लगानी गर्दै अभिनेत्रीहरू

- सुव्रत आचार्य

जेष्ठ १७, २०७४

 

अभिनेत्री निशा अधिकारीले हालसालै चलचित्र ‘झ्यानाकुटी’को छायांकन सम्पन्न गराएकी छिन् । यद्यपि उक्त चलचित्रमा निशाले अभिनय गरेकी छैनन् । घान्द्रुकको रमणीय दृश्यको पृष्ठभूमिमा छायांकन गरिएको चलचित्र ‘झ्यानाकुटी’मा निशा निर्मात्री हुन् । निशाका अनुसार ‘झ्यानाकुटी’को लगानी ८० लाख हो र यसपटक उनले निर्माता एवं निर्देशक सिमोस सुनुवारसँगको सहकार्यमा उक्त चलचित्र निर्माण गरेकी हुन् । गाउँले परिवेशको यथार्थपरक हास्य चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल र बेनिशा हमालको जोडी छ ।

 

अर्की अभिनेत्री ऋचा शर्मा पनि चलचित्र निर्मात्रीका रूपमा उदाएकी छिन् । ऋचाको लगानी रहेको चलचित्र ‘आधा लभ’को ट्रेलर गत साता सार्वजनिक भएको छ । चलचित्र ‘आधा लभ’को लगानीमा ऋचालाई अभिनेता तथा निर्देशक अर्पण थापाले सघाएका छन् । ऋचा शर्माको प्रस्तुति भनिएको चलचित्र ‘आधा लभ’मा अर्पण कार्यकारी निर्माता छन् र उनी नै चलचित्र लेखक तथा निर्देशक हुन् ।

 

चलचित्र ‘आधा लभ’मा ऋचा र अर्पणकै मूख्य भूमिका छ । टीका पहारी, मिथिला शर्मा, रेमनदास श्रेष्ठ, रोजिशा शाही ठकुरी आदि कलाकारका साथ सहरको ‘मेट्रो लाइफ’ प्रस्तुत गरिएको चलचित्र ‘आधा लभ’ निर्माण गर्नुको कारण स्पष्ट पार्दै ऋचा भन्छिन्– ‘यही क्षेत्रमा लागियो, यसैमा लगाव पनि बढ्यो । चाहेर वा नचाहेर मलाई चलचित्रकर्मले बाँधिसकेको छ । अभिनेत्री नभै चलचित्र तयार हुँदैन, तर हामीप्रति दोस्रो दर्जाको व्यवहार हुन्छ । अभिनेतालाई दिइने पारिश्रमिकको तुलना हामीलाई त्यसको ४० प्रतिशत पनि दिइँदैन । कमाइ पटक्कै छैन, त्यसैले पनि आफंै निर्मात्री भएर चलचित्र बनाउने सोच आएको हो ।’

 

अभिनेत्री निशा अधिकारीको विचार ऋचासँग मिल्दोजुल्दो भए पनि केही भिन्न समेत छ । निशा भन्छिन्– ‘बजार राम्रो भैरहेको छ । यही क्षेत्रमा ज्ञान छ अनि भविष्यमा मलाई चलचित्र निर्देशक नै बन्नु छ । अरूको लगानी डुबाएर निर्देशन सिक्नुभन्दा त आफैंले लगानी गर्दै सिक्नु राम्रो हो भन्ने पनि लाग्यो । मैले ‘झ्यानाकुटी’मा सहनिर्देशकका रूपमा काम गरेकी छु ।’

 

चलचित्रमा लगानी गर्न अरू नायिका पहिले पनि तम्सिएका थिए र अहिले पनि तम्सिरहेका छन् । करिश्मा मानन्धरले २०५६ सालमा ‘ढुकढुकी’ को सफलतापछि जोस्सिएर २०५८ सालमा अर्को चलचित्र ‘बाबुसाहेब’ बनाइन् । त्यतिबेला झन्डै १ करोडको लगानीमा बनेको उक्त चलचित्र असफल भयो । त्यसपछि करिश्मा अमेरिका पलायन भइन् । फर्केर आएको केही वर्षपछि अर्थात् गत वर्ष उनले अर्को चलचित्र ‘फागु’ निर्माण गरिन् । ‘फागु’ले पनि दर्शकको मन जित्न सकेन ।

