले एउटा असल समाजसेवीका रूपमा प्रस्तुत हुन् । त्यसपछि समाज आफैं राम्रो बन्छ र आफै व्यवस्थित पनि हुन्छ ।

नीराजन लुइँटेल, इभेन्ट आयोजक

आम मतदाताको सम्मान गरून् । टोल तथा समाजको समस्या पहिचान गरेर समाधानका लागि पहल थालून् । कर्मचारी तथा जनप्रतिनिधिमा फरक छ ।

शिवम अधिकारी, निर्देशक

अविर–माला लगाएर, कार्यकर्ताहरूको लस्करका साथ फोटो खिचाउँदै फेसबुकमा अपलोड गर्छन् होला नि, अरू त के नै गर्लान् र ?

सुगरिका केसी, मिस नेपाल २००५

हाम्रो सहरमा धुलो नउडोस्, अनि जाम पनि नहोस् ।

यागेन्द्रमेहर बज्राचार्य, फेसन डिजाइनर

ठूला सहरका स्थानीय प्रतिनिधिहरूले गाँस, बास कपासले मात्र सुन्दर र समृद्ध सहर बन्दैन, त्यसका लागि कला साहित्य पनि मुख्य पाटो हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।

केदार श्रेष्ठ, रंगकर्मी

कसले जित्यो भन्दा पनि आमजनताको पक्षमा काम गर्नुपर्छ । काठमाडौंको हकमा धुवाँ, धुलो अनि महँगीले विकराल रूप लिँदै गएको छ । पहिलो काम त त्यहीबाट थाल्नुपर्छ ।

सञ्जय गुप्ता, अभिनेता/आरजे

सफा सडक एवं व्यवस्थित ट्राफिक प्रणाली तत्कालको आवश्यकता हो ।

रीमा गुरुङ होडा, गायिका

सर्वप्रथम त अनुशासन र पारदर्शिता देखाउन् भन्ने अपेक्षा राख्छु, धेरै आशा त के राख्नु र खै ?

जीवन भट्टराई, अभिनेता

सडकमा बेवारिसे भएर बालबालिका, महिला, वृद्धवृद्धा, छाडा कुकुर तथा पशुहरूको उचित व्यवस्थापन।

बबिरोशा ढकाल, गायिका

चुस्त–दुरुस्त प्रशासन ।

कपिल द्वा, चलचित्र प्रदर्शक

सबैभन्दा पहिले त प्रचार प्रसारका क्रममा फोहोर पारिएका भित्ताहरू सफा गरून् । त्यसपछि आफ्ना गाउँ–ठाउँका समस्या के छन् त्यही आधारमा प्राथमिकता तोकेर काम सुरु होस् ।

दीपाश्री निरौला, अभिनेत्री/निर्देशक

गफभन्दा बढी काम होस् ।

प्रमोद अग्रहरि, अभिनेता

धुलोमाण्डुबाट हराभरा काठमाडौंमा परिवर्तन ।

दीप विमली, सञ्चारकर्मी

राम्रो अनि सफा बाटो ।

भूमि रिमाल, सौन्दर्यकर्मी

प्रकाशित :जेष्ठ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्