पहिलो पटक मतदान गर्नेहरु

- नरेन्द्र रौले

जेष्ठ १३, २०७४

 

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बित्तिकै धेरैले त्यसमा विश्वास गरेनन् । कतिले क्यालेन्डर हेर्दै वैशाख ३१ गते खोज्न थाले । मिति नजिकिँदै जाँदा पनि एक प्रकारको अन्यौल कायमै थियो । अन्तत: अनेक शंका–आशंकाबीच स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएरै छाड्यो । राजधानीका केही मतदान केन्द्रमा पुगेर हामीले यसपाली पहिलोपटक मतदान गरिरहेका युवाहरूसँग उनीहरूका धारणा सुन्ने प्रयास गर्‍यौं । युवाहरू कस्तो मेयर चाहन्छन् ? उनीहरूका आकांक्षा–अपेक्षा के–कस्ता छन् ?

 

‘युवाहरूले नै नेतृत्व गरेको राम्रो’ डिल्लीबजारस्थित विजय स्मारक स्कुलको मतदान केन्द्रमा भेटिएकी काठमाडौंकी निकिमा शाही (२२ वर्ष) ले भनिन्— काठमाडौं हराभरा होस् । धूलो, धूवाँ नहोस् । यसपालि उनले मिश्रित रूपमा केही नयाँ र केही पुराना दलका उम्मेदवारलाई मत दिइन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा स्नातक तहमा अध्ययनरत शाही राजनीतिमा खासै रुचि राख्दिनन् । यद्यपि उनलाई आफ्नो मतको सदुपयोग भैदिए हुन्थ्यो जस्तो लाग्छ ।

 

मैतीदेवीका २९ वर्षीय आभास थापाले पनि केही नयाँ र केही पुराना दलका उम्मेदवारलाई मत दिए । पुरानासँग अनुभव हुन्छ, युवाहरूसँग जोस, थापाले भने— राज्यलाई दुवै खालका व्यक्तिको आवश्यकता हुन्छ । आपसी समझदारी हुनुपर्छ । कसलाई भोट दिने ? उनले कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘टफ टक’ कार्यक्रममा सबै पार्टीका उम्मेदवारको विचार सुनेपछि नै निर्णय गरिसकेका थिए । उक्त कार्यक्रम हेरेपछि म स्पष्ट भएँ । उनले भने, कतिपय कुरामा रिस्क पनि लिनुपर्छ । कुनै एउटा दललाई मात्र पूरै विश्वास गर्न सकिँदैन ।

 

थापाले अहिलेसम्म कुनै राजनैतिक दलको सदस्यता लिएका छैनन् । कलेज पढ्दा भने स्वतन्त्र उम्मेदवारहरूलाई मत दिएका थिए । यसपालि उनले हाम्रा होइन, राम्रा उम्मेदवारलाई मत दिए । मेयरका उम्मेदवारहरूले अब नयाँ ठाउँ बनाउनुपर्छ, विकासमै जोड दिनुपर्छ भन्ने उनको मान्यता छ । काठमाडौंबाट सञ्चालन हुने नेपालको राजनीतिमा हाबी केन्द्रीकृत शासन घटोस् भन्ने उनको चाहना छ । काठमाडौंमा जनसंख्याको चाप छ थापा भन्छन्— त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सबै राजनैतिक दल, जनसंख्याविद् तथा विकास अभियन्ताहरूले कुनै निकास निकाल्न अब थप ढिलाई गर्नु हुँदैन ।

 

राजनीतिमा झुकाव राख्ने युवा हुन्, काठमाडौंका रमन श्रेष्ठ (३० वर्ष) । सही मान्छे छान्ने सही समय हो यो । मतदान गरेर फर्किएपछि उनी भन्दै थिए, यस्तो अवसर सधैं आउँदैन । नयाँ उम्मेदवारहरूलाई मत दिएका श्रेष्ठ युवाहरूले चान्स पाउनुपर्छ भन्ने पक्षमा छन् । शंकरदेव क्याम्पसबाट २०७० मा बीबीएस तहको अध्ययन पूरा गरेका श्रेष्ठ पहिल्यैदेखि राजनीतिमा चासो राख्थे । अप्ठ्यारोमा परेकाहरूलाई सहयोग पनि गर्थे । यसपालि उनले आफ्नो मत युवाहरूलाई दिए । नयाँ नेतृत्वले जितेर केही परिवर्तन गरोस् भन्ने उनको धारणा छ ।

