चलचित्र पत्रकारिता दिवसमा सम्मान र पुरस्कार

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७४-  

चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १८ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस मनाएको छ । 

राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा वार्षिकोत्सवको अवसर पारेर चार चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

यस बर्ष चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट वरिष्ठ पत्रकार डा. नवराज लम्साललाई सम्मानित गरिएको छ । लम्सालले दुई दशक लामो चलचित्र तथा कला पत्रकारिता मार्फत यस क्षेत्रको विकास र सम्वृद्धीको लागी तथा संघको नाम उच्च बनाउन गरेका  योगदानको कदर गर्दै ट्रफी र ताम्रपत्र सहित सम्मान प्रदान गरियो । देश बाहिर भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेका लम्सालको सम्मान पत्नि संगीता लम्सालले थापेकी थिईन् ।

यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार द्वय पारस पौडेल र विजय सुवेदी आवाजलाई पुरस्कृत गरिएको छ । पौडेल र सुवेदी दुबै एक दशक लामो समयदेखि चलचित्र पत्रकारितामा संलग्न छन् । पछिल्लो समय पौडेल सगरमाथा टेलिभिजन अनि सुवेदी अनलाईनखबर डटकममा कार्यरत छन् । पत्रकारद्वयलाई नगद २१ हजारसंगै ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

यस्तै चलचित्र पत्रकार संघको १८ बर्षे ईतिहासमा पहिलो पटक संघले यस वर्षबाट नव प्रवेशी उर्जावान अनि संभावनावान पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गर्न सुरु गरेको छ । संघको तर्फबाट प्रदान गर्न सुरु गरिएको प्रोत्साहन पुरस्कार पहिलो पटक पहिलो पोस्ट डटकममा कार्यरत स्वेच्छा राउतले पाएकी छिन् । स्वेच्छालाई प्रोत्साहन पुरस्कार स्वरुप ल्यापटपको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

सम्मानित तथा पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथीद्वय कलाकार हरिवंश आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टसंगै सभापति सन्दिप सापकोटाले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र विकास वोर्ड सदस्य अशोक प्यासी राई, संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरी, प्रमुख अतिथीद्वय आचार्य र विष्टले कार्यक्रममा मन्तव्य राख्दै शुभकामनाको साथमा संघले गरेका पछिल्ला गतिविधीहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा संघको स्थापनाको १८ औं वसन्त पार गरेको अवसरमा ‘वार्षिकोत्सव केक’ पनि काटिएको थियो भने लामो समयदेखि घाँटीमा समस्या आई स्वर गुमाउँदै गएका कलाकार दिपक क्षेत्रीको उपचारको लागी संघको तर्फबाट थालनी गरिएको सहयोग अभियानबाट संकलित ७ लाख ३ हजार ३ सय ५७ रुपैयाँ पनि क्षेत्रीलाई प्रदान गरिएको छ । 

प्रकाशित :जेष्ठ ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्