 

यसपटक पनि उनको लगानी खेर गयो । अर्की अभिनेत्री रेखा थापाको नाम प्रस्तुतकर्ताका रूपमा उनका पूर्वपति एवं निर्माता छविराज ओझाका हरेक चलचित्रमा आउँथ्यो । हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मन, हिफाजत आदि चलचित्रमा रेखा थापा प्रस्तुतकर्ताका साथै मुख्य अभिनेत्री पनि थिइन्, छवि भने कार्यकारी निर्माता । रेखाले मुख्य भूमिका निर्वाह गरे पनि छविराज ओझासँग उनी पारिश्रमिक लिन्नथिन्, परिश्रमिक चलचित्रमा उनको सेयर हुन्थ्यो । त्यसबाहेक छविले नै उनले गर्ने लगानी छुट्याइदिन्थे । राम्रो त के भने रेखा प्रस्तुतकर्ता एवं अभिनेत्री रहेका हरेक चलचित्रले सफलता प्राप्त गरे र रेखाले लगातार नाफा कमाइन् ।

 

छविराज ओझासँग अलग्गिएपछि रेखाले आफ्नै एकल लगानीमा चलचित्र बनाउन थालेकी छिन्, जसमा आफू प्रस्तुतकर्ता रहे पनि कार्यकारी निर्मातामा उनले आफ्नी आमा सरस्वती थापाको नाम राख्ने गरेकी छिन् । एकल निर्मात्री भएपछि भने रेखालाई खासै फाइदा भएको छैन । रेखाले निर्माण गरेका ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता चलचित्रले चर्चा कमाए पनि त्यति मुनाफा भने कमाउन सकेनन् । अहिले उनी चलचित्र ‘रुद्रप्रिया’को निर्माणमा छिन् ।

 

चलचित्र ‘नोभेम्बर रेन’मा सहअभिनेत्रीको भूमिकाबाट चर्चामा आएकी छुल्ठिम गुरुङले चलचित्र ‘डायरी’ निर्माण गरेकी छिन् । आफूले चाहेजस्तो भूमिका निर्वाह गर्न अरूको चलचित्र पर्खनुभन्दा आफैं लगानी गर्नु ठीक लागेको छुल्ठिमले बताएकी छिन् । भुवन केसीकी पूर्वपत्नी अभिनेत्री सुस्मिता केसी भुवन केसीका सबैजसो चलचित्रमा अभिनेत्री तथा निर्मात्री हुन्थिन् । भुवनबाट अलग भएपछि उनले गत बर्ष चलचित्र ‘म त तिम्रै हुँ’ निर्माण गरिन् । यद्यपि उक्त चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन । अब फेरि उनी चलचित्र निर्माणका साथै निर्देशन पनि गर्ने योजनामा छिन् । यसपटक उनले आफ्ना छोरा अनमोल केसीलाई मुख्य भूमिकामा लिने विचार गरिरहेको बताइन्छ ।

 

यसबाहेक अन्य अभिनेत्रीहरू पनि लगानी गरेर निर्मात्री हुने बाटोमा अघि बढिरहेका छन् । अभिनेत्री केकी अधिकारीको नाम गत वर्ष चलचित्र ‘लभ सासा’को कार्यकारी निर्मातामा आएको थियो । केकीका अनुसार उनले आफ्नो पारिश्रमिक नलिई त्यसलाई चलचित्रको लगानीमा परिवर्तन गरेकी थिइन् । यसैगरी चलचित्र तथा टेलिचलचित्रकी अभिनेत्री सुस्मिता कार्की पनि आफ्नो निर्माण कम्पनीबाट चलचित्र ‘टिफिन बक्स’ निर्माण गर्दैछिन् । अर्कातर्फ निर्मात्रीका रूपमा पहिलो चलचित्र ‘सोल सिस्टर’ असफल भएपछि अभिनेत्री नम्रता श्रेष्ठले दोस्रो प्रयत्न थालेकी छैनन् ।

प्रकाशित :जेष्ठ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्