 

धेरैजसो युवा राजनीतिप्रति चासो राख्दैनन्, तर त्रिचन्द्र क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण अन्जिता खड्गी भने राजनीतिमा चासो राख्नैपर्छ भन्ने तर्क गर्छिन् । खड्गीका अनुसार राजनीति खराब वा फोहोरी खेल होइन । व्यवहारिक रूपमा चल्न राजनीतिको ज्ञान हुनैपर्छ । यसपालि उनले नयाँ उम्मेदवारलाई भोट हालिन् । स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकी खड्गीले नयाँलाई अवसर दिनुपर्ने बताइन् । स्थानीय समस्या बुझेको उम्मेदवार हुनुपर्‍यो । खड्गीले भनिन्, त्यस्तो व्यक्तिसँग मात्र केही गर्ने योजना हुन्छ । पुराना दलहरूप्रति उनको विश्वास छैन । तिनले आफ्ना वाचा, पूरा गर्दैनन् भन्नेमा उनी ढुक्कजस्तै देखिइन् । त्यसैले उनी यो निर्वाचनमा दल होइन, व्यक्ति रोजौं भन्ने मान्यताका साथ अघि बढिन् ।

स्थानीय समस्या बुझेका, केही गर्ने खालका उम्मेदवारलाई जिताउनुपर्नेमा उनले जोड दिइन् । अब विजेता बनेर आउने मेयरले काठमाडौंलाई सफा–सुग्घर राख्नुपर्नेमा खड्गीले जोड दिइन् । बढ्दो बेरोजगारी तथा युवा पलायन पनि रोक्नुपर्छ । उनले भनिन्— यहाँ जनघनत्व बढी छ, त्यसैले अब उपत्यकाबाहिरको विकासमा पनि जोड दिनुपर्छ । मन्जिता खड्गी (२९ वर्ष) ले निर्वाचन जित्नेहरूले मतदाताहरूप्रति सधैं बेवास्ता गर्दै आएको गुनासो गरिन् । हामीले अल्छी नमानी भोट दियौं । उनले प्रतिप्रश्न गरिन्, तर खै अहिलेसम्म देशमा के भयो ? प्रत्येक नेताले आफू र आफ्नो समूहको फाइदाका लागि मात्र काम गर्दै आएको उनको टिप्पणी थियो ।

 

पहिलो पटक भोट हालेकी न्यू प्लाजाकी सप्तिका नापित (२५ वर्ष) ले मतदानको प्रक्रियालाई रमाइलो अनुभूतिका रूपमा लिइन् । उनले पुराना दलका नेताहरू नै छानिन् । पुरानामा अनुभव बढी हुने उनको तर्क छ । उहाँहरू घर–दैलोमा आउनुभयो । उनले भनिन्, यदि नयाँ दलका उम्मेदवारहरू घर–दैलोमा आएको भए विश्वस्त हुने वातावरण बन्थ्यो होला । नयाँ दलहरूमा खासै नयाँ भिजन तथा योजना नभएको तर्क पनि उनले गरिन् । पुराना दलको आलोचना गरेर मात्र हुँदैन, मुलुकको राजनीतिलाई अहिलेको अधिकार सम्पन्न अवस्थासम्म ल्याइपुर्‍याउन पुराना राजनैतिक दलहरूको ठूलो योगदान छ । त्यो योगदानको कदर गर्नैपर्छ ।

 

ललितपुर वडा नम्बर–१८ की डा. तोसिमा कार्की (२७ वर्ष) ले नयाँ राजनैतिक दलका उम्मेदवारलाई मत दिइन् । साढे २ किलोमिटर हिंडेर मतदान गर्न गएकी डा. कार्कीमा ठूलो उत्साह–उमंग देखिन्थ्यो । आफ्नो अधिकार उपयोग गरें भन्न लाग्यो । डा. कार्कीले भनिन्— एकदमै खुसी लाग्यो । उनलाई आफूले सही ठाउँमा छाप लगाएजस्तो लागेको छ । मत परिणाम घोषणा भएपछि पनि उनी चुप लाग्ने छैनन्, बरु जित्ने उम्मेदवारलाई निरन्तर खबरदारी गरिरहने छिन् । मतदानका लागि लामबद्ध मानिसको भीडमा अपांग तथा वृद्ध–वृद्धाहरू पनि थिए । डा. कार्कीले उनीहरूबीचको संवादमा भविष्यप्रति आशा, उत्साह र उमंग देखिन् । धेरै मतदाताले युवा नेतृत्व छनौटका लागि मतदान गरेको आफ्नो अनुमान रहेको डा. कार्कीले बताइन् ।

