बिर्सिएको गुलाफ

- नवीन प्यासी

जेष्ठ ४, २०७४

 

अचानक देब्रे हातमा करेन्ट दगुर्‍यो । मुटुले आफ्नो गति आफंै बिर्सिएछ । म थरक्क भएँ । मनलाई हरियो चौरमा बिछ्याएर लत्रक–लत्रक हिँडिरहेको थिएँ । खै कहाँ थिएँ कहाँ जस्तो लाग्ने बिर्सिसकेको पुरानो ठाउँ । साँझले आफ्नो बैंस प्रदर्शन गरिरहेको थियो । म चैं आफ्नै कवाडी बैंसको रमिता हेरिरहेको थिएँ ।

 

मानिसहरूको धमिलो आकृति चलायमान समय । म उमेरलाई वर्ष, वर्षलाई महिना र महिनालाई दिनमा रूपान्तरण गरेर छुटेका कुरा सम्झन खोजिरहेथेँ । छेउछाउमा बालापन, गुलेली, चराको बचेरा, गुच्छाको लस्कर, शिक्षकको लाठी र हातमा बसेको नीलडाम, काँक्राको झ्याङ अनि धमिनी आमाको कराइ, सबका सब मलाई घेरिरहेका थिए । जीवनमा केही न केहीले त साथ दिइरहँदो रै’छ । जस्तै : थपिएको छ आज मजस्तै धुम्म आकाश ! तारा, चन्द्रमा जुवामा जुवाडेले हारेको सम्पत्तिजस्ता भएका।

 

मनलाई सम्हालें र यथार्थमा फर्कन खोजेँ । यसो टाउको फर्काएँ देब्रेतिर । छेउमा दुई जोडी खुट्टा मसँगै बाटो खोजिरहेका थिए । तलदेखि माथि हेर्दै गएँ । उहि चिरपरिचित आकृति— आनी ! जसको छायाँ भए पुग्थ्यो मलाई पहिचान गर्न । उनी तीन वर्षअघि विदेश हुत्तिएकी । अहिलेसम्म बेखबर । अचानक यसरी भेटिँदा खुसीहरू यसरी जुलुसमा उत्रिए कि थाहै भएन, आँखाको डिलबाट आँसुका ढिका गाला ओरालो यात्रामा निस्किसकेछन् । उसले था’ नपाउने तरिकाले दाहिने पाखुराले सोहोरेँ । मलाई रिस जो देखाउनु थियो ।

 

जीवनमा पहिलो पटक दिमाग शून्य भैदियो । शब्दहरू अँध्यारोमा बिलाएछन् । घरीघरी उनलाई हेर्थें मात्र । उनको आकृति पनि देब्रे पाखुरा घरीघरी आँखातिर घिसारिरहेका थिए । कपडाजस्तो बाटोमा पैतालाहरूको सियो चलिरहेको थियो, सर्‍याक–सर्‍याक । कहाँ पुग्नलाई हिँडिरहेछ खुट्टा, कुनै पत्तो छैन । अघिसम्म स्वशासित खुट्टा अहिले भर्खर शासित भैसकेछ । ट्याक्सीको झ्यालमा बजेको टक्टक् संगीतले झसंग भएँ । गौशाला चोक आइपुगिएछ । देब्रेतिर हेरेँ । ट्याक्सीको अँध्यारो च्यातिरहेको लाइटमा उनको अनुहारले अनुहार नै दाबी गरिरहेकोथ्यो तर गम्भीर तलाउमा प्रकाशहरू परेझैँ टिलपिल–टिलपिल !

 

नाथे शब्दहरू पनि कस्तो महँगा ! शब्दहरू घाँटीसम्म आउँथ्यो र फेरि फर्केर जान्थे । सायद बालापन आउँथे त चिच्याई–चिच्याई रुन्थे हुँला । ट्याक्सीभित्र पस्यौँ । खल्ती छामेँ । चुरोट निकालेँ र सल्काएँ । जब मेरो ओठमा पथ्र्याे फिल्टर चुरोट मुस्काउँथ्यो, जब छुट्थ्यो धूवाँ फाल्दै रुन्थ्यो । साथ त कसै न कसैले दिइरहँदो नै रै’छ । जस्तै : म र चुरोट । उसले मेरो काखमा ब्याग राखी र काँधमा टाउको ढल्काई । म चुपचाप मूर्तिवत् थिएँ । आँखा बाढी आएको नदीजस्तो चकमन्न । मैले पनि अहिलेचाहिँ बग्न दिएँ । सायद आँसुलाई पनि केही बगाउँदै–बगाउँदै कतै पुग्नु थियो ।

 

मेरो देब्रे काँध ओरालो पनि आँसुले बाटो खोजिरहेको थियो । कस्तो अनौठो आनन्द ! कुनै–कुनै पल आँसुको स्पर्श पनि कति मीठो ! घ्याच्याक्क... !!  ड्राइभरले ब्रेक लाएछन् । हुत्तिएर अगाडिको सिटमा ठोक्किएँ । जोरपाटी रुमअगाडि रै’छम् । ट्याक्सीबाट ओर्लियौँ । भाडा तिरी । मेरो हात समाइरहेकै थिई । यसरी समाएकी थिई कि जसरी दुई नदी एक–अर्कामा पूर्ण समाहित हुन्छन् दोभानमा । गेटभित्र छिर्‍यौं । दाहिने हातले नै रुमको चाबी खोलेँ । कोठामा चुक घोप्टिएको थियो । कही थिएन, खाली ।

अचानक उसले मेरो हातमा ठीक पाँच वर्षअघि मैले नै दिएको सुकेको गुलाफ राखिदिई र छातीमा देब्रे मुड्कीले हिर्काई, ढ्याक्क !!!

प्रकाशित :जेष्ठ ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्