हाम्रो समाज

- सुविन भट्टराई

जेष्ठ १६, २०७४-  

हामी यस्तो समाजमा बस्छौँ, जहाँ आफ्नो जितको खुसी मनाउने भन्दा अरुको हारको खिल्ली उडाउने बढी फेला पर्छन् । हामी यस्तो समाजमा बस्छौँ, जहाँ मानिसहरू आफ्नो मस्तिष्क तिखार्न र आफ्नै जीवन सपार्न भन्दा अरूको दैनिकी चहार्न र जीवन बिगार्न मेहनत गर्ने बढी भेटिन्छन् । हामी यस्तो समाजमा बस्छौँ, जहाँ मानिसहरू आफ्नो स्वस्थताको मजा नलिई अरू रोगी भएको हेरेरै दंग पर्छन् ।
हामी यस्तो समाजमा बस्छौँ, जहाँ मानिसहरू आफ्नो घरको पर्खाल भत्किएकोमा दु:खी हुन छाडेर छिमेकीको छानोमा परेको प्वाल हेरेर बढी खुसी हुन्छन् ।

 

हामी यस्तो समाजमा बस्छौँ जहाँ ‘जित्नुपर्छ’ भन्ने मानसिकताभन्दा ‘हराउनुपर्छ’भन्ने मानसिकताले ग्रस्त मानिसहरू नै बढी छन् । हामी यस्तो समाजमा बस्छौँ, जहाँ आफैँ छियाछिया भैसकेकाहरू समेत अरूमा लागेको सानो घाउ देखेर खुसी हुन्छन् । मलाई कहिलेकाहीँ लाग्छ, हाम्रो देशको नदीनाला र धेरै मानिसका मस्तिष्क उस्तै हुन् । जो क्षमताको मामिलामा त धेरै अघि छ, तर प्रयोगका मामिलामा धेरै पछि छन् । यहाँ अथाह ऊर्जाले भरिएका मस्तिष्कहरू समेत झिना–मसिना पुर्जाहरूमा अल्झिएका छन्।

 

हामी यस्तो समाजमा बस्छौँ जहाँ सधैँको होड चलिरहेको हुन्छ । हरेक क्रियाकलाप मानौँ कुनै प्रतिस्पर्धा हो । यस्तो लाग्छ, आफ्नो सामान्य जीवनलाई सामान्य ढंगले बाँच्नुभन्दा हामीले यही जीवनलाई कुनै खेल बनाएर आफैँलाई प्रतिस्पर्धामा उभ्याएका छौँ । हाम्रो हरेक चीज, हरेक क्रियाकलाप अरूसित तुलना हुन्छ, जबकि हरेक मानिसको जीवन आफैँमा अतुलनीय छ । त्यस्तो काम या त समाजले गरिदिन्छ या हामी आफैँ गर्छौं । अझै पनि लाग्छ, मानिस स्वतन्त्र भएकै छैन । अझै पनि लाग्छ, मानिसले आफ्नै जीवनमाथि शासन गर्न सकिरहेको छैन ।

 

कसले शरीरमा महँगो कपडा लगायो, कसले कमसल लगायो, विचार गर्न पछि पर्दैनौँ हामी । अनि आफ्नो शरीरमा भएको त्यो कपडा आफ्नो रहँदैन । त्यो फलानोको भन्दा राम्रो र चिलानोको भन्दा नराम्रो कपडा बनिदिन्छ । त्यसको परिचय नै फेरिन्छ । कसले कति कमाएको छ, कति खर्च गरेको छ, गाउँ, सहर, टोलका चियापसलको टेबलमा हिसाब–किताब गरिदिनेहरू प्रशस्तै भेटिन्छन् । को कुन रफ्तारमा कहाँ र कसरी पुग्यो ? हाम्रो मस्तिष्कमा छापिएकै छ र आफूसँग नभएको भन्दा अरूसँग भएकोमा छटपटी हुन्छ हामीलाई ।

 

भर्खरै सकिएको तर भोट गनिइनसकेको स्थानीय चुनावमा पनि मानिसका रंगहरू सर्वत्र यस्तै रूपमा पोखिए । मानिसहरूको वास्तविक परिचय चुनावका बेला पनि देखिँदो रहेछ । मानिसहरूको कित्ताकाट यस्तै बेला भैहाल्दो रहेछ । कित्ता विचार वा सिद्धान्तको मात्र होइन, कित्ता चरित्र, व्यवहार अनि मानसिकताको पनि । अघिपछि सँगै हिँड्ने–मिल्ने साथीहरू चुनाव प्रचारमा पार्टी फरक भएर होला, एक–अर्काको आँखा तरेर हिँडेको भेटिए । नतिजा निस्कने क्रममा स्थिति अझ खराब । जित्नेहरू विजय जुलुस मनाउनतिर जानुभन्दा पहिले हारेकोलाई चिढ्याउने, गिराउने वा होच्याउनेतर्फ बढी लागेको पनि देखियो । के आफू जितेको उत्सव मनाउनभन्दा बढी आफ्नो प्रतिद्वन्द्वी हारेकोमा उसलाई हियाउँदा बढी सन्तुष्टि मिल्छ र ?

 

उदेकलाग्दो कुरा, जितेकाहरू देशका प्रतिनिधि भए कि पार्टीका निजी भए ?जनताको सेवक भए कि पार्टीको गुलाम ? खैर यो कुरा राजनीतिसँग मात्र जोडिँदैन, समाजको सिंगो प्रवृत्तिसँग पनि जोडिन्छ ।
यस्तो बेला अब्दुल कलामको यो भनाइ खुब सम्झना आउँछ, ‘कसैलाई हराउन एकदम सजिलो छ तर कसैलाई जित्न सबैभन्दा कठिन छ ।’ अर्थात् ‘इट इज भेरी इजी टु डिफिट समवान बट इट इज भेरी हार्ड टु विन समवान ।’

 

जित र हार, सफलता र असफलताको त के कुरा भयो र ? यहाँ मानिसको हातका रेखा नै पनि उसको हत्केलामा सधैँभरि रहँदैन भनिन्छ, जित सधैँ एउटैको हत्केलामा त झन् के अडिरहला ? जो हारे पनि, जो जिते पनि अरूको मन त स्वस्थ मन भएकाहरूले नै जित्छन् र अरूको मन जित्नेहरू कहिल्यै हार्दैनन् ।

प्रकाशित :जेष्ठ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्