 

पुराना दलले काम गरेनन् भन्ने आलोचना धेरै सुनिन्छ, तर डा. कार्कीको विचारमा यसरी आलोचना गरेर मात्र हुँदैन । पुरानाले काम गर्ने वातावरण नपाएका पनि हुन सक्छन् । त्यसैले पुराना नेताहरूको क्षमता र विचारलाई नकार्न सकिँदैन भने नयाँमाथि पूरै भर पर्न पनि सकिँदैन । नयाँ व्यक्तिलाई हौसला दिनुपर्ने, विश्वास गर्नुपर्ने हुन्छ, तर त्यसो भन्दैमा पुरानालाई अविश्वासै गरिहाल्नुपर्ने स्थिति छैन । राजनैतिक दलका घोषणापत्र पढ्दा त्यही दललाई भोट दिउँm–दिउँm लाग्छ । डा. कार्की भन्छिन्— घोषणापत्र बनाउनुअघि स्थानीयबासीहरूसँग छलफल गरिनुपथ्र्यो । यदि बुझेर, सर्वेक्षण गरेर घोषणापत्र बनाउने हो भने उम्मेदवारहरूलाई जनताको मन जित्न सजिलो हुने थियो ।

 

आमजनतासम्म मतदाता शिक्षा अझै नपुगेको गुनासो गर्दै डा. कार्कीले भनिन्— घरदैलो गरेर मतदान कसरी गर्ने भन्ने कुरा बुझाउन सक्नुपथ्र्यो । जता पनि काठमाडौं महानगरपालिकाको मात्र चर्चा भयो तर देशभरि नै आमजनतालाई चुनावको महत्व बुझाउन नसकिएको उनको टिप्पणी थियो ।

डा. कार्कीका अनुसार युवाहरू हरेक क्षेत्रमा अघि बढ्न सक्छन् । अवसर पाए भने देश हाँक्छन् । त्यसैले युवाहरू राजनीतिमा आउनुपर्छ तर त्यसका लागि राजनैतिक दलहरूले नै युवाहरूलाई उत्प्रेरित गर्न सकेका छैनन् । युवाहरू राजनीतिलाई फोहोरी खेल भनेर पन्छिन्छन् । कतिले नाक खुम्च्याउँछन्, तर युवाहरूलाई राजनीति बुझाउनुपर्छ भन्ने कुरालाई राजनैतिक दलहरूले अभियानकै रूपमा अघि बढाउनुपर्छ । आफ्ना हक, अधिकार, काम, कर्तव्य एवं दायित्वका सम्बन्धमा सबैले जानकारी राख्नै पर्छ ।

 

धेरै युवाहरू नाक खुम्च्याउँदै भन्छन्— म राजनीति गर्दिनँ । राजनीतिप्रति युवाहरूमा यस्तो वितृष्णा किन देखिएको छ ? डा. कार्कीको विचारमा यो विचारणीय विषय हो । उनको विचारमा यसका पछाडि भ्रष्टाचार बढ्नु र सुशासन कायम नहुनु प्रमुख रूपमा जिम्मेवार छ । अर्को कुरा घर–परिवार र समाजले उत्प्रेरित नगर्नु पनि हो । राजनीतिमा लाग्नेहरूलाई सकारात्मक नजरले हेर्नुपर्ने कुरामा उनले जोड दिइन् । युवाहरूले देशमा परिवर्तन ल्याउन सक्छन् । पुरानाहरूले त्यसमा अनुभव र ऊर्जा थप्न सक्छन् डा. कार्कीले भनिन— युवाहरूले चाहे भने परिवर्तन सम्भव छ ।

प्रकाशित :जेष्ठ १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्