बालापन

- सुविन भट्टराई

जेष्ठ ९, २०७४-  

टोलका केटाकेटीले खेलिरहेको फुटबल गुड्दै–गुड्दै जब मेरो खुट्टासम्म आइपुग्छ, मन लाग्छ, जोरले हानेर त्यो बललाई हावामा उडाइदिऊँ । भृकुटीमण्डपको आसपास मात्र पुग्दा, माथि हावामा मच्चिरहेको रोटेपिङ र चिच्याइरहेका केटाकेटी देख्दा यस्तो लाग्छ, सारा काम बिर्सेर फनपार्कमा पसी रोटेपिङ मात्र होइन, सबै खेल खेलिदिऊँ । केटाकेटीले हेर्ने टम एन्ड जेरी मलाई पनि हेर्न मन लाग्छ । मन लाग्छ, दिनभरि कामबाट बिदा लिएर भ्याएजतिको सबै इपिसोड हेरिदिऊँ ।

 

बडाबुज्रुक साथीहरू उभिरहेकै बेला यस्तो लाग्छ, पछाडिबाट उसको टाउकोमा प्याट्ट पिटेर लुकिदिउँm ।
कसैको घरमा नयाँ, लचकदार, प्लास्टिक पनि नउक्किएको सोफा देख्दा लाग्छ, पाँच–सात मिनेटसम्म बुरुक्क–बुरुक्क त्यहीँ उफ्रिदिऊँ । कापीको बीचको नलेखिएको पन्ना च्यातेर, कागचको प्लेन बनाऊँ र हावामा सुइँय उडाइदिउँm । मन त भन्छु— लुँडो खेलूँ, कमिक्स पढूँ, बर्खामा पानी जमेका ठाउँमा भिज्दै, उफ्रिँदै हिँडू, कलर पेन्सिलले ड्रइङ गरूँ ।

 

हिँड्दा–हिँड्दै, टोलको चोकमा भएको भिडियो गेम पार्लरमा पसेर त्यहाँ खेलिरहेका केटाकेटीहरूसँगै दुई–तीन घण्टा लगातार भिडियो गेम खेलिदिऊँ । कहिले लाग्छ, ब्रेकफास्टमा टोस्ट, अन्डा र कफी होइन, चोकोपाइ वा चोकोज र दूध खाइदिऊँ । क्रिम भएको बिस्कुटबाट क्रिम जति चाटेर पहिल्यै सिध्याऊँ अनि पछि बिस्कुट मात्र खाऊँ । कहिले लाग्छ, बाबासँग यस्सै चाहिने–नचाहिने कुराका लागि जिद्दी गरूँ ।    

 

कहिले लाग्छ, जवानीका सारा दु:ख बिसाउन आमाको आँचलमा गएर ग्वाँ–ग्वाँ रोइदिऊँ ।
कुनै दिन लाग्छ, दाइसित ‘आमाले तँलाईभन्दा बढी माया मलाई गर्नुहुन्छ,’ भनेर यस्सै निहुँ खोजिदिऊँ । रुँदारुँदै हाँसू कहिले, कहिले हाँस्दाहाँस्दै रोऊँ । केही बचपना आफैँलाई पनि पत्तो नदिई सकिएर गए । केही बचपना त छन् जो मनमा डुम खेल्दाझैँ लुकेर बसेका छन् र केही बचपना उमेरको
बन्धन फुकाएर व्यवहारमै लागिपरेका छन् ।

 

पुस्तकमा खुट्टाले छ्वास्स छोइँदा, पापलाग्छ भन्ने डर मानी अझै पनि उक्त पुस्तकलाई उठाएर निधारमा लगाउन मन लाग्छ । झुक्किएर छोइए आफ्नै घाँटी, मुखबाट तीनचोटि ‘फु–फु–फु’ आफैँ निस्किन्छ । यता भगवान्को मन्दिर जहाँ देखे पनि ढोग्ने नर्सरी पढ्दादेखिको बानी अझै पनि रातो ढुंगा भेट्दा हातले छाती र निधारलाई तीनचोटि छुन्छ । उता बात–बातमा ‘विद्या कसम,’ ‘भगवान् कसम,’
‘माँ कसम’ पनि अझै निस्किरहेकै छ ।

 

घरमा नयाँ फ्रिज वा टिभी भित्रिँदा त्यो पिटिक्क–पिटिक्क पड्काउने प्लास्टिक पड्काउन अझै मजा लाग्छ । चियामा बिस्कुट चोबेर खानुको मजा अझै पनि उस्तै छ अनि चियामा झरेको बिस्कुट चम्चाले निकालेर खानुको मज्जा पुरानो कहाँ भएको छ र ?  शनिबार आयो कि मख्ख पर्ने बालमस्तिष्क वयष्क हुँदाचाहिँ परिवर्तन हुन्छ र ? कसैले ‘ह्याप्पी बर्थ डे,’ भनिदिए अझै पनि त खुसी लाग्छ । याद गर्नैपर्नेले बर्थ डेको मिति बिर्सिदिँदा चित्त अझै दुख्ने गरेको छ ।

 

पकाउने बेलाको चाउचाउबाट एकमुठ्ठी काँचै चाउचाउ अगाडि नै निकालेर खानुको मज्जा पनि त दुरुस्तै छ । अझै पनि आकाशमा प्लेन उडेको आवाज सुन्दा उँभो मुन्टो लगाएर हेर्ने बानी हटेको छैन ।
समय फेरिन्छ । उमेर फेरिन्छ । केही रहर उमेरको अंकुसमा निरंकुश दबिन्छन् । केही रहर समय, परिस्थितिअनुसार बदलिन्छन् । उमेर जतिसुकै बाधक होस्, केही रहर तिनको सीमा नाघेर पनि तन्किन्छन् । उमेर त अंक मात्र हो । जिउने अंकमा होइन, रंगमा हो । जुन दिन मानिसभित्रको बालापन सिद्धिन्छ ऊ बूढो हुने मात्र होइन, मरेसमान हुन्छ ।

प्रकाशित :जेष्ठ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्