राष्ट्रिय चलचित्र एवार्डको मनोनयन

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७४

 

अघिल्लो वर्षको कीर्तिमानी चलचित्र ‘छक्कापञ्जा’ ले एनएफडिसी राष्ट्रिय चलचित्र एवार्डको मनोनयनमा समेत कीर्तिमान राखेको छ । काठमाडौंमा घोषणा गरिएको एवार्डको मनोनयन सूचीमा यो चलचित्र सर्वाधिक १८ विधामा मनोनीत भएको छ । यो चलचित्रबाट निर्देशक (दीपाश्री निरौला), अभिनेता (दीपकराज गिरी), छायाँकार (पुरुषोत्तम प्रधान), लेखन (दीपकराज गिरी), सम्पादन (विपिन मल्ल), सह–अभिनेता (जितु नेपाल/शिवहरि पौडेल), सह–अभिनेत्री (नम्रता सापकोटा), संगीत (राजनराज शिवाकोटी), गायन (राजनराज शिवाकोटी तथा अञ्जु पन्त) सहित एवार्डका २१ मध्ये १८ विधामा मनोनयनमा परेका छन् ।

 

अघिल्लो वर्षको अर्को सफल चलचित्र ‘जात्रा’ दोस्रो सर्वाधिक मनोनीत हुने चलचित्र बनेको छ । प्रदीप भट्टराईद्वारा निर्देशित यो चलचित्र एघार विधामा मनोनीत छ । यो चलचित्र दर्शकसँगै समीक्षकहरूको समेत मन जित्न सफल भएको थियो । व्यवसायिक रूपमा औसत प्रदर्शन गर्ने चलचित्र ‘पुरानो डुंगा’ दस विधामा मनोनीत भएको छ भने चलचित्र ‘लुट–२’ नौ विधामा मनोनीत छ ।

 

चार वर्षअघिदेखि वितरण गर्न थालिएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा यो वर्ष २१ विधामा विभिन्न चलचित्र तथा चलचित्रकर्मीहरू पुरस्कृत हुनेछन् । नेपाल चलचित्र विकास कम्पनीका अध्यक्ष उज्ज्वल पौडेलका अनुसार तीमध्ये १८ विधा प्रतिस्पर्धात्मक हुनेछन् भने बाँकी ३ विधा अप्रतियोगी रहनेछन् ।

 

एवार्डको सर्वोत्कृष्ट चलचित्रको विधामा छक्कापञ्जा, जात्रा, पुरानो डुंगा, लुट–२ तथा गाजलुबीच प्रतिस्पर्धा हुनेछ । सर्वोत्कृष्ट निर्देशनको विधामा यीनै पाँच चलचित्रका निर्देशकहरू क्रमश: दीपाश्री निरौला, प्रदीप भट्टराई, रामबाबु गुरुङ, निश्चल बस्नेत तथा हेमराज बिसीबीच प्रतिस्पर्धा छ ।

सर्वोत्कृष्ट अभिनेताको विधामा आर्यन सिग्देल (होमवर्क), सौगात मल्ल (लुकामारी), दयाहाङ राई (लुट–२), दीपकराज गिरी (छक्कापञ्जा) तथा विपिन कार्की (जात्रा) बीच प्रतिस्पर्धा हुँदैछ ।

सर्वोत्कृष्ट अभिनेत्रीतर्फ प्रियंका कार्की (छक्का पञ्जा), वर्षा राउत (जात्रा), शिल्पा पोखरेल (किस्मत–२), सृजना सुब्बा (डाइङ क्यान्डल) तथा ऋचा शर्मा (बाटो मुनिको फूल–२’ मनोनीत छन् ।

प्रकाशित :जेष्ठ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्