मत जितेर मात्र हुँदैन, मन जित्नुपर्छ

- मनोज गजुरेल

जेष्ठ १२, २०७४-  

मत परिणाम आउने क्रम जारी छ । धेरै मत पाउनेहरू दंग छन् । थोरै मत पाउनेहरू फुङ्ग छन् । जित्नेहरू खुसी देखिन्छन् भने हार्नेहरू दु:खी भेटिन्छन् । यद्यपि प्राप्त मतलाई नै खुसी र दु:खको आधार नमान्न विजेता तथा हारेकाहरूसँग गजुरियल अनुरोध छ ।

 

धेरै मत पाउनेहरूले बुझ्नुपर्छ, तपाईंले पाएको मत सधैंभरि तपाईंको रहनेछैन, किनभने त्यो हिजो अरूकै थियो । आज तपाईंको पोल्टामा परेको छ । भोलि अरू कसैको हुनसक्छ । यी मतादाता भनेका पर्यटकजस्ता हुन् । कैले क्रान्तिपार्टीको यात्रा गर्छन् । कैले शान्तिक्षेत्रको टुर गर्छन् । कैले प्रतिगमनलाई प्रेम गर्छन् । कैले अग्रगमनको सर्मथन गर्छन् ।

 

थोरै मत पाउनेहरूले मनन गर्नुपर्छ, यही नै जनताको अन्तिम निर्णय होइन । समयक्रममा जनताले आफ्नो निर्णय उल्ट्याउन सक्छन्, त्यसका लागि मात्र तपाईंको सकारात्मक सक्रियता आवश्यक छ । चुनावअघिको वाचा पूरा गर्ने पूरापूर प्रयास गर्नुपर्छ, चाहे कुनै क्षेत्रका जनताले तपाईंलाई भोट नदिएकै किन नहुन् ।

 

जनताको मत प्राप्त गर्न सबैभन्दा पहिले उनीहरूको मन जित्नुपर्छ । मन जित्न सबैभन्दा पहिले आफैंलाई जित्नुपर्ने हुन्छ । आफूलाई जित्नुको अर्थ लोभ, मोह, घमन्ड र ईष्र्यालाई जित्नु हो । स्वार्थबाट टाढै बस्नु र भ्रष्टाचारबाट सुरक्षित रहनु आफूले आफैंलाई जित्नु हो, जुन राजनैतिक पार्टीले आफ्ना सबै नेतालाई आफूलाई जित्ने कला सिकाउँछ, अर्को पटक उसले जनताको मन पनि जित्छ, मत पनि जित्छ ।

 

यसको अर्थ अहिले जनताको मत पाउने सबैले जनताको मनसमेत जितेका थिए भन्ने होइन । अलिअलि विश्वास जितेकाले मत पाए होला । थोरै गुलिया भाषण गरेकाले मत पाए होला । केही आश्वासनले पनि काम गर्‍यो होला । कतै–कतै मन छुने प्रचार सामग्रीले पनि प्रभाव पार्‍यो होला, तर जनताको मन र मत दुवै नजिती प्राप्त गरेको मत अस्थायी मात्र हो भन्ने गजुरियल ठम्याइ छ ।
मत जित्न सजिलो छ तर मन जित्न ज्यादै अप्ठेरो हुन्छ । लोभ देखाएर मत जित्न सकिन्छ । आश्वासन दिएर मत जित्न सकिन्छ । आशले मत जितिन्छ, त्रासले मत जितिन्छ, तर मन नजिती जितेको मत जुनसुकै बेला अल्पमतमा पर्न सक्छ । त्यसैले मत पाउनुलाई मात्र सफलता मान्ने होइन, मन पनि प्राप्त गर्ने प्रयास गर्नुपर्ने गजुरियल ठम्याइ छ ।

 

मत पाउने तरिका सरल छ र मन जित्नु निकै अप्ठेरो कुरा हो । धेरै तरिकाले मत लिन सकिन्छ तर मन जित्ने उपाय ज्यादै थोरै छन् । मतदानबाट मत जान्न सकिन्छ । मत जाहेरीबाट बुझ्न सकिन्छ । मत मिलाएर ल्याउन सकिन्छ । मतगणना गरेर जान्न सकिन्छ । मतभिन्नताबाट पनि थाहा हुन्छ यो कुरा । तर मन ? मन भने जितेर मात्र आफ्नो बनाउन सकिन्छ । मन जित्ने तरिका एउटै छ र त्यो हो— इमानदारिता । बोलीमा इमानरिता । व्यवहारमा इमाजदारिता । काममा इमानदारिता ।

 

कार्यशैलीमा इमानदारिता । हिसाब–किताबमा इमानदारिता । वचन र व्यवहारमा एकरूपता । जनतालाई मालिक मान्ने व्यवहारिकता नै मतदाताको मन जित्ने उत्तम उपाय हो । जसरी मत गोप्य हुन्छ त्यसैगरी मन त्योभन्दा गोप्य हुन्छ । मन त्यसलाई मात्र दिइन्छ जसले मन जित्छ । मन जित्नलाई आश्वासन होइन समपर्ण चाहिन्छ । सपना होइन, यथार्थता चाहिन्छ । लोभ होइन त्याग चाहिन्छ । मूल कुरा, मन त्यसैको जितिन्छ जसको मनको भाषा बुझ्न सकिन्छ ।
स्थायी मतदाता उसले मात्र सुरक्षित गर्न सक्छ जसले मतदाताको मन जित्छ भन्ने गजुरियल ठम्याइ छ ।

प्रकाशित :जेष्ठ १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्